— अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२४ मा हुने निर्वाचनमा राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ८० वर्षीय बाइडेन अहिले नै सबैभन्दा बढी उमेरको अमेरिकी राष्ट्रपति हुन् ।
बाइडेन यदि दोस्रो कार्यकाल पनि राष्ट्रपति निर्वाचित भएको खण्डमा कार्यकाल सम्पन्न हुँदा उनी ८६ वर्षको पुग्नेछन् ।
सन् २०२० को नोभेम्बरमा डेमोक्र्याट्सबाट निर्वाचित बाइडेन उपराष्ट्रपति कमला ह्यारिससँगै फेरि निर्वाचनमा भाग लिने भएका हुन् । बाइडेनले एक भिडियो सन्देश मार्फत् मंगलबार यस्तो घोषणा गरेका हुन् ।
जहाँ उनले आगामी चुनावलाई लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रताको लागि लडाइँको रूपमा व्याख्या गरेका छन् । जवकि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा भाग लिनेबारे यसअघि नै घोषणा गरिसकेका छन् ।
'हामी अझै पनि अमेरिकाको आत्माको लागि लडाइँमा छौं । आगामी वर्षहरूमा हामी बढी स्वतन्त्रता वा कम स्वतन्त्रता, बढी अधिकार वा कम अधिकार भन्ने प्रश्नको सामना गरिरहेका छौं,' बाइडेनले आफ्नो भिडियो सन्देशको क्रममा भनेका छन् ।