नेपाली आकाशलाई दोष दिँदै, पन्छिँदै
नेपाली आकाशलाई दोष दिँदै, पन्छिँदै

: फ्लाई दुबईको जहाजबाट सोमबार राति काठमाडौं तर्सिने गरी आवाज आयो। आगोको झिल्का नै देखियो। जहाज दुर्घटनाबाट जोगिएपछि दुबई नपुग्दै गभर्मेन्ट अफ दुबई मिडिया अफिसले ‘चरासँग ठोक्किएको’ भन्यो। नेपालका सरकारी निकायले उक्त अभिव्यक्तिको कडा खण्डन गरेका छन्। त्यसलाई नेपाली अधिकारीले नेपालको आकाशलाई दोष देखाएर पन्छिने प्रवृत्तिका रूपमा टिप्पणी गरेका छन्।


नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त गलत सूचनाले नेपालको हवाई सुरक्षामा प्रश्न उब्जाएको भन्दै आपत्ति जनाएको छ। वास्तविक कारण नआउँदै सम्बन्धित वायुसेवा कम्पनीले एकतर्फी रूपमा मनगढन्ते कुरा गर्नु आपत्तिजनक रहेको सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए।
‘उड्डयन क्षेत्रको कूटनीतिक सम्बन्धको विरुद्धमा वायुसेवा कम्पनीले अभिव्यक्ति दिएको छ’, भुलले भने। यस सम्बन्धमा दुबईस्थित नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको उनले सुनाए।

यस्तो घटना हुँदा दुई देशबीचको हवाई सेवा सम्झौता, सिकागो महासन्धिलगायतअनुसार सहमतिमा प्रतिवेदन आइसकेपछि सार्वजनिक गर्नुपर्ने हुन्छ। तर, यहाँ विषयान्तर गर्न खोजिएको प्राधिकरणका पदाधिकारीको बुझाइ छ। नेपाली आकाश हवाई सुरक्षाको विषयमा करिब १० वर्षदेखि युरोपियन युनियनको कालोसूचीमा परेको छ। त्यसबाट हटाउन उक्त निकाय सकारात्मक भइरहेका बेला यस्ता घटनाले असर गर्ने भुलको भनाइ छ।

भुलका अनुसार जहाजको सम्पूर्ण अवस्था, इन्जिनको अवस्था जाँच गरेर प्रमाणका आधारमा त्यहाँ कुनै चराको अवशेष, रगत वा प्वाँख भेटिएको भए रिपोर्टमा चरा ठोक्किर भएको भन्न मिल्थ्यो। ‘फ्लाई दुबईको उक्त जहाज त्यहाँ नै ग्राउन्डेड छ। उताको प्राधिकरणले अनुसन्धान सुरु गरेकै छैन। यता भने नेपाललाई बदनाम गर्ने काम भयो। यसले विश्वमा नेपालको आकाश असुरक्षित भन्ने देखाउँछ’, भुलले भने। ग्राउन्डेड भएको उक्त जहाजको सम्बन्धमा अनुसन्धानपछि मात्रै उडान फुकुवा हुने जनाइएको छ।

जहाज नेपाली आकाशमा छँदै कुनै प्रमाणबिना चरा ठोक्किएर इमर्जेन्सी गएको भन्नुले नेपालको हवाई सुरक्षामा गम्भीर असर गर्ने विज्ञको भनाइ छ। यस्तो संवेदनशील विषयमा प्रमाणका आधारमा मात्र अभिव्यक्ति दिनुपर्ने प्राधिकरणका पूर्वकार्यकारी निर्देशक राजकुमार क्षेत्री बताउँछन्।
‘प्राधिकरणसँग मात्रभन्दा पनि यो विषय देश र हवाई सुरक्षासँग जोडिएको हुन्छ। यसले नेपालको रात्रिकालीन उडान पनि सुरक्षित रहेनछ भन्ने देखाउँछ। जुन गलत हो’, उनी भन्छन्। यस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिन नहुने क्षेत्रीको भनाइ छ।

हवाई सुरक्षाको गम्भीर विषयलाई अतिरन्जित गरी प्रस्तुत गर्न नहुने प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन बताउँछन्। सोमबार रातिको फ्लाई दुबईको घटनामा के भएको थियो भन्ने सम्पूर्ण जिम्मेवारी पाइलटको हुने भएकाले यसमा अरूले मनगढन्ते टिप्पणी गर्न नहुने उनको धारणा छ। उड्डयन क्षेत्रमा प्राविधिक समस्या आउन सक्ने उनी बताउँछन्।

चरा ठोक्किएको भन्ने रिपोर्ट गरेकोमा फ्लाई दुबईको नेपालस्थित कन्ट्री म्यानेजर (नेपाल प्रमुख) र स्टेसन म्यानेजर कारबाहीमा परेका छन्। उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ। जसले एयरलाइन्सको गल्ती कमजोरी लुकाएर नेपाली आकाशलाई दोष दिने काम गरे। यस सम्बन्धमा प्राधिकरणले दुबईको नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको छ।

प्राधिकरणले क्याप्टेन र एरोनोटिकल इन्जिनियर सम्मिलित दुई सदस्यीय छानबिन समिति बनाएको छ। समितिले कारबाहीमा परेका प्रतिनिधिलाई स्पष्टीकरण सोध्ने र अन्य छानबिन गरी प्रतिवेदन बुझाएपछि रोकुवा फुकुवा गर्ने वा नगर्ने सम्बन्धमा निर्णय हुने भुलले बताए। उक्त जहाज ग्राउन्डेड छ। पाइलटसँग सोधपुछ र जहाजको छानबिन गरिएको प्रतिवेदन प्राधिकरणलाई पठाएपछि के भएको थियो भन्ने थाहा हुन्छ। उक्त घटनालाई प्राधिकरणले गम्भीर रूपमा लिएको, नेपाल र यूएई सरकारको द्विपक्षीय सहयोगमा घटनाको सत्यतथ्य पत्ता लगाउने उनले बताए।

फ्लाई दुबईको एफडीबी ५७६ जहाज सोमबार राति ९ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको थियो। त्यसको एक मिनेटपछि नै समस्यामा परेको जानकारी एयर ट्राफिक कन्ट्रोरल (एटीसी) आएको थियो। बायाँ इन्जिनमा केही पड्केजस्तो आवाज आएर आगोको झिल्का देखिएपछि पाइलटले इमर्जेन्सी (मेडे मेडे) भनी जानकारी गराएका थिए।

फ्लाई दुबईले इमर्जेन्सी भनेपछि विमानस्थल ९ बजेर २१ मिनेटदेखि २८ मिनेट अन्य जहाजका लागि बन्द गरियो। तर, आगोको झिल्का आएको बायाँ इन्जिन बन्द गरी दायाँबाट मात्रै अर्थात् सिंगल इन्जिनले उडाएर पाइलटले धादिङ पुर्‍याए। त्यहाँ पुगेपछि उचाइ लिँदै २० हजार फिटमा गएर १० मिनेट ‘होल्ड’ गर्‍यो।

त्यसबेला इन्जिनलगायत सबै उपकरण जाँच गरी पाइलटले ‘सम्पूर्ण कुरा ठीक छ, सबै चेक गरेँ, म उडान निरन्तर गर्छु’ भन्दै जहाज गन्तव्यतर्फ लागेको थियो। उक्त विमान स्थानीय समयअनुसार १२ बजेर ११ मिनेटमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो।

त्रिभुवन विमानस्थलको धावनमार्गमा मरेको भँगेरा भेटिएको थियो। तर, त्यो २–४ दिनअघि नै मरेजस्तो देखिने आधारमा जहाजमा चरा ठोक्किएको भनिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। उनका अनुसार फ्लाई दुबईले दैनिक ४ जाने र ४ आउने गरी उडान गर्दै आएकोमा मंगलबार पनि सबै नियमित उडान पूरा गरेको छ।

कसरी आउन सक्छ आगोको झिल्का ?

फ्लाई दुबईको जहाजबाट उडेको एक मिनेटमै ठूलो आवाज आएको र आगोको झिल्का देखिएको भनिएको छ। जहाजमा दुई इन्जिन हुन्छ। बायाँबाट आवाज आएको र झिल्का देखिएको भनिएको छ।

जहाजको उक्त घटनाका बारेमा अध्ययन प्रतिवेदन आइनसकेकाले यसै भन्न नसकिने पूर्वपाइलट ओम गुरुङ बताउँछन्। तर, इन्जिनमा केही पस्दा कम्प्रेसन स्टल (इन्जिन घुम्ने पंखा वा ब्लेड) मा असर गरी आवाज आएको वा झिल्का देखिएको हुन सक्ने वा जहाजको प्राविधिक अवस्था कस्तो छ भन्नेले निर्धारित गर्ने गुरुङको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...