— समुद्रमा वैज्ञानिकहरूले ८ हजार ३३६ मिटरको गहिराइमा पौडिरहेको माछाको तस्बिर कैद गरेका छन् । यो अहिलेसम्मकै सबैभन्दा गहिराइमा माछा भेटिएको अभिलेख हो ।
स्नेलफिस प्रजातिको सिउडोलिपारिस प्रजातिको यो माछा २७ हजार ३४९ फिट गहिराइमा पौडिरहेको अवस्थामा भेटिएको बीबीसीले उल्लेख गरेको छ । यतिको गहिराइ भएको स्थान चोयू हिमालको उचाइभन्दा धेरै हो । चोयू हिमालको उचाइ ८ हजार १८८ मिटर(२६ हजार ८६४ फिट) छ ।
यो माछा दक्षिण जापानको ईजू-ओगास्वारा ट्रेन्चमा रहेको 'ल्यान्डर'मार्फत कैद भएको बीबीसीले जनाएको । यो स्थान अहिलेसम्म माछा बाँचिरहेको अवस्थामा भेटिएको सबैभन्दा गहिरो रहेको बताइएको छ । यसअघि ८ हजार १७८ मिटरको गहिराइमा माछा भेटिएको थियो । उक्त स्थान प्रशान्त महासगरको मरिना ट्रेन्चमा पाइएको थियो । अहिले भेटिएको माछा पहिला अभिलेख भएको भन्दा १५८ मिटर गहिरो थियो ।
'यदि यो रेकर्ड तोडिएको छ भने केही मिटरको गहिराइले मात्रै हो, ' प्राध्यापक अला जेमिसनले बीबीसलाई भनेका छन् ।
वेस्टर्न अस्ट्रेलिया युनिभर्सिटीका वैज्ञानिकहरूले १० वर्षअघि संसारमा सबैभन्दा गहिरो स्थानमा माछा ८२ सय देखि ८४ मिटरसम्मको गहिराइमा पाउन सक्ने प्रक्षेपण गरेका थिए । अनुसन्धान गरेको करिब एक दशकपछि यसको पुष्टि भएको बीबीसीले जनाएको छ ।
स्नेलफसका करिब ३ सय प्रजातिहरू छन् । अधिकांशहरु नदीको मुहान सफा भएका पानीमा पाइने गर्छन् । यस्तै यी प्रजातिका माछाहरु आर्टिक र एन्टार्टिकका धेरै चिसो गहिरो ट्रेन्चहरूमा पनि पाइने गरेका छन् ।