खार्तुम : सुडानमा गएरातिदेखि जारी युद्धविरामका बीचमा तोप, बन्दुकलगायत हतियार पड्काइएका र विष्फोटका घटना भएका छन्। यहाँका स्थानीय बासिन्दाले दोहोरो झडपका घटनाबारे जानकारी पाएको बताउँदै युद्धविराम पूर्णरूपमा पालना नभएको दाबी गरेका छन्।
दश दिनअघि सुरु भएको युद्धमा संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका थिए।
यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। युद्धमा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ। राष्ट्रसङ्घीय निकायहरूले करिब दु्ई लाख सुडानी सुरक्षाको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन्।
जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो सङ्ख्यामा सुडानी र विदेशीहरू पनि पलायन भएका छन्। यसअघि तीन पटक गरिएका युद्धविरामका प्रयास असफल भएका थिए। राष्ट्रसङ्घीय निकायहरूले उक्त युद्धमा हालसम्म चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन्।