काठमाडौँ — उत्पादन लागत बढी र नाफा कम भएको बहानामा डेरी उद्योगीहरूले गुणस्तर घटाएर बजारमा दूध पठाउन थालेका छन् । दुग्ध उत्पादक सहकारी र संकलनकर्ताले डेरी उद्योगबाट बढी रकम असुलेपछि डेरीले गुणस्तरमै सम्झौता गरेर बजारमा पठाउन थालेका हुन् ।
धेरै दूध उत्पादन हुने क्षेत्रमा बढी बार्गेनिङ हुने गरेको डेरी उद्योगी बताउँछन् । संकलनकर्ता/दुग्ध उत्पादक सहकारीले किसानबाट सस्तोमा किनेर डेरीलाई प्रतिलिटर ८० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । संकलनकर्ता/सहकारीले उच्च मूल्य राखेपछि डेरीहरूले पनि कम गुणस्तरको दूध पठाउन थालेको डेरी उद्योग संघका एक अधिकारीले जनाए ।
‘सरकारले ०७९ फागुन १९ मा कच्चा दूधको समर्थन मूल्य ४ फ्याट र ८ एसएनएफका आधारमा ६५ रुपैयाँ तोक्यो । तर धेरै ठाउँका संकलनकर्ता/दुग्ध उत्पादक सहकारीले डेरीलाई ८० रुपैयाँसम्म बेच्छन् । सहकारीले तोकेको मूल्य नदिए दूध पाइँदैन असुल्छन्,’ डेरी उद्योग संघका ती अधिकारीले भने, ‘संकलनकर्ताबाट ढुवानी खर्च, प्रशोधन, बुथम्यान र डिलर कमिसन, र्यापिङ खर्च सबै जोड्दा एक लिटरको खर्च एक सय रुपैयाँ हाराहारी पुग्छ । डेरी उद्योगी पनि बाँच्नैपर्यो । त्यही कारण धेरैजसो उद्योगले फ्याट घटाएर बिक्री गर्ने गरेका हुन् ।’
डेरी उद्योगको भाषामा १ फ्याट बराबर १० लाइन मानिन्छ । सरकारी नियमले एक/डेढ लाइन कम भए पनि कारबाहीको दायरामा पर्दैन । तर उद्योगीहरूले त्यसको फाइदा उठाउँदै २/३ लाइन घटाएर बेच्न थालेको ती अधिकारीको भनाइ छ । ‘एक लिटर दूधमा ढुवानी खर्च, सेल्सम्यान, बुथम्यान र डिलर खर्चमा करिब १० रुपैयाँ लाग्छ । प्रशोधन खर्च १० रुपैयाँ र र्यापिङमा करिब २ रुपैयाँ खर्च हुन्छ, यीबाहेक संकलन नोक्सानी करिब ३ प्रतिशत हुन्छ,’ ती अधिकारीले भने, ‘संघले एमआरपी मूल्य नै एक सय रुपैयाँ राखेको छ । यो मूल्यले नोक्सानमै छौं, त्यही भएर गुणस्तर घटाएर बेच्न बाध्य हुन्छौं ।’
डेरी एसोसिएसनसँग आबद्ध एक उद्योगीले पनि गुणस्तरमा केही कम्प्रोमाइज भइरहेको स्विकारे । ‘पछिल्लो समय लागत पनि बढ्यो, अस्वस्थ प्रतिस्पर्धाकै कारण सहकारीबाट प्रतिलिटर ७५ देखि ८० रुपैयाँसम्ममा किन्नुपर्छ । बढी संकलन हुने क्षेत्रमा बार्गेनिङ बढी हुन्छ,’ ती उद्योगीले भने, ‘एमआरपी मूल्यमा बेच्दा पनि नोक्सानै हुन्छौं, घाटा पूर्ति गर्न केही विकल्प सोच्नैपर्छ ।’ दूधको घाटा दही, पनिर, चिजलगायत प्रडक्टबाट पूर्ति भएको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालको दाबी छ । ‘दूध बिक्रीमा नोक्सानै छ । केही डेरीले फ्याट घटाएर बदमासी गरेका होलान्,’ उनले भने, ‘तर घाटा पूर्ति दूधबाट बन्ने अन्य प्रडक्टबाट हुन्छ ।’
कान्तिपुरलाई प्राप्त केही सहकारीको पत्रअनुसार दुग्ध उत्पादन सहकारीले प्रतिलिटर ८० रुपैयाँसम्म भाउ राखेका छन् । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले प्रतिलिटर ७६ रुपैयाँमा बेच्दै आएको छ । उसले ढुवानी, संघ व्यवस्थापन र संस्था सञ्चालन खर्च जोडेर उक्त मूल्य निर्धारण गरेको जनाएको छ ।
नवलपुर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले प्रतिलिटर ७० रुपैयाँमा बेच्दै आएको छ । स्थानीय बिक्री मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरेको छ । बाराको बागदेव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले प्रतिलिटर ७५ रुपैयाँ तोकेको छ । उसले प्रवर्द्धन खर्च ३ रुपैयाँ २० पैसा, संस्था सञ्चालन खर्च ४ रुपैयाँ ०.२ पैसा जोडेर डेरीलाई बिक्री गरेको छ । चितवनको अमृतधारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले भने प्रतिलिटर ८० रुपैयाँमा दूध बेच्दै आएको छ । सहकारीले अचाक्ली मूल्य असुलेपछि डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले संयुक्त रूपमा निर्णय गरेर सहकारीको व्यवस्थापन खर्च ४ रुपैयाँ र थप आवश्यक भए ४ रुपैयाँ थपेर प्रतिलिटर ७३ रुपैयाँभन्दा माथि नजाने निर्णय गरेका छन् ।
प्रतिस्पर्धाकै कारण उद्योगीले किसानलाई बढी पैसा दिएको केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले जनाए । ‘राज्यले एउटा मूल्य निर्धारण गरे पनि उद्योगीले दूध किन्न आफैं मूल्य बढी दिएका छन् । उद्योगी र सहकारी मिलेर एउटा मूल्य निर्धारण गर्छन्,’ महासचिव आचार्यले भने, ‘संघले मूल्य निर्धारण गर्दैन ।’
यता, कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने फ्याट परीक्षण प्राविधिक विषय भएकाले किसान सधैं ठगिएको दाबी गरे । सहकारी र डेरीले अचाक्ली मूल्य लिए पनि किसानले सोही मूल्य नपाएको उनको गुनासो छ ।
‘प्राविधिक विषयमा किसान जानकार हुँदैनन् । किसानलाई उचित मूल्य नदिने सहकारीले डेरीबाट मनलाग्दी असुल्छन् । उद्योगीले पनि अनेक खेलोमेला गर्छन्,’ उनले भने, ‘मारमा पर्ने भनेको किसान र उपभोक्ता हुन् ।’ किसानको पैसामा सहकारी र डेरीले लगानी गर्छन् । किसानले पाउनुपर्ने २/३ महिनाको पैसा सहकारी र डेरीले चलाउने गरेको महासंघले जनाएको छ । ‘वैशाखमा बिक्री गरिएको दूधको पैसा साउनसम्म किसानको हात पर्दैन, त्यो पैसा अनेक बहानामा सहकारी र डेरी उद्योगीले चलाएका हुन्छन्,’ संस्थापक अध्यक्ष अधिकारीले भने ।
अनौपचारिक क्षेत्रको झन् मनोमानी
मुलुकमा कुल उत्पादन हुने दूधमध्ये ३३ प्रतिशत अनौपचारिक क्षेत्रमा बिक्री हुने गरेको डेरी उद्योग संघको भनाइ छ । यस क्षेत्रमा झनै मनोमानी भइरहेको जानकारहरू बताउँछन् । अनौपचारिक क्षेत्रकै कारण दूध बजारमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको संघले जनाएको छ ।
‘१७ प्रतिशत औपचारिक र ३३ प्रतिशत अनौपचारिक रूपमा बिक्री हुन्छ । अनौपचारिक क्षेत्रमा बिक्री हुने दूध प्रशोधन हुन्न,’ संघका अध्यक्ष दाहालले भने, ‘मूल्य पनि मनोमानी छ । प्रतिलिटर १ सय २५ रुपैयाँसम्मा बिक्री भइरहेको छ । तर, नियमन कसले गर्ने ?’
गुणस्तरको विषय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दै आएको छ । तर दूधलगायत क्षेत्रमा विभागले अनदेखा गरिरहेको जानकार बताउँछन् । ‘दूध क्षेत्र मात्रै होइन, खाद्य प्रविधिले कुनै क्षेत्रमा पनि अनुगमन गरेको छैन । बेला बखतमा गर्ने अनुगमन पनि झारा टार्ने किसिमको छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘स्वार्थमा हुने अनुगमनले बजार सुधार हुँदैन । उपभोक्ता सधैं मर्कामा परिरहन्छन् ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने दूध क्षेत्रमा अनुगमन भइरहेको दाबी गरे । अनौपचारिक खुला दूधको हकमा सबै क्षेत्रमा पुग्न सम्भव नभएको उनको भनाइ छ । ‘प्रशोधितको तुलनामा खुला दूधमा कोलिफर्मको सम्भावना रहन्छ नै । सरसफाइमा पनि निर्भर रहन्छ । दूषितको सम्भावना बढी भएकाले कच्चा दूधलाई उपभोक्ताले कम प्रयोग गरौं,’ महर्जनले भने, ‘दूध क्षेत्रमा अनुगमन भएकै छ । कच्चा दूधको हकमा सबै हेर्न सक्ने अवस्था पनि हुँदैन ।’