क्रिकेटको सान
क्रिकेटको सान

गत चैत २ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको माहोल नै बेग्लै थियो। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आईसीसी विश्वकप क्रिकेट लिग टुको अन्तिम खेलमा घरेलु टोली नेपाललाई समर्थन गर्न २० हजारभन्दा बढी दर्शक झुम्मिएका थिए।


उनीहरूले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानभित्र मात्रै होइन, वरपरका रूखमा चढेरसमेत नेपालको समर्थन गरेका थिए, क्रिकेटको मज्जा लिएका थिए। घरेलु मैदानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग टुको अन्तिम खेलमा नेपालले २० हजारभन्दा बढी घरेलु समर्थकमाझ ऐतिहासिक जितको खुसी साटेका थिए।

यूएईलाई डकवर्थ लेविस नियमका आधारमा नौ रनले पराजित गर्दै नेपालले आगामी जुन/जुलाईमा जिम्बावेमा हुने ग्लोबल छनोटको यात्रा तय गरेको समाचारले भन्दा पनि समर्थकको भीड र रूखको टुप्पामा बसेर खेल हेरेको समाचारले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा कमाएको थियो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि निकै प्राथमिकताका साथ यो समाचारलाई स्थान दिएका थिए। सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को एसोसिएट सदस्यता पाएको नेपाली क्रिकेटले यति धेरै चर्चा कमाएको पहिलोपटक हो। संसारभर चर्चा कमाएपछि त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका विषयले पनि त्यति बेला खुबै चर्चा पाएको थियो। खेल हेर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि मैदानमा फ्ल्र्ड लाइट जडानका लागि निर्देशन दिएका थिए।

आईसीसी विश्वकप क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये नेपालले ११ खेलमा जित निकालेको थियो। त्यसमा पनि आठ खेल घरेलु मैदानमै भएको थियो। नेपालले घरेलु मैदानमा भएका आठवटै खेलमा जित निकालेको थियो।

सन् २०२३ को क्रिकेट विश्वकपको ग्लोबल छनोटको यात्रा तय गर्नुका साथै सन् २०२७ सम्म एकदिवसीय राष्ट्रको मान्यता जोगाएपछि नेपाली क्रिकेटको चर्चा चुलिएको हो।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द आईसीसी विश्वकप लिग टुअन्तर्गत नामिबियामा भएको शृंखलामा पराजय बेहोरेपछि नेपाली क्रिकेट समर्थकमा निराशा छाएको र खेलाडीमा पनि आफ्नो भविष्यलाई लिएर चिन्ता बढेका बेला प्राप्त सफलताले नेपाली क्रिकेटको खुसीको सञ्चार गरेको बताउँछन्।

‘नामिबियामा पराजय बेहोरेपछि नेपाली क्रिकेटको भविष्य नै अनिश्चयतर्फ उन्मुख थियो। त्यही बेला हामीले मोन्टी देसाईलाई प्रशिक्षकमा नियुक्त गर्न सफल भयौं। उनी नेपाली क्रिकेटको उद्धारकर्ता बनेर आउनुभयो। खेलाडीलाई उत्साहको जादु नै भरिदिनुभयो’, अध्यक्ष चन्द भन्छन्, ‘उहाँकै नेतृत्वमा नेपालले १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्रै जोगाएन, विश्वकप क्वालिफायरमा पनि स्वतः छनोट भयो।’

प्रशिक्षक देसाईले भने सबैले आफ्नो भूमिका निर्वाह गरेकाले त्यो उपलब्धि सम्भव भएको बताउँदै आएका छन्। ‘यो सफलता र उपलब्धि हामी सबैले आ–आफ्नो स्थानबाट निर्वाह गरेको भूमिकाको उपज नै हो’, प्रशिक्षक देसाई भन्छन्, ‘यो टिमलाई अझै विकास गर्नुपर्नेछ। युवा खेलाडीले धेरै मेहनत गरिरहेका छन्। उनीहरूलाई समर्थन गरिरहनुहोस्। मैले यो टिमबाट धेरै ठूलो सम्भावना देखेको छु।’

आईसीसी विश्वकप लिग टुको २४ खेल खेलिसक्दा नेपालले आठ खेलमा मात्रै जित हात पारेको थियो। नेपाल छैटौं स्थानबाट माथि उक्लन सकेको थिएन। अझ तत्कालीन कप्तान सन्दीप लामिछाने जबरजस्ती करणीको आरोपमा पक्राउ परेपछि मैदानभित्र र बाहिर नेपाली क्रिकेटले आफ्नो साखै गुमाउन पुगेको थियो। त्यसमाथि भारतीय कम्पनीको सहयोगमा क्यान आफैंले सञ्चालन गरेको नेपाल टीट्वेन्टी लिग विवादको धेरामा तानियो।

लिगमा सहभागी विदेशी खेलाडीको श्रम स्वीकृति, पारिश्रमिक र स्पष्ट तथा म्याच फिक्सिङका घटनाले पहिलो संस्करणको नेपाल टीट्वेन्टी लिग विवादास्पद बन्न पुग्यो। स्पट तथा म्याच फिक्सिङमा दुई खेलाडी पक्राउ पर्नुका साथै रणनीतिक साझेदार भारतीय कम्पनीका प्रतिनिधि बेपत्ता भएपछि क्यानभित्र पनि तीव्र असन्तुष्टि बढेको थियो।

यस्तो अवस्थामा नेपाली क्रिकेटले नपत्याउने खालको खुसी दिएको थियो। ‘नेपाल टीट्वेन्टी लिगको विवादसँगै नेपालले एकदिवसीय मान्यता जोगाउला भन्नेमा सबैलाई शंका थियो। शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा चयन होला भनेर कसैले सोचेकै थिएनन्।

नेपालले एकदिवसीय मान्यता जोगाउन १२ खेलमध्ये नौ खेल जित्नैपर्ने थियो भने शीर्ष तीनमा रहन ११ खेल जित्नैपर्ने बाध्यता थियो’, अध्यक्ष चन्द भन्छन्, ‘यस्तो अवस्थामा अपेक्षा गरेको बेला प्राप्त सफलताभन्दा अपेक्षा नै नगरेको बेला प्राप्त सफलताले अपार खुसी दिने रहेछ। यस्तै खुसी नेपाली क्रिकेटले दिइरहेको छ।’

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय एरिनामा ऐतिहासिक सफलता हात पारेको यो पहिलोपटक होइन, यसअघि पनि नेपाली क्रिकेटले थुप्रैपटक ऐतिहासिक सफलता हासिल गरिसकेको छ। यही वर्ष नेपाल दोस्रो पटक यू–१९ विश्वकपमा छनोट भएको थियो। घरेलु टोली यूएईलाई सात रनले हराउँदै आठ वर्षपछि उमेर समूहको विश्वकपमा छनोट भएको हो।
यसअघि सन् २०१६ मा नेपालले पहिलो पटक यू–१९ विश्वकप खेलेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट राष्ट्र नेपालले सन् २०१४ मा टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गरेको थियो। सन् २०१८ मा पहिलोपटक एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले यही वर्ष टीट्वेन्टी राष्ट्रको सदस्यता पाएको थियो।

आत्मविश्वासी प्रशिक्षक/गर्विला कप्तान

राष्ट्रिय टोलीमा पछिल्लो समय आइपरेका विभिन्न दृश्य–परिदृश्यको नतिजाले नेपाली टोलीको कप्तानको जिम्मेवारी रोहितकुमार पौडेलको काँधमा आइपर्‍यो।

पहिलो कदममै नेपाललाई ऐतिहासिक यात्रा तय गराएका रोहित यो जस आफू मात्रै लिन चाहँदैनन्। ‘यो हामी सबैको मेहनतको प्रतिफल हो’, रोहितले भन्छन्, ‘टोलीको नेतृत्व सम्हालेदेखि नै प्रशिक्षकले सबै कुराको व्यवस्थापन गर्नुभयो। देसाई आएपछि नै नयाँ ‘मोमेन्टम’ आयो।’

क्यान अध्यक्ष चन्द पनि प्रशिक्षक देसाईले खेलाडीलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन्। ‘उहाँको ‘ह्यापी ड्रेसिङ रुम’कै कारण नेपाली क्रिकेटले लगातार सफलता चुम्दै आएको छ। उहाँको अठोट, आँट, भरोसा र विश्वासलाई खेलाडीले पनि कुशलतापूर्वक निभाएका छन्’, अध्यक्ष चन्द भन्छन्, ‘प्रशिक्षकको मागहरूलाई पनि हामीले सकेसम्म कार्यान्वयन गरेका छौं। खेलाडी र प्रशिक्षक खुसी भएकै कारण लगातार राम्रो नतिजा आइरहेको छ। हाम्रा अधिकांश खेलाडी युवा छन्। उनीहरूको जोस, जाँगर र उत्साह अनि समर्थकहरूको साथ र सहयोगले नेपालले यो सफलता हासिल गर्न भएको छ।’

उनी सरकारले पनि खेलाडीको प्रोत्साहनका लागि नीतिगत रूपमा काम गर्नुपर्ने बताउँछन्। ‘आईसीसी विश्वकप लिग टुमा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई सरकारले पनि सम्मान गरेको छ’, उनी भन्छन्, ‘यस्ता सम्मान र पुरस्कारले नै खेलाडीको मनोबल उच्च बनाउन मद्दत गर्दछ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...