— अमेरिकी अर्बपति इलन मस्कको कम्पनी स्पेस एक्सले बुधबार एकैचोटि ५६ वटा स्टारलिंकका भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा पठाएको छ । फाल्कन ९ रकेटमार्फत पठाइएका यी स्याटेलाइटसँगै स्पेस एक्सले हालसम्म ३ हजार ८ सय ५८ स्याटेलाइट अन्तरिक्षको लो अर्थ अर्बिटमा पठाइसकेको छ । स्टारलिंक र स्पेस एक्सको यो आक्रामक प्राविधिक पहलले स्याटेलाइट इन्टरनेट सेवामा बढ्दो प्रतिस्पर्धाको अवस्थालाई झल्काउँछ ।
यही साता स्टारलिंकको प्रतिस्पर्धी बेलायती कम्पनी वनवेबले पनि भारतीय अन्तरिक्ष संस्था (इस्रो) को सहयोगमा आफ्ना ३६ वटा भूउपग्रहलाई अन्तरिक्षमा पठाएको थियो । अहिलेसम्म वनबेवले यस पटकको समेत गरेर जम्मा ५ सय ८२ वटा स्याटेलाइट अन्तरिक्षमा पठाइसकेको छ । यो कदमसँगै स्याटेलाइट इन्टरनेट सेवा विश्वभर विस्तार गर्न आफू सक्षम हुने वनवेबको दाबी छ । वनवेब र स्टारलिंक मात्रै होइन, स्याटेलाइट इन्टरनेट सेवाको विस्तारका लागि ह्युजेजनेट, भायास्याटेलगायत कम्पनी पनि प्रतिस्पर्धामा छन् ।
नेपालको स्याटेलाइट दूरसञ्चार क्षेत्रमा पनि पछिल्लो समय स्टारलिंक प्रवेश गर्ने तयारीमा गरेको चर्चा छ । नेपाली बजारमा सेवा विस्तार गर्न खोज्ने यो एक मात्र कम्पनी भने होइन । वनवेबले भारतलगायत विश्वबजार र विशेषगरी हिमाली क्षेत्रमा आफ्नो सेवा प्रवर्द्धन गर्ने योजना हालसालै सार्वजनिक गरेसँगै नेपालसमेत दक्षिण एसिया क्षेत्रमा स्याटेलाइट इन्टरनेट सेवाको प्रतिस्पर्धा रोचक बनेको छ ।
हाल स्टारलिंक र वानबेव दुवैका प्रतिनिधिले नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग स्याटेलाइट टेलिकम्युनिकेसन (स्याटेकम) सम्बन्धी नेपालका नियम/कानुनबारे अनौपचारिक रूपमा जानकारी लिइरहेका छन् । ‘इन्टरनेट कनेक्टिभिटी त्यति प्रभावकारी नभएका हाम्रा कतिपय उच्च हिमाली भेगमा उनीहरूले स्याटेलाइट सेवा उपयुक्त हुने देखेर अग्रसरता लिएको हुन सक्छ,’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भन्छन्, ‘अमेरिकास्थित स्टारलिंकका प्रतिनिधिले मसँग अनलाइनमा कुराकानी गरेका थिए । वानबेवले पनि आधिकारिक रूपमा अप्रोच गरेको छैन तर विभिन्न कार्यक्रमहरूमा अनौपचारिक कुराकानीका क्रममा उनीहरूले इच्छुक भएको बताउने गरेका छन् ।’
नेपालको स्याटेलाइट इन्टरनेट बजारमा विदेशी लगानीका कम्पनीको प्रवेश त्यति सहज भने छैन । दूरसञ्चार क्षेत्रमा विदेशी लगानी ल्याउन कानुनी बाध्यात्मक व्यवस्था रहेको र त्यसलाई स्वीकार गरे सेवा प्रदायकहरू आउन समस्या नहुने प्राधिकरणका अध्यक्ष खनाल बताउँछन् । ‘नेपालको दूरसञ्चार नीति ०६० को दफा ५–६–२ मा विदेशी लगानीका लागि कम्तीमा २० प्रतिशत स्वदेशी सहभागिता हुनुपर्नेछ भनेर स्पष्ट व्यवस्था गरिएको छ,’ उनी भन्छन्, ‘अर्बिटको कुरा संवेदनशील हुन्छ, हामी २० प्रतिशतमा आउन सक्दैनौं, नेपालले त्यो हटाउन सक्छ कि भनेर सोध्नुभएको थियो । स्याटेलाइट इन्टरनेट सेवामा उहाँहरूको खर्बौं खर्च हुने र बोर्डमा प्रतिनिधित्व गर्ने २० प्रतिशत स्वदेशी लगानीकर्ताका कारण कुनै निर्णय हुन सकेन भने गाह्रो हुन्छ भन्नेमा उहाँहरूको चासो थियो ।’
हाल स्याटेलाइट इन्टरनेट सेवा विश्वका विभिन्न भागमा सुरु भइसकेको छ । सन् २०२० मा अमेरिकाबाट सुरु भएको स्टारलिंकको सेवा अहिले अरू ४६ देशमा पुगिसकेको कम्पनीको वेबसाइटमा उल्लेख छ । ती देश क्यानडा, बेलायत, जर्मनी, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, युक्रेन, इरानलगायत हुन् । सन् २०२३ मा औपचारिक रूपमा सुरु हुने तयारीमा रहेको वनवेबमा बेलायती सरकार र चर्चित व्यवसायी भारती मित्तलको पनि लगानी छ ।
विशेषगरी संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा आफ्नो सेवा विस्तार गरेको ह्युजेजनेट कम्पनीको स्याटेलाइट इन्टरनेट पोर्तोरिको, ब्राजिल, भारत र युरोपका केही भागमा उपलब्ध छ । भायास्याटे नामक कम्पनीको ब्रोडब्यान्ड स्याटेलाइट इन्टरनेट भने अमेरिकाकै विभिन्न राज्य र पोर्तोरिकोमा समेत उपलब्ध रहेको कम्पनीको दाबी छ । स्याटेलाइट इन्टरनेट सेवा प्रदायकहरूले अन्तरिक्षको तल्लो तह अर्थात् लो अर्थ अर्बिटमा राखिएका आफ्ना भूउपग्रहहरूमार्फत द्रुत गतिको इन्टनेटर सेवा प्रदान गर्छन् । यस्तो सेवा विशेषगरी तारसहितको फाइबर इन्टरनेट नपुगेका, दुर्गम भेगका लागि बढी उपयोगी हुने बताइन्छ । ‘हाई अर्थ वा जियोसिन्क्रोनस अर्बिट पृथ्वीको सतहभन्दा ३५/३६ हजार किमिभन्दा माथि हुन्छन् भने लोअर अर्थ अर्बिटमा राखिएका स्याटेलाइट १२/१५ सय किमि मात्रै माथि हुन्छन्,’ खनालले भने, ‘त्यसले गर्दा लोअर अर्थ अर्बिट स्याटेलाइटको क्षमता जमिनमा बढी हुन्छ, बढी स्पिड हुन्छ ।’
उनका अनुसार उच्च हिमाली क्षेत्रमा स्याटेलाइट इन्टरनेट विशेष उपयोगी हुन सक्छ । हालसम्मको सबैभन्दा ठूलो स्याटेलाइट इन्टरनेट कम्पनी मानिएको स्टारलिंकको बजार मूल्य १ सय अर्ब डलरभन्दा माथि रहेको आकलन गरिन्छ । मासिक १ सय १० अमेरिकी डलरमा सेवा उपलब्ध गराउने स्टारलिंकका ग्राहकको संख्या हेर्दा यसले वर्षको ५० करोड डलर हाराहारीमा आम्दानी गर्ने अनुमान सीएनबीसीको छ । लगभग ४ अर्ब डलर बजार मूल्य रहेको ह्युजेजनेटको स्याटेलाइट इन्टरनेट सेवाको मासिक शुल्क ५० डलरदेखि ४५० डलरसम्म छ । सन् २०२२ मा बेलायती कम्पनी इन्मरस्याटेलाई ७ अर्ब डलरमा खरिद गरेको भायास्याटेले ६५ डलरदेखि १७० डलर प्रतिमहिनासम्मका योजना ल्याएको छ ।
‘मरुभूमि, जंगल, पहाड, हिमाल सबैतिर सेवा बढाउने’ भन्दै इन्टरनेट सेवा नपुगेका ठाउँमा पुग्ने घोषणा गरेको वनवेबले दक्षिण एसियाली बजारमा ध्यान बढाएको अनुमान गर्न सकिन्छ । भारतीय व्यावसायिक समूह मित्तलको समेत लगानी रहेको यस कम्पनीले दक्षिण एसियालगायत उत्तर अमेरिका, मध्यपूर्व, अफ्रिकामा बजार विस्तार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरेको छ । यस्तै स्टारलिंकको वेबसाइटमा पनि नेपाललगायत दक्षिण एसियाली देशमा सन् २०२३ भित्र उक्त सेवा उपलब्ध हुने उल्लेख छ ।