मुख्य समाचार

गौतमबुद्ध विमानस्थलको निर्माण एक बर्षभित्र पूरा हुने
Construction of the Gautam Buddha airport will be completed within one year

लुम्बिनी – पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकोमा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ।

अब चिनिया कम्पनी आफैंले पर्याप्त जनशक्ति थपेर कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माण समयमै सम्पन्न हुनेमा आशा पलाएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. सुशील कोइरालाले शिलान्यास गर्नुभएको थियो।

तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भएपनि विभिन्न अवरोधका कारण अहिलेसम्म समग्रमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले जानकारी दिए।

उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यले अहिले सन्तोषजनक रुपमा गति लिएका कारण आगामी एक बर्षभित्र आयोजनाको सम्पूर्ण काम सकिने दावी गरे । उहाँले भने ‘निर्माणाधीन विमानस्थलभित्रको सबैजसो अप्ठेरा कामहरु सकिएको छ । त्यसैले अबको एक वर्ष्भित्र विमानस्थलको काम सकिनेमा सबै ढुक्क हुन सकिन्छ।’

उनका अनुसार निर्माण कार्यअन्र्तगत अहिलेसम्म प्रशासनिक भवन, इलेक्ट्रिक सवस्टेशन, सुरक्षा भवनको ‘फिनिसिङ’ बाहेकको निर्माण कार्य सकिएको छ भने अन्तराष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको काम लगभग सकिनै लागेको छ । अहिले ३ किलोमिटर लम्बाइ रहेको धावन मार्गको निर्माण कार्यअन्तर्गत सव बेस लेयर हाल्ने काम शुरु भएको छ । धावन मार्गको ३५ प्रतिशतभन्दा बढी काम सकिएको छ भने माटो फिलिङसहित दुई फुट बाक्लो प्रि–सव बेसको काम सम्पन्न भएको छ।

अब वेस र पीचको काम मात्रै बाँकी रहेको छ । त्यसैगरी, अग्नि नियन्त्रण कक्षको पहिलो तल्लाको काम पनि भइरहेको छ । आठ तल्ला अग्लो कन्ट्रोल टावरको काम पनि तीव्र गतिका साथ भइरहेको र वैशाखभित्र यी सबै भौतिक संरचनाको काम ५० प्रतिशतभन्दा बढी सकिसक्ने इन्जिनियर विजय शाक्यले जानकारी दिए । उनका अनुसार विमानस्थल निर्माणमा अहिले १५० देखि २०० जना दक्ष जनशक्तिले काम गरिरहेका छन्।

विमानस्थल निर्माण कार्यअन्र्तगत अहिले निर्माण भइरहेको धावन मार्ग १ दशमलव २५ मिटर उचाइ, ३ हजार मिटर लम्बाइ तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुबै किनारमा १५–१५ मिटर छाडिने छ । तीन हजार मिटर लामो धावन मार्गको दुवैतिर ३००÷३०० मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेफ्टी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ जुन काठमाडौँमा अहिले आएर मात्रै बनाइदै छ।

स्तरोन्नतिपछि भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बलियो विकल्पको रुपमा प्रयोग गरिने आयोजनाको दावी छ । अहिलेको विमानस्थलको धावन मार्ग १ हजार ५ सय २४ मिटर लामो र ३० मिटर चौडा छ।

आयोजना निर्देशक शर्माका अनुसार अहिलेको गौतमबुद्ध विमानस्थलमा एटिआर, बीचक्राफ्ट जस्ता साना हवाईजहाजहरुका लागि हो भने स्तरोन्नति पछि बोइङ्ग, एयरबस जस्ता ठूला विमानहरुलाई पनि काठमाडौँको विकल्पको रुपमा भैरहवा उतार्न सकिने छ।

दक्षिण एशियाकै पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार आयोजनाअन्तर्गत एशियाली विकास बैंकको अनुदान तथा कर्जामा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गर्न नेपाल सरकारले चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएशन विमानस्थल निर्माण समूहलाई ग्लोबल टेण्डरमार्फत ठेक्का दिएको हो। मूल्य अभिवृद्धि करसहित कूल करार मूल्य ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँ रहेकामा एशियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत कर्जा रहेको छ । यसैगरी, अन्तर्रा्ष्ट्रिय विकासका लागि ओपेक कोषबाट प्राप्त ३० दशमलव ५ प्रतिशत कर्जा र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानस्थल निर्माण हुदैछ।

करिब ११ हजार रोपनीमा निर्माण भइरहेको यो विमानस्थलको सम्पूर्ण निर्माण कार्य आगामी एक वर्ष्भित्र पूरा गर्ने तदारुकताका साथ आयोजना प्रमुख लागिरहनु भएको छ । उहाँका अनुसार विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएका जग्गाका जग्गाधनीहरुलाई मुआब्जा दिने काम भइरहेको छ।

अधिग्रहण गरिएका ७ हजार कित्ता जग्गामध्ये एक हजारभन्दा बढी कित्ताको मुआब्जा वितरण गरिइसकिएको छ । कूल २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा अहिलेसम्म ४ अर्ब भन्दा बढी वितरण भइसकेको र वितरण कार्यलाई थप तीव्रता दिइएको आयोजना प्रमुख शर्माले जानकारी दिए।

source; nagariknews.com

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काँकरभिट्टाबाट ११ हजारभन्दा बढी पर्यटक भित्रिए
झापा –झापाको पूर्वी नाका काँकरभिट्टाबाट सन् २०१७ मा ११ हजार ४ सय ९७ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ । २०१७ जनवरीदेखि डिसेम्बरसम्म अष्ट्रेलियाबाट २ सय २२, अष्ट्रियाबाट १२, बंगलादेशबाट २ हजार २५, बेल्जियमबाट ३६, क्यानडाबाट १ सय ७०, चीनबाट २ सय ५९, डेनमार्कबाट १३, फ्रान्सबाट २ सय १२, जर्मनबाट २ सय ७, इजरायलबाट ३१, इटलीबाट ४२, जापानबाट १ सय १२ जना नेपाल भित्रिएको अध्यागमन कार्यालयले जानकारी दिएको हो । त्यस्तै मलेसियाबाट ९०, नेदरल्याण्डबाट ५८, न्यूजील्याण्डबाट ४७, नर्वेबाट १०, सिंगापूरबाट ३२, श्रीलंकाबाट २, स्विजरल्याण्डबाट ६७, ...
सल्यानमा गतवर्ष भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि
सल्यान – सल्यानमा यस वर्ष ३३ करोड ४ लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत कारणले यस वर्ष गत वर्षभन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो। जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माका अनुसार यस वर्ष १ हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट ७ हजार ३४४ मेट्रिक टन सुन्तला उत्पादन भएको हो। गत वर्षभन्दा ८ हेक्टर बढीमा सुन्तला उत्पादन भएको छ। गत वर्ष जिल्लामा २९ करोड ...
नवीकरणबाट एक करोड राजश्व
भद्रपुर – घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल रु एक करोड २० लाख राजश्व संकलन गरेको छ। उत्पादन, सेवा, कृषि तथा वन्य जन्तु र पर्यटन किसिमका उद्योगबाट रु २५ लाख ३३ हजार था वाणिज्य प्रशासनतर्फ रु ९४ लाख ६६ हजार राजस्व संकलन भएको उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिए। प्रथम चौमासिकको चार महिनाको अवधिमा ३२५ नयाँ उद्योग दर्ता भई नयाँ र पुरानो गरी अब झापामा आठ हजार ८१ उद्योग दर्ता भएका छन्। तीनवटा ...
हात्ती सफारी संकटमा
नवलपरासी : विश्वभरका पशु अधिकारवादी र टुर अपरेटरले हात्ती सफारी बन्द गर्नुपर्ने आवाज उठाउन थालेपछि नेपालको जंगल पर्यटन संकटमा पर्ने देखिएको छ। नेपाली पर्यटन क्षेत्रमा हात्ती सफारी महत्वपूर्ण ‘प्रोडक्ट' मानिन्छ। नेपालमा ३५ वर्षअघि टाइगर टप्सले व्यावसायिक रूपमा हात्ती सफारी सुरु गरेको थियो। टाइगर टप्सले सुरु गरेको हात्ती पोलो विश्वभर चर्चित छ। नेपालमा हात्ती सफारी बन्द गराउँदा जंगल पर्यटन ध्वस्त हुने टेम्पल टाइगर रिसोर्टका सञ्चालन बसन्त मि श्र बताउँछन्। हात्ती चढेर जंगलर सफारी गर्न बर्सेनि लाखौं स्वदेशी तथा विदेशी पर्यटक चितवन राष्ट्रिय निकुञ्ज पुग्छन्। चितवनको पर्यटन व्यवसायी ...
नेपालगञ्ज भन्सारद्वारा ६ महिनामा लक्ष्य भन्दा ३६ करोड बढी राजश्व संकलन
नेपालगञ्ज – नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा ३६ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७४/०७५ को साउनदेखि पुस महिनासम्म लक्ष्य भन्दा बढी राजश्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिनुभयो । नेपालगञ्ज भन्सार कार्यालयको लक्ष्य चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्ब ८५ करोड ३१ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गर्ने रहेकोमा चार अर्ब २१ करोड ४७ लाख ७४ हजार रुपैयाँ संकलन गरेको हो । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी समेत रहनुभएका भन्सार अधिकृत ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम