काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत वर्षाका कारण शनिबार स्थगित भएको संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल आज एन्फा कम्प्लेक्समा सम्पन्न भएको छ।
शनिबार च्यासल रंगशालामा दोस्रो हाफसम्म चलेको खेल भारी वर्षाका कारण ५५ मिनेटमा रोकिएको थियो। सोही समयबाट बाँकी खेल आज एन्फा कम्प्लेक्समा आयोजना भएको थियो।
शनिबार च्यासल रंगशालामा फोडे फोफानले ३३औं मिनेटमा गरेको गोलसँगै जावलाखेल १–० ले अगाडि थियो। तर, आइतबार एन्फा कम्प्लेक्समा निशान खड्काले ७२औं मिनेटमा गोल गर्दै संकटालाई हारबाट जोगाए।
बराबरीसँगै १३ खेलबाट २४ अंक जोडेको जावलाखेलले शीर्ष स्थानमा अंक दूरी लम्ब्याउने मौका गुमाएको छ। थ्री स्टारको १३ खेलबाट २२ अंक छ। समान खेलबाट १६ अंक जोडेको संकटा नवौं स्थानमा उक्लिएको छ।