— दक्षिण कोरियाको राजधानी सोलको जोगेशा गुम्बाअगाडि शनिबार झकिझकाउ थियो । साँझ थरीथरीका लालटिन बालेर मानिसहरूबीच सडकबाट लाइनबद्ध हिँडिरहेका थिए । विभिन्न खाले नाच प्रदर्शन भइरहेको थियो भने रथयात्रा पनि निकालिएको थियो ।
अरू बेला सवारीसाधनले व्यस्त हुने सडकको यो दृश्य कोरियाली बुद्धजयन्तीको अवसरको हो । यस अवसरमा बर्सेनि यहाँ ‘लोटस ल्यान्टर्न फेस्टिभल’ हुन्छ । फेस्टिभलमा विभिन्न देशका समूहहरू सहभागी थिए । जसले आ–आफ्नो देशमा प्रचलित बुद्धका आकृति प्रदर्शन गरेका थिए । फेस्टिभलमा कोरियाभरका बौद्ध दर्शनसँग सम्बन्धित संघसंस्था सहभागी थिए । यस्तै नेपाल, श्रीलंका, भियतनाम, थाइल्यान्ड, म्यानमारलगायत देशका समूह पनि फेस्टिभलमा आएका थिए ।
‘यो महोत्सव धार्मिकभन्दा पनि संस्कृतिका रूपमा बढी महत्त्वपूर्ण छ, सोलको यस्तो व्यस्त सडकमा हामी यसरी आनन्दले हिँडिरहेका छौं,’ दोंगुग विश्वविद्यालयमा पढ्ने किम ह्वाले भने । उनले भनेझैं यो कोरियालीका लागि सांस्कृतिक फेस्टिभल भएकैले बालबालिकादेखि पाका उमेरका मानिस सहभागी थिए ।
यस अवसरमा एक लाखभन्दा बढी लालटिन बालेर लाइनबद्ध मानिसले सहर परिक्रमा गर्ने चलन छ । कोरियाली बुद्धजयन्तीलाई यहाँ ‘बुछनिम ओसिननाल’ भनिन्छ । यस दिन बुद्ध पृथ्वीमा आएको विश्वास गरिन्छ । कोरोना महामारीका कारण सन् २०२०/२१ यो फेस्टिभल भएको थिएन । सन् २०१५ को जनगणनाअनुसार ७६ लाख कोरियाली बौद्ध धर्म मान्ने गर्छन् ।
कोरियाली बुद्ध जयन्तीमा सोलमा सार्वजनिक बिदा दिइन्छ, गुम्बा चैत्यमा पूजा गरिन्छ । सोलमा बर्सेनि ५ लाखभन्दा बढी मानिसहरू सहभागी भएर ‘लोटस ल्यान्टर्न फेस्टिभल’ मनाउने गर्छन् । अन्य देशका बौद्ध धर्मालम्बी पनि सहभागी हुने भएकाले यो ठूलो बौद्ध धार्मिक महोत्सव मानिन्छ ।
नेपालबाट पनि यो महोत्सवमा सहभागिता हुँदै आएको छ । नेपाल बौद्ध परिवार, सउल नेपाल गुम्बा र नागार्जुन गुम्बा फेस्टिभलमा सहभागी हुँदै आएका छन् ।