फ्लाई दुबईको चालक दलले पठायो प्रारम्भिक विवरण
फ्लाई दुबईको चालक दलले पठायो प्रारम्भिक विवरण

— फ्लाई दुबईको विमानका पाइलटले सोमबारको उडानको विवरण नागरिक उड्डयन प्राधिकरणलाई पठाएका छन् । प्रतिघण्टा ३६० किलोमिटरको गतिमा भुइँ छाडेर उड्दै गर्दा आगोको लप्का र ठूलो कम्पन बेहोरेको विमान कसरी गन्तव्यमा पुग्यो ? पाइलटले विवरण दिएका छन् ।


प्राधिकरण स्रोतबाट प्राप्त इमेल विवरणअनुसार फ्लाई दुबईको चालक दलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै अचानक ठूलो हलचल सामना गर्नुपरेको भनेका छन् । एफजेड–५७६ उडानमा १६८ यात्रु राखेर उडेका चालक दलले इन्जिन नम्बर २ (दायाँ इन्जिन) मा समस्या देखेका थिए । उनीहरूले उक्त इन्जिनको पछाडितर्फ रहने ईजीटी (एक्जस्ट ग्यास टेम्प्रेचर) प्रभावित भई ठूलै आवाज ककपिटभित्रै सुनिएको बताएका छन् ।

विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरलाई सन्देश पठाउँदै ‘मे डे, मे डे’ भनेका थिए । यो पाइलटले आपत्कालीन अवस्था वा कुनै संकट आइपर्दा सहयोग माग्न बोलिने शब्दावली हो । यस्तोमा नजिकैको विमानस्थलले अवतरणका लागि प्राथमिकता दिनुपर्छ ।

सोमबार राति ९ः१९ मा दुबईका लागि उडेको विमानका पाइलटहरूले काठमाडौंमै फर्किने गरी सहायता मागेका थिए । सँगै इन्जिनमा आगलागी हुँदा अपनाउनुपर्ने निर्देशिकालाई पालना गरेको उनीहरूको दाबी छ । जसअनुसार इन्जिन नम्बर १ (बायाँ इन्जिन) को भरमा काठमाडौं उपत्यकाभित्र उचाइ लिन ‘क्लाइम्ब’ गरिरह्यो । तर, समस्या देखा परेको इन्जिन बन्द नगरिएको जानकारी उनीहरूले दिएका छन् । त्यसबेला चालक दलले ईओपी (इन्जिन आउट प्रोसिजर) पालना गरेको भनिएको छ । कुनै एक इन्जिनमा समस्या देखापरे अर्को इन्जिनको भरमा मात्रै कसरी जहाजलाई सुरक्षित उडान गर्नेलगायतका गाइडलाइन ईओपीमा हुन्छन् ।

२० हजार फिट उचाइमा रहेका बेला चालक दलले विमानलाई धादिङमाथिको आकाश (धार्के नाम दिइएको हवाई बिन्दु) मा पुर्‍याउँदै करिब १४ मिनेट फन्को लगाइरहे । अमेरिकी कम्पनी बोइङको ७३७ विमान ‘होल्ड’ स्थितिमा ६ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा परिक्रमा गरिरहेको थियो, त्यसैबेला ककपिटमा सबै सामान्य हुँदै गएको चालक दलले इमेलमा उल्लेख गरेको छ । दुबईमा रहेको आफ्नो कम्पनीको एमसीसी (मेन्टिनेन्स कन्ट्रोल सेन्टर) लाई सम्पर्क गरेको पनि उनीहरूको भनाइ छ ।


उनीहरूले सिनियर क्याबिन क्रुलाई ककपिटमै बोलाई दुई नम्बर इन्जिनमा आएको समस्या र समाधान गर्न अपनाएका विधिबारे विस्तारमा सुनाएका थिए । ‘काठमाडौंबाट उड्नेबित्तिकै विमानको इन्जिनबाट आगो निस्किएको क्याबिन क्रुबाट थाहा भयो,’ इमेलमा लेखिएको छ ।

प्रायः अन्तर्राष्ट्रिय उडान गर्ने ठूला वायुसेवा कम्पनीका विमानले आपत्कालीन अवस्थामा सेटलाइट फोन वा भीएचएफ रेडियोबाट आफ्नो कम्पनीबाट प्राविधिक सल्लाह लिन्छन् । फ्लाई दुबईका पाइलटले इमेलमा लेखेका छन्, ‘हामीले घटनाबारे दुबईमा रहेको एमसीसीलाई व्याख्या गर्‍यौं । त्यसपछि दुवै इन्जिनका प्यारामिटरलाई सूक्ष्म ढंगले निगरानी गर्दै दुबई नै जाने योजनामा उत्साहित भयौं ।’ दुबईमा रहेका आफ्ना कम्पनीका प्राविधिकको सल्लाहपछि विमानलाई २० हजार फिटको उचाइबाट २८ हजारमा पुर्‍याउँदै उडानलाई निरन्तरता दिएको उनीहरूको भनाइ छ ।

विमानले उडान योजनाअनुसारको उचाइ लिएर ‘क्रुज’ मा पुगेका बेला मात्रै काठमाडौं विमानस्थलका एटीसीले धावनमार्गमा चराको प्वाँख भेटिएको जानकारी गराएको र त्यसबाट आफूहरूले गरेको ‘बर्ड हिट’ को आशंकालाई थप बल मिलेको उनीहरूको भनाइ छ । प्राधिकरणले भने फ्लाई दुबईसँग चरा ठोकिएको घटनालाई आधारहीन भनेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पर्यटनमन्त्री सुदन किरातीले चरा ठोकिएको भन्ने खबर हल्ला मात्र भएको भन्दै त्यसको खण्डन गरेका छन् । यस विषयमा प्राधिकरणले फ्लाई दुबईको नेपालस्थित कार्यालयका अधिकारीको पास रोक्का गर्दै सम्बन्धित वायुसेवासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ । विमानको प्राविधिक जाँचपछि जारी प्रतिवेदनबाट मात्र घटनाको विस्तृत कारण खुल्नेछ ।

इन्जिनमा आगोको लप्का देखिएपछि काठमाडौंकै आकाश आसपासमा अलमलिएर फेरि अघि बढेको विमानले दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समयअनुसार राति २ बजे अवतरण गरेको थियो । आकाशमा ‘होल्ड’ गर्दा र एउटा इन्जिनको भरमा काठमाडौं छाड्दै गर्दा चालक दलले ‘मिनिमम डाइभर्सन’ (न्यूनतम इन्धन) भएको भनी दुबई विमानस्थलमा रिपोर्ट गरेका थिए । त्यसैका आधारमा विमानलाई दुबई विमानस्थलले अवतरणमा प्राथमिकता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...