मड्रिड — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताएका छन् ।
रुस र युक्रेनका नेताहरूले दोस्रो विश्वयुद्ध अन्त्यको अवसरमा आयोजित कार्यक्रममा विजय हासिल गर्न
आह्वान गरिरहेका बेला उनको यो भनाइ आएको हो । स्पेनी दैनिक एल पाइसलाई दिएको अन्तर्वार्तामा संयुक्त राष्ट्रसंघका प्रमुखले भने, ‘दुई पक्षहरू यस युद्धमा पूर्ण रूपमा लीन छन् र उनीहरू युद्ध जित्न सकिन्छ भन्नेमा विश्वस्त छन् ।’
भविष्यमा रुस र युक्रेनलाई वार्ताको टेबलमा ल्याउन सम्भव भए पनि तत्काल कुनै पक्ष यसका लागि तयार नदेखिएको उनले बताए । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको रेड स्क्वायर भिक्ट्री डे परेडमा विश्व ‘टर्निङ प्वाइन्ट’मा रहेको र रुसविरुद्ध ‘युद्ध’ सुरु भएको दाबी गरेका थिए ।
त्यसको अघिल्लो दिन युक्रेनका राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीले नाजीवादलाई परास्त गरेझैं रुसी सेनालाई पनि परास्त गरिने बताएका थिए । युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न चीनले दबाब दिइरहेका बेला चिनियाँ विदेशमन्त्री किन ग्याङले यसै साता युरोपको भ्रमण गर्ने घोषणा गरेका छन् ।