टर्कीमा एर्डोगान हराउन कहाँ चुके केमल ?
टर्कीमा एर्डोगान हराउन कहाँ चुके केमल ?

गत आइतबार र सोमबार मतगणना गरेपछि टर्कीको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको घोषणा गर्‍यो । यो निर्वाचनमा २० वर्षदेखि सत्तामा रहेका बहालवाला राष्ट्रपति रिसेप तइप एर्डोगानलाई हराउने प्रतिपक्षी दलको चाहनामा पहिलो चरणमा धक्का लाग्यो ।

एर्डोगानका प्रतिस्पर्धी केमल किलिस्डरोलु थिए । टर्कीको आर्थिक र राजनीतिक सुधारको एजेण्डा लिएर चुनावी मैदानमा गएका उनले ४४.९ प्रतिशत मत ल्याए भने एर्डोगानले ४९.५ प्रतिशत मत ल्याए । कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि मे २८ मा दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

८ करोड ५० लाख जनसंख्या रहेको टर्की यसपटकको निर्वाचनमा सबैभन्दा बढी विभाजित देखियो । एर्डोगानको नेतृत्वमा टर्कीले आर्थिक संकट व्यहोर्दा समेत लाखौँ टर्कीसले एर्डोगानलाई नै विश्वसनीय नेता मानेका छन् ।

सन् २००३ देखि सन् २०१४ सम्म प्रधानमन्त्री बनेका एर्डोगान सन् २०१४ देखि राष्ट्रपति बने । सन् १९९० देखि उनी टर्कीका मेयर थिए । सत्तामा रहँदा उनले टर्कीमा आर्थिक रुपान्तरण पनि गरेका थिए । आफ्नो पालामा मुलुकमा धेरै सफलता हात पारेका कारण उनी राष्ट्रवादी नेताका रूपमा परिचित छन् । उनले मुस्लिम समुदायको विश्वास आर्जन गरेका छन् भने एर्डोगानका युवा समर्थक अत्यधिक छन् ।


वर्तमान अवस्थामा टर्कीमा मुद्रास्फिति ५० प्रतिशतले बढेको छ । स्वदेशी मुद्रा लिराको भाउ डलरसँग दाँज्दा ७५ प्रतिशतले कमजोर बनेको छ । यो अवस्थामा पनि एर्डोगानले ब्याजदर बढाउने पहल गरेका छैनन् ।

प्रतिपक्षीले किन जित्न सकेन ?

केमलले एर्डोगानसँग कडा प्रतिस्पर्धा गरे । एर्डोगान अधिनायकवादी बनेको भन्दै टर्कीमा प्रजातान्त्रिक मूल्य मान्यता स्थापित गर्ने केमलको एजेण्डा थियो । उनले आर्थिक सुधारका एजेण्डा पनि अघि सारेका थिए । केमललगायत उनका समर्थकले एर्डोगानलाई अधिनायकवादीको आरोप लगाएका थिए ।

एर्डोगानको पालामा धेरै शान्तिपूर्ण आन्दोलनमा दमन भएका थिए भने स्वतन्त्र मिडिया बन्द गरिएको थियो । यी एजेण्डाका बाबजुद केमलको गठबन्धनमा आवद्ध ६ दलले उनलाई कमजोर बनाउन सकेनन् ।



यसका पछाडि धेरैवटा कारण छन् । उम्मेदवारका रूपमा उनी कमजोर रहेको र निर्वाचन अनुसन्धानकर्ताको गलत प्रतिवेदन, प्रतिपक्षीलाई रोक्न एर्डोगानका हर्कत र एर्डोगानकै लोकप्रियताका कारण केमल कमजोर देखिएको विश्लेषण भइरहेको छ ।

‘योग्यताका हिसाबले केमल कमजोर उम्मेदवार हुँदै होइनन् । तर उनले एर्डोगानका कमजोरीलाई सशक्त रूपमा उठान गर्न सकेनन्,’ निर्वाचन रणनीतिकार म्याक्रो भन्छन् । निर्वाचन अनुसन्धानकर्ताहरुको प्रतिवेदनबाट हौसिनु नै गलत भएको म्याक्रोको भनाइ छ । ‘अनुसन्धानकर्ताको प्रतिवेदनबाट हौसिएर कमजोर रणनीति बनाउनुको परिणाम हो यो निर्वाचन,’ उनले भने ।

केमलको पार्टी आधुनिक टर्कीका संस्थापक मुस्ताफा केमल आत्रुकले गरेका हुन् । त्यस पार्टीले धर्मनिरपेक्ष नेतृत्व विकास गर्न खोजे पनि इतिहासमा यस पार्टी मुस्लिमप्रति भने कठोर थियो । केमलको नेतृत्वमा यस पार्टीको नीति सुधार भएको हो । त्यसपछि इस्लामिक दलमा रहेकाहरू पनि यता आकर्षित भए ।

एर्डोगानको एके पार्टीसँग पटक–पटक हार व्यहोरेकाले पनि केमलको सीएचपीप्रति मतदाता धेरै आकर्षित नभएका हुन् । ६ दलीय गठबन्धन कुनै पनि बेला भत्किन सक्ने जोखिम पनि उत्तिकै रहेको मतदाताको भनाइ छ । यसले थप अस्थिरता निम्त्याउन सक्ने चिन्ता कतिपय मतदाताले गरेका छन् ।

प्रतिपक्षीको कमजोर प्रयत्न

हालैका वर्षमा एर्डोगानका कठोर आलोचक तथा स्तानबुलका मेयर समेत रहेका सीएचपीका एकरम इमोग्लु राष्ट्रपति हुने आशा धेरै मतदाताले राखेका थिए । तर सन् २०२२ को अन्त्यमा उनीमाथि तीन वर्ष जेल सजायँ सुनाइयो भने राजनीतिमा प्रतिबन्ध लगाइयो ।

समर्थकहरू एर्डोगानले इमोग्लुको राजनीति षडयन्त्रपूर्वक सिध्याएको बताउँछन् । धेरै पर्यवेक्षकहरूले टर्कीको सत्तामा एर्डोगानको जबर्जस्त पकड रहेकाले कसैले पनि उनलाई हल्लाउन नसक्ने बताउँछन् ।



सन् २०१८ मा राजनीतिककर्मी सेलिम सजकले लेखेका छन्, ‘एर्डोगानलाई सत्ताबाट हटाउने चाहाना सशक्त भए पनि प्रयत्न भने कमजोर भयो । एर्डोगानले सत्ताको दुरूपयोग गरेर प्रतिपक्षीलाई कमजोर बनाउँथे । सम्पूर्ण स्रोत साधनले सम्पन्न एर्डोगानलाई वैधानिक बाटोबाट सत्ताच्यूत गर्न प्रतिपक्षी दलको प्रयत्न केही कमजोर पनि रह्यो ।’

दोस्रो चरणको निर्वाचनमा पनि प्रतिपक्षीको सत्तारोहणको मौका कम नै रहेको पर्यवेक्षकहरूको मत छ । ‘मलाई लाग्दैन कि दोस्रो चरणमा प्रतिपक्षीले बाजी मार्नेछ,’ स्तम्भकार आर्दा टुन्सा भन्छन् । संसदीय निर्वाचनमा पनि एर्डोगानकै एके पार्टीले बहुमत ल्याएको छ । ‘राष्ट्रपतीय निर्वाचनमा प्रतिपक्षी दलको उम्मेदवार विजयी भए पनि उनलाई कमजोर बनाउन सक्ने शक्ति आफूसँग भएको भन्दै एर्डोगानले मतदातालाई विश्वस्त पार्नसक्ने ठाउँ छ,’ टुन्काले भने ।

यो परिस्थितिमा कमेलले ल्याएको ४४.९ प्रतिशत मत निकै सम्मानजनक रहेको राजनीतिशास्त्रका प्राध्यापक ओर्कन सिलक बताउँछन् । ‘प्रतिपक्षी दलले यस निर्वाचनमा महत्वपूर्ण उपलब्धि हासिल गरे पनि उसको नतिजा प्राप्ति अपर्याप्त भयो । तर प्रतिपक्षी दलको सम्पूर्ण प्रयत्न खेर गएको भन्न मिल्दैन’, उनले भने ।

टर्कीमा ४९ प्रतिशत मत आर्थिक संकटको पक्षमा युवाहरूले खसालेको भन्दै टिप्पणी पनि भइरहेको छ । हाल टर्कीमा लगानीमैत्री वातावरण नरहेको अवस्थामा केमलले लगानीमैत्री नीति अघि सारेका थिए ।

निर्वाचन परिणाम सार्वजनिक हुनेबित्तिकै टर्कीको सेयर बजारमा ६ प्रतिशतले गिरावट भयो भने इस्तानबुलको परिसूचकमा बैंकिङ क्षेत्रमा १० प्रतिशतले गिरावट आयो । ‘दुर्भाग्य ४९ प्रतिशत मतदाताले आर्थिक संकटको पक्षमा मतदान गरे । आगामी २ सातामा स्वेदशी मुद्रा निकै कमजोर स्थितिमा पुग्ने छ’, ह्यारिसले भने ।

टर्कीमा निर्वाचन विज्ञ कहाँ चुके ?

निर्वाचन विज्ञले राष्ट्रपतीय निर्वाचनको यस्तो परिणाम परिकल्पना गरेका थिएनन् । यसपटक राष्ट्रवादी, विकासविद्, इस्लामिक तथा समाजवादी प्रजातान्त्रिक धारका गठबन्धनले एर्डोगानलाई हटाउने उनीहरूको आकलन थियो । ६ दलीय गठबन्धनमा आवद्ध राजनीतिक दल र तीनका समर्थकले पनि एर्डोगान अघि हुने परिकल्पना नै गरेका थिएनन् । यसपटक एर्डोगानलाई हटाउने भने पनि निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ ।



निर्वाचनको समयमा धेरै मतसर्वेक्षण भएका थिए । धेरै सर्वेक्षण ट्वीटरमा केन्द्रित थिए । केमलका समर्थकहरूले एर्डोगानका कमजोरीप्रति त्यति धेरै ध्यानै दिएनन् । दुई दशकसम्म सत्तामा रहेका एर्डोगानले युवा शक्ति, मिडिया तथा राज्य संयन्त्रको भरपुर प्रयोग गर्ने स्थिति थियो । तर, केमलले पनि मिडियाको भरपुर प्रयोग गरे । भद्र शैलीका उनले स्वतन्त्र मिडियामार्फत आफ्नो पक्षमा माहौल सिर्जना गर्दै गए ।

एर्डोगानको दलले पनि केमलले यसपटक बलियो चुनौती दिनसक्ने आकलन गर्न भ्यायो । धेरै अखबार, पडकास्ट तथा टेलिभिजनले केमलले कडा चुनौती दने सामग्री सम्प्रेषण गरे । ती सामग्री र विचारले उल्टै सीएचपीलाई हानी गरेको विश्लेषकहरूको मत छ । सत्तामा रहनका लागि एर्डोगानले हरेक रणनीति बनाउन र कार्यान्वयन गर्न सक्ने नतिजाले देखाएको विश्लेषकहरूले बताएका छन् ।

टर्कीको निर्वाचन परिणामलाई अहिले विश्वले नै कुरिरहेको छ । तर विश्लेषकहरूका सर्वेक्षण र अभिव्यक्तिलाई अविश्वास गरिरहेको छ । विश्लेषकहरूले कुनै न कुनै धार समात्ने भएकाले उनीहरूप्रति अविश्वास बढेको हो । सर्वेक्षणहरूले केमललाई अग्रस्थानमा देखाए पनि नतिजाले भने त्यसलाई गलत साबित गरिदियो । यसले निर्वाचन अप्रत्यासित बन्दै गएको देखाउँछ ।

एर्डोगानले अझै पनि सत्ताको दुरूपयोग गरेर जित निकाल्न सक्ने सम्भावना रहेको बताइन्छ । चुनावमा निष्पक्षता र पारदर्शिता कम हुँदै गएको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन् ।

आर्थिक संकटबाट गुज्रिएको टर्कीमा एर्डोगानको लोकप्रियताको ग्राफ भने घटेको छैन । सत्तामा रहनका लागि उनले जस्तोसुकै रणनीति सफल गराउन सक्छन् भन्ने पनि निर्वाचनले प्रस्ट पारेको छ । दुई दशकदेखि सत्तामा रहेका एर्डोगानलाई दोस्रो चरणमा विपक्षीको चुनौतीको स्थिति प्रतिक्षारत छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...