काठमाडौँ — सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । मंगलबार सार्वजनिक एसियन डेभलपमेण्ट आउटलुकमार्फत एडीबीले २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।
यस अघिका दुई आर्थिक वर्षमा नेपालले आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य भेटाउन नसकिरहेको अवस्थामा एडीबीले २०२३ का लागि आर्थिक वृद्धिको लक्ष्य प्रक्षेपण गरेको हो । सन् २०२२ मा ५.८ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ र सन् २०२४ मा ५ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ । राष्ट्र बैंकले कसिलो मौद्रिक नीति सार्वजनिक गरेसँगै नेपालको खुद गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर सुस्त गतिमा भएको र अर्थतन्त्रमा आन्तरिक मागमा कमी आएको एडीबीले जनाएको छ ।