मुख्य समाचार

तपाईंको बालबालिकामा कुपोषण त छैन?
Does not your child suffer from malnutrition?

तपाईंको घरमा भएका पाँच वर्षमुनिका बालबालिकाले गर्ने भोजन सन्तुलित र उमेरअनुसारको छ ? तपाईं वा जोसुकैले आफ्नो उमेरअनुसार आवश्यक पर्ने खानेकुरा सेवन नगरे थुप्रै शारीरिक समस्या निम्तिन सक्छन् । कुपोषणले बालबालिकाको मानसिक विकासमा समेत असर पार्छ, मस्तिष्कको तीक्ष्णता प्रभावित हुन्छ ।

सरकारी तथ्यांकअनुसार खानपानमा असन्तुलन वा उपयुक्त आहार पुर्‍याउन नसकेर हाम्रो मुलुकमा पाँच वर्षमुनिका एकतिहाइभन्दा बढी अर्थात् ३६ प्रतिशत बालबालिकामा पुड्कोपन छ । उमेरअनुरूप उचाइ नपुगेर उनीहरूमा पुडकोपन देखिएको हो ।

२७ प्रतिशत बालबालिका उमेरको तुलनामा कम तौलका छन् । १० प्रतिशत त ख्याउटेपनको सिकार छन् । यसै साता सार्वजनिक गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकमा यस्तै भनिएको छ । हाम्रो मुलुकको सहरी क्षेत्रमा ३२ प्रतिशत यस्तो समस्या छ भने, ग्रामीण क्षेत्रमा ४० प्रतिशत ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वव्यापी रूपमा पाँच वर्षमुनिका १५ करोड ५० लाख बालबालिका कुपोषणले गर्दा पुड्का छन् । यस्तै ५ करोड २० लाख बालबालिका उचाइअनुसार तौल नपुगी ख्याउटे छन् भने १ करोड ७० लाखमा कडा ख्याउटेपन देखिएको छ ।

शरीरमा मात्र नभई मस्तिष्कको विकासमा समेत असर पार्ने पोषण सामान्य रूपमा भन्ने हो भने, खाना खाने, पचाउने, चपाउने, शोषिने तथा शरीरका विभिन्न भागमा भण्डारण हुने प्रक्रिया हो ।

कुपोषण भनेको हाम्रो शरीरमा पोषक तत्त्वको आवश्यकता र हाम्रो आहाराबीचको असन्तुलन हो । अर्थात्, शरीरको वृद्घि विकास र अन्य विशेष कामका लागि हाम्रो शरीरमा भएका कोषहरूलाई चाहिने पोषक तत्त्व र शक्तिबीचको असन्तुलन नै कुपोषण हो ।

शारीरिक र मानसिक विकासका लागि शिशुदेखि वयस्क हुँदासम्मको विकासका लागि, रोगमुक्त रहनका लागि सही अनुपातमा उचित भोजनको आवश्यकता हुन्छ । सन्तुलित भोजनमा कमीले कुपोषण तथा रक्तअल्पतालाई निम्त्याउँछ । यी दुवै स्थितिमा शरीरको रोग प्रतिरोधक शक्ति कम हुन्छ, अनि रोग लाग्न सक्छ ।

यसैले हामीले गर्ने भोजन हाम्रा लागि उपयुक्त हुनुपर्छ । सामान्यत: एकैनासको खानामा हामीलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्व उचित मात्रामा हुँदैनन् । हामी सबैले सन्तुलित भोजन गर्नुपर्छ । यसअन्तर्गत कम्तीमा दिनहुँ चार खाद्य समूह भोजनमा समावेश हुनैपर्छ ।

पहिलो हो– अन्न/कन्दमूल । यो समूहअन्तर्गत चामल, गहुँ, मकै, कोदो र फापर तथा आलु, सखरखण्ड, तरुल, पिँडालु आदि पर्छन् । दोस्रो समूहमा गेडागुडी पर्छन् । दालहरू, चना, भटमास, सिमी, केराउ, तिल, फर्सीको बिया आदि यसमा पर्छन् । तेस्रो हो भिटामिन तथा खनिजयुक्त फलफूल तथा तरकारी । यो समूहमा मेवा, पाकेको आँप, हरियो सागपात, पाकेको फर्सी, गाजर, पहेंलो सखरखण्ड, खरबुजा, कटहर, सिस्नु, कर्कलो, मूलाको साग, गोलभेडा, सुन्तला, कागती, अमला, केरा, बन्दाकोपी भान्टालगायत पर्छन् । चौथो समूह हो– पशुपक्षीजन्य खानेकुरा, जसमा दूध, दूधबाट बनेका पदार्थ, अन्डा, माछा, मासु आदि पर्छन् ।

‘हरेक बार खाना चारको सुत्र उपयोग गर्नुस्,’ बाल स्वास्थ्य महाशाखाअन्तर्गत पोषण विभागका प्रमुख एवं वरिष्ठ पोषणविद् राजकुमार पोखरेल भन्छन्, ‘तपाईंले खाना खाँदा यी चारै समूहबाट सन्तुलित रूपमा खाना उपयोग गर्नुस् ।’

हामीले चारै खाद्य समूहबाट मिलाएर सन्तुलित रूपमा दिनमा कम्तीमा चार पटक खानुपर्छ । यसअन्तर्गत बिहान, दिउँसो, साँझ र राति गरी कम्तीमा चार पटक खाना खानु उपयुक्त हुन्छ ।

किशोरावस्था आउनुभन्दा अघिसमेत पोषणयुक्त खाना बालबालिकाका लागि धेरै आवश्यक हुन्छ । जन्मदेखि ६ महिनासम्म शिशुहरूका लागि आमाको दूध मात्र उपयुक्त हुन्छ भने ६ महिनापछि दुई वर्षभन्दा बढी समयसम्म आमाको दूध सँगै बिस्तारै ठोस आहारासमेत दिनुपर्छ । ठोस आहारामा उमेरअनुसार चारै खाद्य समूहको सन्तुलित उपयोग गर्नुपर्ने पोखरेल सुझाउँछन् ।

पोषणयुक्त खाना बालबालिकाको मस्तिष्कको विकासका लागि आवश्यक छ । पाँच वर्षको उमेरसम्म बालबालिकाको मस्तिष्क र उनीहरूको ‘नर्भस सिस्टम’ तीव्र गतिले वृद्घि हुन्छ ।

करेसाबारीमा पाइने विभिन्न सागसब्जी, आलु, सखरखण्ड, पिँडालु, तरुल इत्यादि अत्यन्त पोषक तत्त्वयुक्त खाद्यपदार्थ हुन् । हामी भातलाई बढी महत्त्व दिन्छौं । तर गहुँ, फापर, जौ, कोदो आदिको दाँजोमा हरेक हिसाबले चामलको पोषकतत्त्व कम हुन्छ । अत्यन्त फाइदाजनक, उच्च पोषक तत्त्वयुक्त कोदो हाल हाम्रो गाउँघरमा खानै छोडिएको छ ।

हामीलाई गहँु, मकै, जौ अर्थात् एकै वस्तुको पीठो खाने बानी छ । तर हाल विभिन्न वर्गका पीठो (मल्टी ग्रेन) मिसाएर खाने चलन छ । यो अत्यन्त पोषक र फाइदाजनक रहेको औंल्याउँदै पोखरेल भन्छन्, ‘मकै, गहँु, कोदो, फापर, जौ, भटमास आदि मिसाएर सातु बनाएर खानुस् । यसको पौष्टिकता र फाइदाको जवाफ छैन ।’

यस्तै, खानामा कुनै पनि पशु स्रोतको खाद्यपदार्थ पोषणको हिसाबले राम्रो हो । केही नभए अण्डा त सहजै पाइन्छ ।

अचेल हाम्रो मुलुकमा पनि चाउचाउ, चिजबल लगायत फास्टफुडको प्रचलन बढी छन् । तपाईंहरू पनि खाजामा एक प्याकेट चाउचाउ बोकेर जान रुचाउनुहुन्छ । तर यस्ता जंकफुड स्वास्थ्यका लागि राम्रो मानिँदैन । यस्ता प्याकेटमा भएका खाद्यपदार्थको पोषक गुण बढी नहुने जनाउँदै पोखरेल भन्छन्, ‘परम्परागत रूपमा खाजामा खाइने चिउरा, गेडागुडी, सागपात, अण्डा आदिमा पोषक गुण धेरै बढी हुन्छ ।’

पोषणको मामिलामा समेत प्रकृतिले हामीलाई सबै थोक दिएको छ । हाम्रो वातावरणमा आफैं उत्पन्न हुने खाद्य पदार्थसमेत छन्, जो पोषणको कमीलाई पूरा गर्न सहयोगी हुन्छन् । यसले हामीलाई आवश्यक पर्ने सबै कुराको व्यवस्था स्थानीय रूपले नै गरेको हुन्छ । तर ज्ञान अभावमा हामीले यसबाट उच्चतम फाइदा उठाउन सकिरहेको हुँदैनौं ।

उपयुक्त पोषणको लागि सामान्य र ग्रामीण नेपालीको घरमा जे छ, बारीमा जे उब्जेको छ, त्यसलाई राम्ररी मिलाएर खाँदा नै पर्याप्त रूपमा पोषकतत्त्व पाइने पोखरेल बताउँछन् ।

मानसिक क्षमतासमेत प्रभावित

कुपोषणले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक क्षमतालाई समेत प्रभावित गर्छ । यसले गर्दा बालबालिका बुद्घिले भविष्यमा पाउन सक्ने उचाइ पाइरहेका हुँदैनन् ।

मानव मस्तिष्कको विकास मुख्य रूपमा पाँच वर्षको उमेरसम्म हुने औंल्याउँदै वरिष्ठ स्नायु शल्य चिकित्सक डा. वसन्त पन्त भन्छन्, ‘कुपोषणले गर्दा बालबालिकामा पुडकोपना मात्र नभएर मानसिक क्षमतालाई समेत जीवनभर प्रभावित हुन्छ ।’

हाम्रो मस्तिष्कको करिब ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्म हुने भएकाले यो समयमा शरीरले उचित पोषण नपाउँदा मस्तिष्कको विकासमा असर पुग्छ । शारीरिक र मानसिक विकासका लागि बाल्यकालमा चाहिने उपयुक्त पोषणको अभावले मुलुकमा पुडको र औसत मानसिक क्षमताका हुनेको संख्या ठूलो छ ।

बच्चामा कुपोषण जीवनको प्रारम्भिक समयमा मस्तिष्कको विकास र बौद्घिक क्षमतालाई प्रभावित गर्न अर्थात् रोक्न सक्छ । कुपोषणले गर्दा मस्तिष्कको विकासमा परेको असरलाई पछि जतिसुकै पोषकतत्त्व खुवाउँदासमेत जीवनभर पूरा गर्न नसकिने जनाउँदै डा. पन्त नेपालीहरू वंशानुगत रूपमा पुडको नरहेको समेत बताउँछन् ।

Source ekanitpur

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
औषधिको साइड इफेक्टले दुःख दियो
चितवन – एचआईभी संक्रमितका लागि सरकारले निःशुल्क उपचार सेवा दिँदै आएको छ । संक्रमितले भने आफूहरुले सेवन गर्ने औषधिको साइड इफेक्ट देखिन थालेको बताएका छन् । संक्रमितको सरोकारका विषयमा दुई दिनसम्म भरतपुरमा सञ्चालित भेलाका सहभागीले गुणस्तरीय उपचार सेवाको माग गरेका छन् । आइतबार सकिएको भेलामा सातै प्रदेशका सयजना संक्रमित सहभागी थिए। संक्रमितको संस्था राष्ट्रिय एड्स तथा एचआइभी महासंघ (एनएपी प्लस एन) ले भेला आयोजना गरेको थियो । ‘संक्रमितका लागि सरकारले निःशुल्क रुपमा एआरटी उपचार सेवा सुरु गरेको छ । हाम्रा लागि सरकारले गरेको यो काम साह्रै ...
आयुर्वेद उपचारमा धेरैको विश्वास छ
पुस २४ –आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् । नार्गाजुन नगरपालिकाकी ६६ वर्षीया मीठु थापा आफूलाई आयुर्वेदिक औषधिमा विश्वास लाग्ने बताउनुहुन्छ । “जडीबुटीबाट बनेको औषधिले राम्रो गर्छ, अरु असर पनि गर्दैन, मैले एकपल्ट मुटुमा समस्या भएर एलोपेथिक औषधि खाएको थिएँ, त्यसबाहेक अरु बेला त आयुर्वेद डाक्टर कहाँ नै देखाउछु, आयुर्वेदिक औषधि खान्छु”– उहाँले भन्नुभयो । थापाले घरमा अरुलाई पनि बिरामी हँुदा आयुर्वेद उपचार नै गर्ने गरेको बताउनुभयो । नेपालमा आयुर्वेदको प्रचारप्रसार ...
भाइरल प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मीको टोली
जाजरकोट – पाँच बालबालिकासहित नौ जनाको ज्यान जाने गरी दुई हप्तादेखि जाजरकोटको जुनीचाँदेमा फैलिएको भाइरल प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोली पुगेको छ । टोलीले शिविर खडा गरेर उपचार सुरु गरेपछि प्रभावित क्षेत्रमा केही सुधार आएको स्वास्थ्यकर्मीले वताएका छन् । जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट गएका डाक्टरसहितका स्वास्थ्यकर्मीको टोलीले स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहकार्यमा सर्बभन्दा बढी प्रभावित मजकोटका गाउँबा उपचार सुरु गरे पछि प्रभावित क्षेत्रमा सुधार आएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन ल्याप टेक्नियसर कृष्ण खत्रीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा संकलन ...
आँखा शिविरमा २ सय २० जनाको शल्यक्रिया
महोत्तरी – महोत्तरीको गौशालामा सम्पन्न भएको तीन दिने आँखा शिविरमा २ सय २० जनाले आँखाको शल्यक्रिया गराएका छन् । सामुदायिक आँखा उपचार केन्द्र गौशालाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको हो । तीन दिनको अवधिमा आँखाको शल्यक्रिया सम्पन्न गरेको जानकी आँखा अस्पताल जनकपुरकका डाक्टर रमेशकुमार सिंहले जानकारी दिनुभयो । महोत्तरीको गौशालास्थित त्रिभुवन माविको शिविरमा आँखाको शल्यक्रिया गरिएको थियो । आँखाको शल्यक्रिया गर्न सुन्दरपुर, विजलपूरा, पर्सालगायतका स्थानमा शिविरको आयोजना गरी बिरामी छनोट गरिएको थियो । source; ujyaaloonlinenews.com
पाइल्स रोगलाई एक महिनामै चट पार्ने अचुक घरेलु औषधी
पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ । पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो ...
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?

रूस
चीन
कोरिया
भियतनाम