मड्रिड : स्पेनिस डिफेन्डर जोडी अल्बाले जारी सिजनको समाप्तिसँगै बार्सिलोना छाड्ने भएका छन्। सन् २०१२ मा भ्यालेन्सियाबाट बार्सिलोना पुगेका अल्बाले ६ पटक ला लिगा, पाँच कोपा डेल रे र सन् २०१५ मा च्याम्पियन्स लिग जितेका छन्।
एक दशकभन्दा धेरै समय क्याम्प नोउमा बिताएका ३४ वर्षीय अल्बाले बार्सिलोनाबाट चार सय ५८ खेल खेलिसकेका छन्। तीमध्ये यसपाली बार्सिलोनाले ला लिगा जित्दा अल्बाले २९ खेल खेलेका छन्।
अल्बासँगै सर्जियो बुस्केटले पनि स्पेनिस क्लब छोड्ने निश्चित भइसकेको छ।
बार्सिलोनाले वेबसाइटमा वक्तव्य जारी गर्दै ‘बार्सिलोना परिवारसँग व्यवसायिकता, लगाव, सौहार्दपूर्ण ब्यवहारका लागि अल्बालाई धन्यवाद,’ दिएको छ।
अल्बालाई आगामी भविष्यको शुभकामना दिँदै ‘क्लबले सधैँ अल्बाको कमी महसुस गर्ने’ बताएको छ।