लन्डन : इल्काई गुन्डोगनको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ को नतिजामा पराजित गर्दै उपाधि उचालेको छ। वेम्ब्ली स्टेडियममा भएको खेलको पहिलो मिनेटमै गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
ज्याक ग्रिलिसले सिटीको १८ यार्ड बक्समा ह्यान्ड गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो। ब्रुनो फर्नान्डेजले सोही पेनाल्टीमार्फत ३३औं मिनेटमा युनाइटेडका लागि बराबरी गोल फर्काएका थिए।
दोस्रो हाफमा पुनः गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। गुन्डोगनले ५१औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गोल गर्दै स्कोरलाइन २–१ मा पुर्याएका थिए।
सोही अग्रताको बचाउ गर्दै सिटीले जारी सिजनको दोस्रो उपाधि जित्यो। यसअघि नै इङ्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको सिटी च्याम्पियन्स लिगको पनि फाइनलमा पुगेको छ।
इन्टर मिलानसँग जुन ११ मा हुने त्यो फाइनलमा उपाधि जिते सिटीले ट्रेबल जित्ने छ।