— इन्टर मिलानले बुधबार एसी मिलानमाथि २–० को प्रभावशाली जित निकाल्दै युरोपेली च्याम्पियन्स लिगको फाइनलनजिक पुगेको छ । सानसिरोमा भएको सेमिफाइनल पहिलो लेगमा प्राप्त यस जितपछि इन्टर बलियो स्थितिमा रह्यो ।
खेलको सुरुमै एडिन जेको र हेनरिख मखाटरेनले गोल गरे । सिमोन इन्जाघीको इन्टर जितका लागि पूरा हकदार रहेको थियो र उसको जित अन्तर अझ बढी हुन सक्ने स्थिति पनि थियो ।
अब मंगलबार दोस्रो लेगको सेमिफाइनल हुनेछ । अर्को सेमिफाइनलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी छन् । उनीहरूबीचको पहिलो लेगको खेल १–१ को बराबरीमा छ ।