जावलाखेल शीर्ष स्थानमा फर्कियो, प्रशिक्षक भन्छन्- ‘रेलिगेसनबाट बच्यौं’
जावलाखेल शीर्ष स्थानमा फर्कियो, प्रशिक्षक भन्छन्- ‘रेलिगेसनबाट बच्यौं’

काठमाडौं : कोटो मासोयाबीको दुई गोलप्रेरित जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार फ्रेन्ड्स क्लबलाई १–४ को नतिजामा पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।


च्यासल रंगशालामा भएको खेलमा हाबी बनेको जावलाखेलले २५औं मिनेटमा राहुल राहुलको गोलसँगै अग्रता लिएको थियो। फ्रेन्ड्सका बेन नाश क्वानसाले हेडरमार्फत बल क्लियर गर्न नसक्दा जावलाखेलले कर्नर पाएको थियो।

सोही कर्नरमार्फत अब्दुलअजिज निशोनबाएबले दिएको पासमा राहुलले हेडरमार्फत गोल गरेका थिए।

त्यसको ६ मिनेट नबित्दै मासोयाबीले हेडरमार्फत गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे। निशोनबाएबले नै दायाँतर्फबाट प्रहार गरेको फ्रि–किकमा पेनाल्टी एरिया भित्रबाट मासोयाबीले प्रहार गरेको हेडरमा फ्रेन्ड्सका गोलकिपर राजाबाबु थापा निरीह बने।

फ्रेन्ड्समाथि हाबी बनेको जावलाखेलले ६२औं मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्ने मौका पायो। फ्रेन्ड्सका एन्जल महर्जनले पेनाल्टी एरियामा बल ह्यान्ड गरेसँगै पाएको मौकाको सदुपयोग गर्दै मासोयाबीले टिमका लागि तेस्रो गोल गरे।

निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा श्यामबाबु क्याप्च्कीले फ्रेन्ड्सका लागि एक गोल फर्काएका थिए। एरोन थापाले गरेको प्रहार जावलाखेलका अनिष देउलाले ब्लक गरेका थिए। सोही रिबाउन्डमा रफिक अमिनुले गरेको प्रहार राहुललाई लागेर पेनाल्टी एरियाको रेखा नजिक पुगेको थियो।

सोही रिबाउन्ड बलमा श्यामबाबुले गरेको सशक्त प्रहार गोलमा परिणत भयो। यद्यपि, त्यसपछि पुनः फ्रेन्ड्सको पोस्टमा दबाब बनाएको जावलाखेलका लागि फोडे फोफानाले इन्जुरी समयमा गोल गर्दै १–४ को जित सुनिश्चित गरे। मासोयाबीले बक्स भित्रबाट दिएको पासमा भलीमार्फत फोफानाले उत्कृष्ट गोल गरेका थिए।

सुरुआतमा फ्रेन्ड्सले आक्रमण बुने पनि गोलमा परिणत गर्न सकेको थिएन। नवौं मिनेटमा प्रेमबहादुर भण्डारीले दिएको क्रसमा अमिनुले हेडरमार्फत गरेको प्रहारमा जावलाखेलका गोलकिपर अनिष बाधक बने।

त्यसको तीन मिनेट नबित्दै अमिनुले पुनः वान् भर्सेज वानको मौका सदुपयोग गर्न सकेनन्। उनले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार अनिषले विफल पारेका थिए।

टोरिच जेब्रिनले १५औं मिनेटमा गरेको प्रहार पोलमा लागेर फर्किँदा फ्रेन्ड्सले अग्रता लिने मौका गुमायो। त्यसअघि तेस्रो मिनेटमा सुनील खड्काले गरेको लामो प्रहार क्रसबार माथिबाट बाहिरिँदा जावलाखेल अग्रता लिन चुकेको थियो।

फ्रेन्ड्सका लक्ष्मण रुचालले १८औं मिनेटमा प्रहार गरेको फ्रि–किकमा एख्रोबेक उक्तामोभले हेडर प्रहार गरेका थिए। तर, जावलाखेलका कप्तान सिमान्थ थापाले गोललाइनबाट क्लियर गर्दा फ्रेन्ड्स दुर्भाग्यशाली साबित भयो।

प्रतिस्पर्धात्मक सुरुआत भएको दोस्रो हाफमा पनि जावलाखेलले सुन्दर मौका बनाएको थियो। तर, सुनील खड्काले ५१औं मिनेटमा गरेको प्रहार पोलमा लागेर फर्कियो।

त्यसको सात मिनेट नबित्दै फ्रेन्ड्सका अषिम भुसालले प्रहार गरेको फ्रि–किक क्रसबार नजिकबाट बाहिरिएको थियो। प्लेयर अफ दी म्याच घोषित भएका मासोयाबीले ७५औं मिनेटमा गरेको प्रहारमा फ्रेन्ड्सका गोलकिपर राजाबाबु बाधक बन्दा ह्याट्रिक गर्न सकेनन्।

जितसँगै जावलाखेल १७ खेलबाट ३० अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ। समान खेलबाट १९ अंक जोडेको फ्रेन्ड्स ११औं स्थानमा छ। खेलपछिको पत्रकार सम्मेलनमा जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले जावलाखेल रेलिगेसनबाट बचेको बताए।

‘आज खेल सबैले राम्रो खेल्यो। आज हामीले अब्दुलअजिज सेट पिसमा राम्रो भएकाले उसलाई प्रयोग गर्यौं,’ सुनीलले भने। अब्दुलअजिजले कर्नर र फ्रि–किकमार्फत दुई असिस्ट गरेका थिए।

जितसँगै लिग तालिकाको शीर्ष स्थानमा पुगे पनि जावलाखेल नहौसिएको प्रशिक्षक श्रेष्ठको संकेत थियो। ‘यसपाली हामी रेलिगेसनबाट बल्ल जोगियौं। किनभने, यसपाली लिगमा धेरै प्रतिस्पर्धा छ। कुन टिम कसरी कहाँ हुन्छ ? भन्ने अनुमान गर्न गाह्रो छ।’

प्रतिस्पर्धासँगै छोटो समयमा धेरै खेल हुँदा खेलाडीलाई आराम नपुगेको उनको गुनासो थियो। ‘खेलाडीलाई रेस्ट पुगेको थिएन, त्यसले गर्दा गाह्रो भइरहेको छ। घाइते खेलाडीलाई खेलाउनु परिरहेको छ,’ उनले भने, ‘रेलिगेसनबाट बचेपछि अब हाम्रो लक्ष्य अब शीर्ष चार हो। ​​​​​​​लिगमा अझै बाँकी ९ खेल भएको र यो लय कायम राख्ने जावलाखेलको लक्ष्य हुने उनले सुनाए।

‘अस्तिका दुई खेल राम्रो भएको भए सजिलो हुन्थ्यो। अझै अगाडि कठिन खेल बाँकी छन्, सहभागी भइसकेपछि एउटा राम्रो पोजिसन लिने भन्ने लक्ष्य सबैको हुन्छ नै,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...