थोरै लगानी र योजनाले पुग्न सकिन्छ महिला फुटबलको विश्वकप, तर कसले गर्ने ?
थोरै लगानी र योजनाले पुग्न सकिन्छ महिला फुटबलको विश्वकप, तर कसले गर्ने ?

सुरु एन्फाबाट गरौं । अखिल नेपाल फुटबल संघ एन्फाको आपतकालीन बैठकले सोमबार चालू अर्थिक वर्षका लागि ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट परिमार्जन गरेको छ ।

आगामी जुलाई २० देखि अगस्ट २० सम्म अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने फिफा महिला विश्वकप २०२३ को टिकट खरिद गर्नेदेखि फिफा फर्वाड २.० को प्रोजेक्ट फण्डिङको बजेट अपरेसन शीर्षकमा रकमान्तरण गर्न फिफासँग अनुरोध गर्ने जस्ता निर्णयहरू भए ।

यस्तै, यू-१६ ए डिभिजन लिग आयोजना र स्थानीय सरकार तथा सरोकारवालाहरूसँगको सहकार्यमा न्यूनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लबहरूले सुरू गरेको एकेडेमीलाई निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ ।

यी २ निर्णयले खेलाडीहरूलाई एक्सपोजर, अनुभव, शारीरिक र मानसिक विकास, सीप निखार्ने अवसरका साथै सम्बन्धित फुटबलका निकायहरूलाई खेलाडी स्काउट गर्न मद्दत गर्नेछ ।

हामीले ठूलो गोल अन्तरले पराजित गर्दै आएको र फिफा वरियतामा १८५ औं स्थानमा रहेको भुटानले ‘युथ डेभलोपमेन्ट’का कार्यक्रमहरूमा पहिले नै लगानी गर्न सुरु गरिसकेको छ ।

यसको नतिजा केही हदसम्म हालै सम्पन्न भएको नेपाल, भुटान र लाओस सम्मिलित थ्री नेशन्स प्रधानमन्त्री कप र महिला ओलम्पिक एसिया छनौटमा देखाइसकेको छ ।

महिला फुटबलमा एन्फाको ‘मिसन फिफा महिला विश्वकप २०२७–२०३१‘

नेपालमा फुटबलमा आउने नयाँ पुस्ताका खेलाडीहरूको लागि कार्यक्रम नहुँदा भुटान भन्दा पनि पछाडि धकलिने अवस्था नआउला भन्न सकिन्न । यसको संकेत प्रष्ट रूपमा अहिले चलिरहेको ए-डिभिजन लिग र उमेर समूहले खेलिरहेका अन्तर्राष्ट्रिय प्रतियोगितामा देख्न सकिन्छ । यो अवस्थामा एन्फाका फुटबल सुधार्ने निर्णयहरू स्वागतयोग्य रहेका छन् । तर, यी निर्णय र योजनाहरू सधैं रहन्छन् भन्न सकिने आधारहरू कम छन् ।


दिपेश ढकाल
उदाहरणका लागि, हालै मात्र एन्फाले पूर्ण छात्रवृत्तिमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबको एकेडेमी र विद्यालयमा पढाइरहेका खेलाडीहरू २ वर्षदेखि शुल्क नतिर्दा निकालिनुपरेको थियो ।

५ वर्षको पूर्ण छात्रवृत्तिको आश्वासन दिँदै खेलाडीलाई बीचमै अलपत्र पारेको एन्फाको यी २ निर्णय पनि क्षणिक ‘वाह वाही’ का लागि मात्र हो कि भन्ने शंका सुरू भइसकेको छ । अझ विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा खोल्ने भनिएका एकेडेमीहरू कहिलेसम्म सञ्चालनमा आउने र त्यसको समय अवधि निर्धारण नगरिदिँदा एन्फासँग दूरगामी काम गर्ने कुनै रुची नभएको रूपमा बुझ्न सकिन्छ ।

एन्फाको बैठकले ‘मिसन फिफा महिला विश्वकप २०२७/२०३१’ नामाकरण गर्दै उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा समिति गठन गरेको छ । यो निर्णयले अहिले सामाजिक सञ्जालमा हाँसोको विषय बनिरहेको छ । महिला फुटबललाई पुरुषको तुलनामा नेपालमा मात्र होइन विश्वभरि नै कम पछ्याइने गरिन्छ । उदाहरणका लागि लगभग ७० दिन जतिमा आउन बाँकी रहेको फिफा महिला विश्वकप २०२३ को चर्चा शून्य नै छ । पुरुषको हुन्थ्यो त माहोल बेग्लै रहन्थ्यो ।

गत महिला साफको बंगलादेशविरुद्धको फाइनलमा करिब १६ हजार दर्शक रंगशाला आएर नेपाललाई समर्थन गरे । हालै सम्पन्न भियतनामविरुद्धको पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा त्यति संख्यामा दर्शक नभए पनि राम्रै उपस्थिति होला भन्ने अपेक्षा गरिएको थियो । तर, साफको फाइनल जतिकै महत्वपूर्ण २ खेलमा लगभग ६ हजार दर्शकले आगामी फिफा महिला विश्वकप खेल्ने टिमविरुद्ध उत्कृष्ट फुटबल हेरे ।

हुन त नेपाली पुरुषको थ्री नेशन्श प्रधानमन्त्री कप हेर्न पनि खासै दर्शकको उपस्थिति थिएन । दर्शकको असन्तोष, नेपाली फुटबलको खराब अवस्था र एन्फाको आर्थिक संकटका बीच यी कुराहरूलाई नजरअन्दाज गरेर एन्फाले २०२७ र २०३१ को फिफा महिला विश्वकप खेल्ने मिसन तर्कसंगत देखिँदैन ।

आवश्यकता एउटा रोडम्यापको

सपना देखेर लक्ष्यसम्म पुग्ने आश राख्नु त राम्रो हो । तर, सपना र लक्ष्यको दूरीबीच प्रकिया, नेतृत्वमा रहेका व्यक्तिहरूको नियत, काम र उपलब्धिका कुराहरू आउने गर्छन् । यसैबीच, गठन भएको समितिले २०२७–२०३१ मा हामीले कसरी र कुन कुन आधारले विश्वकप खेल्छौं भन्ने बारे एउटा विस्तृत रूपमा ‘रोडम्याप’ बनाउन जरुरी छ ।

विश्वकप खेल्ने कुरा गरिरहँदा त्यहाँ ग्रासरुट, ‘युथ डेभलोम्पेन्ट’ प्रोजेक्ट, घरेलु लिग, डिजिटल रूपान्तरण, पूर्वाधारजस्ता विषयहरू आउने गर्छन् । योसँगै हामीले रेफ्री र प्रशिक्षकको क्षमता विकास र उत्पादनमा पनि जोड दिनुपर्ने हुन्छ ।

अहिलेको अवस्थामा एन्फाले एकदमै छोटो समय अवधि तोकेर विश्वकप खेल्ने लक्ष्य राखेको छ । कुनै ठूलो लक्ष्य हात पार्न सानो सानो काम छुट्टाएर तोकिएको समय अवधि भित्र गर्नुपर्ने हुन्छ । एन्फाले रोडम्याप बनाउँदा १ वर्ष भित्र यो गर्छौं, २ वर्ष भित्र यी काम गर्छौं भनेर टाइमलाइन तोक्नुपर्छ । समय अवधि सकिएपछि के कस्ता काम भए त्यसको प्रगति विवरण पनि बुझाउनुपर्छ । तिनमा भएका कमीकमजोरी सुधार्दै अगाडिका योजना बन्नुपर्छ ।

भारतले ‘भिजन २०४७’ नामकरण गर्दै भारतको समग्र फुटबल विकासको लागि २०२३ देखि २०४७ सम्मको रोडम्याप निकालेको छ । यसमा विस्तृत रूपमा २०४७ सम्ममा के–के काम हुने र कस्ता उपलब्धि हुने भन्ने बारे उल्लेख गरिएको छ । प्रत्येक ६ वटा चरणमा ३ वर्षको अवधि राखिएको छ र २०२६ सम्ममा यी विषयहरूमा काम हुने र २०४७ सम्ममा भारतीय फुटबलको अवस्था यस्तो रहने भनेर दर्शाइएको छ ।

जस्तै, २०४७ सम्ममा भारतीय फुटबल एसियाको शीर्ष ४ र घरेलु लिगलाई शीर्ष ३ भित्र पार्न चाहन्छ । भारतीय फुटबलले पुरुष र महिला दुवैमा दक्षिण कोरियाका सन ह्युङ मिन र चीनकी वाङ सुआङ जस्तै विश्व चर्चित खेलाडी उत्पादन गर्न चाहन्छ । यी सबै कसरी सम्भव छ भन्ने कुरा रोडम्यापमा विस्तृत रूपमा सरल तरिकाले उल्लेख गरिएको छ ।

एन्फाले पनि यसैगरी रोडम्याप बनाएर दर्शकहरूलाई विश्वास दिलाउनु पर्छ । तर, आधारभूत कुरा विनै एन्फाले यत्रो ठूलो सपना देख्नु शंकास्पद रहेको छ । नेपाली फुटबललाई नयाँ उचाईमा लान्छु भन्दै गत असारमा नेतृत्व सम्हालेका पंकज विक्रम नेम्वाङले महिला राष्ट्रिय लिगको दोस्रो चरणका खेलहरू समेत सञ्चालन गर्न सकेनन् ।

नजिककासँग तुलना गरौं, परसम्म हेरौं

नेपाली महिला फुटबललाई यस्तो बनाउनुपर्छ भनेर युरोपका मुलुकहरूको तुलना गर्नुभन्दा हाम्रै छिमेकी देश भारत र बंगलादेशसँग तुलना गरे हुन्छ ।

नेपाली महिला फुटबल दक्षिण एसियाबाट कहिल्यै बाहिर जान सकेन । यो कुरा नेपालकी प्रोफोलिक स्ट्राइकर सावित्रा भण्डारी साम्बाले ओलम्पिक छनोटमा भियतनामविरुद्धको पहिलो खेलमा हारेपछि भनेकी थिइन् । साँच्चै एन्फाले बलियो टिमसँग फुटबल खेल्ने वातावरण नबनाइदिँदा खेलाडीहरूमा एक्सपोजर र अनुभवको कमी मैदानमा प्रष्ट देखिन्छ ।

त्यसैले हामीले अहिलेसम्म महिला साफ जित्न सकेका छैनौं । कमजोर घरेलु संरचना र ग्रासरुट कार्यक्रम विना एन्फाले यस्तो निर्णय गर्नु पदाधिकारीहरूको तलब बढाएको विषयमा खेपिरहेको आलोचना ढाकछोप गर्ने उद्देश्य मात्र हो ।

महिला विश्वकप नेपाली महिला राष्ट्रिय टोलीलाई ‘आकाशको फल’ नरहेको खेलाडीहरूले विभिन्न समयमा प्रमाणित गरिरहेका छन् । महिला फिफा वरीयतामा ३३औं स्थानमा रहेको भियतनामविरुद्धको खेल र केही खेलाडीहरूको क्षमताले हामीलाई झन ठूलो सपना देख्ने बनाइदिएको छ । दुई खेलमा सरु लिम्बु र अनिता केसीको मिडफिल्ड जोडी र सावित्रा भण्डारीको ‘एग्रेसिभ मुभ’ तारिफयोग्य थियो । यी खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र अन्यको ‘टिम वर्क’ ले नेपाली महिला फुटबलका कप्तान अन्जिला तुम्बापो सुब्बाको किपिङमा भएको त्रुटिसमेत भुलाइदिएको थियो ।

भियतनामविरुद्धको खेलमा मैदानमा एक्सपोजर र अनुभवको कमी धेरै नै देखिएको थियो । एक्सपोजर र अनुभवको कमी हुँदा खेलाडीमा आफूमाथि विश्वास कम हुनेगर्छ । जसले गर्दा बल निर्णयात्मक क्षमता कम हुन्छ र साधारण त्रुटि हुने गर्छन् । यसको उदाहरण थिइन् विमला विक । उनले डिफेन्स लाइनमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । तर, कुनै सजिला बललाई निर्णय गर्न नसक्दा क्लियर गर्न चुकिन् । जसले नेपालले बललाई आफ्नो नियन्त्रणमा राख्ने क्षमता गुमाउन पुग्यो ।

विदेशका क्लबमा नेपाली महिला फुटबल खेलाडीको नजर

नेपाली महिला खेलाडीको क्षमता देखेर अहिले भारतको राष्ट्रिय लिग खेल्ने क्लबहरू नेपाली खेलाडीहरूमा आँखा लगाइरहेका छन् । सावित्रा भण्डारी, अनिता बस्नेत, एन्जिला तुम्बापो सुब्बा, रेनुका नगरकोटी, सरु लिम्बु र रेखा पौडेल अहिले भारतीय राष्ट्रिय लिग खेलिरहेका छन् ।

साम्बाले ६ खेलमा ४ ह्याट्रिकसहित १९ गोल गर्दै लिगमा आफ्नो दबदबा राख्न सफल भएकी छन् । साथै, नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोल किप्पर एन्जिला सुब्बाले सेतु एफसीबाट ४ खेलमा ३ क्लिन सिट राख्दै सबै खेलमा आफ्नो टिमलाई जिताएकी छन् ।

सरुले किकस्टार्ट एफसीको मिडफिल्ड उत्कृष्ट रूपमा समालिरहेकी छन् । उनले अहिलेसम्म लिगमा ४ गोल गरिसकेकी छन् । यस्तै ओडिसा एफसीबाट ३ गोल गर्दै रेखा पौडेलले लिगमा राम्रो प्रदर्शन गरिरहेकी छन् । यी ६ जना खेलाडी पहिलो रोजाईमा परेर आफ्नो टिमको लागि महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

कमजोर घरेलु संरचना र ‘युथ डेभलपमेन्ट’ कार्यक्रम विना आफ्नै क्षमतामा नेपाली महिला खेलाडीले पटक पटक नेपालमा महिला फुटबलको सम्भावना देखाइरहेका छन् । गत कार्तिकमा भएको साफ महिला यू-१५ च्याम्पियनसिपमा नेपाल अपराजित हुँदै विजेता बनेको थियो । यी खेलाडीहरू अबको केही वर्षपछि राष्ट्रिय टोलीमा आउनेछन् । एन्फाले भने अनुसार २०३१ को विश्वकप खेलियो भने यी खेलाडीहरूले महत्वपूर्ण भूमिका खेल्नेछन् । एन्फाले एक्सपोजर र युवा लक्षित कार्यक्रम नगर्ने हो भने यी खेलाडी पनि साफ मै मात्र सीमित हुनुपर्नेछ ।

महिला फुटबलमा लगानी र नेतृत्वकर्ताको नियत राम्रो हुने हो भने महिला टिमले चाँडै नै अप्रत्याशित नतिजा निकाल्न सक्छ । तर, यहाँ कसलाई मतलब छ र ?

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...