गान्तोक — भारतको सिक्किममा जन्मेहुर्केका टीबी चन्द्र सुब्बा कुनै नेपालकै अनुसन्धाता र मानवशास्त्रीजत्तिकै नेपाली गाउँघरदेखि हिमाल–पहाडमा जातिगत अध्येता बनेर आउनेजाने गरेका छन् ।
विश्वकै मानव सभ्यता र त्यसमा पनि भारतीय उपमहाद्वीप क्षेत्रको जातीय इतिहास खोजबिन गर्ने क्रममा सुब्बाले १६४ जातजातिमाथिको सोध पूरा गरेका छन् भने नेपालका उनले नेपालका ७१ जिल्ला र भारतका २६ वटा राज्यको भ्रमणमा पुगेका छन् । नेपाली साहित्य परिषद्, गान्तोकमा उपाध्यक्ष रहिसकेका सुब्बाका कथा, कविता, जीवनीसहित १ दर्जन कृति प्रकाशित छन् ।
‘विश्वमा मानव सभ्यता, जातीय बृहत् इतिहास : संस्कृति र परम्परा’ नामको यो बृहत्तर कृति (पृष्ठ २६ सय)का लागि जुटेका सुब्बाले एउटै कृतिमा समाजशास्त्रदेखि मानवशास्त्रसम्मको इतिवृत्ति भर्न चाहेका छन् । ‘पहिले भारतमा नेपाली साहित्यको केन्द्र भनेर दार्जीलिङलाई चिन्ने गरिन्थ्यो, बरु अहिले भने सिक्किमले यो परिचय जितेको अवस्था छ,’गान्तोक, एमजी रोडमा भेटिएका सुब्बा भन्छन्, ‘विगतका मुख्यमन्त्री पवन चाम्लिङ र अहिलेका पीएस गोलेले पनि साहित्यिक प्रकाशनमा व्यवस्थित गृह खोलेर नेपालीसहितका भाषाभाषीलाई प्रवद्र्धन गरेको अवस्था छ ।’
अध्येता सुब्बाका बुझाइमा, झन्डै ३ सय वर्षअघि आजको नेपाल बनिनुअघिको बाइसे/चौबीसे राज्यहरूकै बेलादेखिका भाषाभाषी र जातजातिको खोजी हुनु जरुरी छ । ‘सिक्किम, गढवाल, कुमाउँदेखि अफगानिस्तानसम्मको मानचित्रमा नेपाल रहेको इतिहासलाई हामीले पाएका छौं, यही खोजबिनमा १६४ जातजातिमथिको सोधखोजको दायरा बनेको हो,’सुब्बाले भने । यो कृत्ति यसै वर्ष प्रकाशनमा ल्याउने दौडधुपमा उनी छन् ।
सुब्बाका अनुसार, भारतका २८ राज्यमध्ये २६ वटामा नेपालीको बसोबास छ । असम, मेघालय, मणिपुर, दार्जीलिङ, सिक्किम, उत्तराखण्डमा उल्लेख्य नेपालीभाषी रहेको तथ्यांक सुब्बाले बटुलेका छन् । केही महिनाअघि मात्रै सिक्किममा रहेका नेपालीभाषीलाई ‘आउटसाइडर’ भनेर बहस सुरु भएकोमा भाषासेवी सुब्बाले यसलाई केवल ‘प्रोपोगान्डा’ मानेका छन् । ‘नेपाली जाति मात्रै नभएर महाभाषी र महाजाति पनि हो । यसमा सबै जात र जातिको समावेशी चित्र छ,’उनी भन्छन्,‘हामीलाई बाहिरिया भन्नुमा ठूलो राजनीतिक षड्यन्त्र छ । यथार्थमा नेपालबाट कोही पनि आएको होइन, न नेपाल कोही गएको हो । नेपालको प्राचीन मानचित्र हेर्दाखेरि ढाकासम्म, अरुणाचल र असमसम्म, बिहार, गढवाल,कुमाउँ, जम्मू–कश्मीर, राजस्थान सबै नेपालको भूभाग थियो । योबेला के बाहिरिया, को बाहिरिया ?’
सुब्बाले आफ्नो अध्ययन भ्रमणमा सुर्खेत, दैलेख, गोरखा, सल्यानजस्ता जिल्लामा बढी समय बिताएका रहेछन् । ‘गोर्खामा सबैभन्दा बढी जातजातिसँग भेटघाट भयो, त्यहाँ झन्डै १५ वटा जातजातिको बसोबास पाएँ,’उनले सम्झिए । सिक्किमको कुरा गर्दा, बहुभाषीय–बहुजातीय पद्धतिमा राज्यले शिक्षण तथा पाठ्यक्रम तयार गरेको सुब्बाले सुनाए । उनका अनुसार, अहिले ११ जातजाति भाषा सिक्किमका विद्यालयमा पढाइ हुन थालेको छ । विगतमा भोटे, लिम्बू, नेपालीलाई मात्रै मान्यता रहेको सिक्किममा अहिले नेवारी, गुरुङ, राई, तामाङ, मगर, भुजेलजस्ता भाषालाई राज्यले मान्यता दिएपछि यी भाषा पनि पढाइसहित कामकाजी बन्न थालेको सुब्बाले बताए ।