मुख्य समाचार
३५ प्रतिशतभन्दा बढी व्यावसायिक सटर बन्द
३५ प्रतिशतभन्दा बढी व्यावसायिक सटर बन्द

— बर्दिबासका रतिश रेग्मीले ८ वर्षअघि मैतीदेवी चोकमा जुत्ता पसल चलाउन सुरु गरे । त्यहाँ पाँच वर्ष जुत्ता व्यापार गरेपछि उनी राम्रो व्यापार गर्न भन्दै गौशाला चोक सरे । तर गौशाला चोक सरेको तीन वर्षमै उनले सटर खाली गरे । सामानसहित पसल बेच्न खोज्दा खरिदकर्ता भेटेनन् । पछि उनले आफ्ना सामान उठाएर सटर मात्र छाडे । व्यापार नभएपछि सटर भाडा तिर्नसमेत बैंकबाट थप ऋण लिनुपर्ने बाध्यता भएको उनले सुनाए ।

‘व्यापार नभए पनि सटरको भाडा मासिक ४० हजार र गोदामको ५ हजार तिर्दै आएको थिएँ । भाडा तिर्न पनि नसकेपछि सामान गोदाममा राखेर सटर खाली गरें,’ रेग्मीले भने, ‘गोदामको जुत्ता अनलाइन अथवा व्यापारीलाई नै बेच्ने योजना छ । अवस्था सुधार भए पुनः व्यापारमै फर्किन्छु ।’ सटर भाडा तिर्नकै लागि थप ऋण लिनुपरेको उनको गुनासो छ । यी सबैको कारक कोभिड, बैंक ब्याजदर र आर्थिक मन्दी रहेको उनले सुनाए । गौशालामै भाडा लिएर बसेका रेग्मी पसल छोडेपछि भक्तपुर पुगेका छन् । करिब एक महिनादेखि उनी गोदामको भाडा तिरेर बसिरहेका छन् ।

‘व्यवसाय सञ्चालनका लागि लिएको बैंकको ८ लाख रुपैयाँ ऋण थियो, व्यापार नभएपछि भाडा तिर्न पनि छुट्टै ऋण लिनुपर्ने अवस्था आयो । त्यही कारण पसल बेच्न खोजें । तर सामानसहित पसल किन्ने कोही भेटिएनन्,’ उनले भने, ‘कोभिडपछि कम भएको व्यापारमा आर्थिक मन्दीले उठीबास लगाएको छ ।’

रेग्मी प्रतिनिधि पात्र मात्रै हुन्, पछिल्लो समय धेरै व्यवसायी सुस्त आर्थिक गतिविधिको चपेटामा छन् । ०७२ को भूकम्प र अघोषित भारतीय नाकाबन्दीबाट रिकभर भएका उनीहरू ०७६ चैतदेखि कोभिड, रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय बजारमा देखिएको महँगी र महँगो बैंक ब्याजदरका कारण समस्यामा छन् । मुलुक आयातमै निर्भर हुँदा धेरैजसो वस्तु महँगिएका छन् । जसले गर्दा व्यापार व्यवसाय सुस्त छ । आर्थिक गतिविधि सुस्त छ । त्यसैले सटर भाडा तिर्न सक्ने अवस्थामा नरहेको उनीहरू गुनासो गर्छन् । फलस्वरूप व्यवसायी सटर बन्द गरेर विदेश पलायन हुन थालेको व्यवसायी बताउँछन् । ‘ग्रिल तथा स्टिलमा स्वरोजगार बढी छन् । व्यवसाय चलाउन नसकेर १ सय २२ जनाले अनुभव पत्र लिएर पेसा छाडेका छन् । खर्च, परिवार पाल्न नसकेपछि खाडी मुलुक जान बाध्य छन्, खाडीबाट फर्केर आएपछि यहाँ व्यवसाय गरे । तर, बाध्य भएर फेरि विदेशिएका छन्,’ ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले भने, ‘कतिपय साथी तरकारी र किराना पसलतिर लागेका छन् । पेसाबाट पलायन भएका छन् ।’

बजारमा पैसा नहुनु र बैंकले ऋण नदिँदा पनि समस्या भएको उनको भनाइ छ । पछिल्लो समय काठमाडौं महानगरपालिकाले अस्थायी टहरो निर्माणमा पनि कडाइ गरेकै कारण पनि कतिपय पलायन भएको महासंघको दाबी छ । ‘विगतमा कर्मचारी पाउनै मुस्किल हुन्थ्यो, अहिले छ्यापछ्याप्ती पाइन्छ । तर, व्यापार छैन । सबैतिर सटर खाली भइरहेको छ,’ उनले भने ।

नयाँ बानेश्वर व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेलको भनाइ पनि उस्तै छ । संघका सदस्यमध्ये २५ देखि ३० प्रतिशतले सटर बन्द गरेको उनले बताए । त्यसमा ५० प्रतिशत विदेश पलायन भएको उनको भनाइ छ । ‘संघमा १५ सय सदस्य छन् । धेरैजसो पसल बिक्री गर्ने मनसायमा छन्,’ उनले भने, ‘मन्दीका कारण भाडा बुझाउन सक्ने अवस्था छैन ।’ बानेश्वर क्षेत्रमा औसत भाडा दर ६० देखि ७० हजार रुपैयाँ छ । मुख्य–मुख्य व्यापारिक केन्द्रमा डेढ लाखभन्दा बढी पर्छ ।

भाडा दर अचाक्ली महँगो हुँदा थप पीडा भएको उनीहरू सुनाउँछन् । ‘व्यापार चल्दा/बजार चलायमान हुँदा भाडा तिर्न समस्या थिएन । तर असारपछि समस्या देखिएको छ, व्यवसायीमा नैराश्य देखिएको छ,’ अध्यक्ष लुइँटेलले भने, ‘कतिपय साथीले सटर बन्द गरेर सामान घरमा राखेका छन् । उधारो भएको ठाउँमा सामान नै छाडिदिने गरेका छन् ।’

मुलुकभर करिब ३५ प्रतिशत व्यवसायीले सटर खाली गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । उपत्यकाकै हकमा पनि १५ देखि २० प्रतिशतले सटर खाली गरेको महासंघका निवर्तमान अध्यक्ष नरेश कटुवालले बताए ।

‘महासंघअन्तर्गत ३३/३४ वटा संगठन छन्, तिनमा करिब २० हजार सदस्य छन् । यी सबै व्यवसायी मन्दीमा छन्, जसले गर्दा बाध्य भएर सटर खाली गरिरहेका छन्,’ कटुवालले भने, ‘कोभिडकै कारण व्यवसायी समस्यामा परे । तर राज्यले सही नीति ल्याएन, संरक्षण गरेन ।’

नेपाल राष्ट्र बैंकले पनि नियमनकारी भूमिका निर्वाह नगर्दा व्यवसायी संकटमा परेको कटुवालको तर्क छ । ‘बैंकले मनोमानी ब्याजदर बढाउन हस्तक्षेप भएन । सटर भाडा पनि मनोमानी असुली भइरहेको छ, वैज्ञानिक भाडा दर लागू गरिएको छैन । प्रत्येक वर्ष १० प्रतिशतले भाडा दर बढाइन्छ,’ उनले भने, ‘यही कारण नयाँ व्यवसायी पलाएन हुने क्रम बढेको हो । पुराना व्यवसायी पनि हतोत्साहित छन् ।’

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम संघमा आबद्ध व्यवसायीले एक महिनादेखि सटर बन्द गर्न थालेको बताउँछन् । ‘संघमा २ हजारभन्दा बढी सदस्य छन्, २० देखि ३० सटर बन्द भइसके । नयाँ खुलेका पसल पनि केही दिनमै बन्द हुने अवस्थामा छन्,’ अध्यक्ष गौतमले भने, ‘उपत्यकाबाहिर पनि वर्षौंदेखि चलिरहेका पसल बन्द हुने क्रम बढेको छ ।’ सरकारले कर्फ्यु लगाएका बेला पसल खोल्दा हुने जस्तो चहलपहल रहेको गौतमको भनाइ छ । ‘बिहान चाबी बोकेर आयो, पसल खोल्यो, राति त्यसरी नै फर्केर जानुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘ग्राहक नआउने र कहिलेकाहीँ बोहनी पनि नहुने अवस्था छ ।’ मन्दी र चर्को बैंक ब्याजकै कारण घरबेटीलाई भाडा तिर्न नसक्ने, पसल बन्द गरेर घरबेटीलाई चाबी बुझाउने, पसल छोडेर भाग्नेजस्ता प्रवृत्ति देखापरेको व्यवसायी बताउँछन् ।

भक्तपुर रेडिमेड व्यापार संघसँग आबद्ध २२ जनाले सटर छाडेको बताइएको छ । संघमा २ सय ८० जना सदस्य रहेको संघका अध्यक्ष राजेन्द्रकुमार प्रजापतिले जनाए । ‘व्यापार व्यवसाय एकदमै धराशायी अवस्थामा पुगेर पसल छाड्नेदेखि बिक्री गर्ने क्रममा बढेको छ । २० वटा पसल बिक्रीमा छन्,’ उनले भने ।

बत्तिसपुतली गौशाला व्यापार व्यवसायी संघले पनि पछिल्लो समय १० जना व्यवसायीले सटर खाली गरेको जनाएको छ । पसल खाली गर्नेमा नयाँ–पुराना सबै व्यवसायी रहेको संघका अध्यक्ष शेखरचन्द्र राईले बताए । रञ्जना व्यापार संघका अध्यक्ष बिना श्रेष्ठले पनि एक महिनाअघि १५ वटासम्म सटर खाली रहेकामा अहिले छाड्ने, आउने क्रम जारी रहेको बताइन् । ‘रञ्जना व्यापार संघमा ४ सय २७ भन्दा बढी व्यवसायी आबद्ध छन् । अलिअलि सटर बन्द हुन थालेका छन्,’ उनले भनिन्, ‘एक महिनाअघि १५ वटासम्म सटर खाली थिए । अहिले छोड्ने, आउने क्रम जारी छ । जहाँ पनि टु–लेट भन्ने बोर्ड देखिरहेका छौं ।’

आर्थिक गतिविधि सुस्त भएकै कारण सबैजसो क्षेत्रमा एउटै समस्या देखिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको भनाइ छ । सबै क्षेत्रको व्यापार व्यवसायको आकार घटेको र कारोबार घटेकै कारण भाडा तिर्न धौधौ हुने अवस्थामा पुगेको उनले जनाए । ‘तथ्यांक नभए पनि एकाध रूपमा सटर बन्द भएकै छन् । अर्थतन्त्र नकारात्मक भएका कारण यस्तो अवस्था आएको हो । भूकम्पबाट तंग्रिएपछि कोभिड सुरु भयो । कोभिडकै कारण अन्तर्राष्ट्रिय बजारमा महँगी बढ्यो,’ अध्यक्ष मल्लले भने, ‘त्यसमाथि बैंकको ब्याजदर महँगो छ, आर्थिक गतिविधि सुस्त हुँदा झन् चैतर्फी समस्या देखियो । कोभिडको असर अहिले बजारमा व्यापार देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...