मुख्य समाचार
लु होस् वा शीतलहर, विपन्नलाई जोगाऊ
लु होस् वा शीतलहर, विपन्नलाई जोगाऊ

गर्मी चढेसँगै मुलुकका विभिन्न स्थानमा तातो हावा बहन थालेको छ । तराईका कति जिल्लामा तापक्रम ४० डिग्री सेल्सियस नाघ्दा जनजीवन प्रभावित भएको छ । विद्यालयहरू बन्द गरिएका छन् ।

मनसुनी वर्षाको तत्काल छेकछन्द नदेखिएकाले केही दिन गर्मी अझै बढ्ने आकलन मौसमविज्ञहरूको छ । तसर्थ, चर्को गर्मीबाट बच्न नागरिकहरूले स्वास्थ्य सावधानी अपनाउन जरुरी छ । सरकारले पनि यसबाट प्रभावित नागरिकलाई विशेष ध्यान पुर्‍याउनुपर्छ ।

सामान्य अवस्थामा तीन दिनसम्म कुनै पनि स्थानमा तापक्रमको निश्चित स्तर (थ्रेसहोल्ड) नाघ्दा लुको अवस्था हुन्छ । यो दर स्थानविशेष अनुसार फरक–फरक हुन्छ । जल तथा मौसम विज्ञान विभागले कुनै पनि मापन केन्द्रमा तापक्रम ९० प्रतिशतभन्दा धेरै हुँदा तातो दिन (माइल्ड लु), ९५ प्रतिशत हुँदा धेरै तातो दिन (मोडरेट लु), र ९९ प्रतिशतभन्दा बढी हुँदा अत्यधिक तातो दिन (लु) मान्ने गरेको छ । जस्तो, काठमाडौंमा ३३.५ डिग्री सेल्सियसभन्दा बढी हुँदा अत्यधिक तातो दिन मानिन्छ । यसका लागि विराटनगरमा ३९ डिग्री नाघेको हुनुपर्छ भने जनकपुरमा ४० र वीरगन्जमा ४२ डिग्री सेल्सियस ।

मानिसका लागि २६ डिग्री तापक्रम उपयुक्त मानिन्छ । तर यति बेला मध्यपहाडी भूभागकै पनि तापक्रम योभन्दा बढी छ, तराईमा त त्यसै धेरै हुने भैहाल्यो । तापक्रम र वायुमण्डलमा आर्द्रता (पानीको बाफ) दुवै बढी हुँदा स्वास्थ्यमा धेरै असर पर्न सक्छ । थकाइ लाग्छ । कमजोरी महसुस हुन्छ । टाउको दुख्छ । खुट्टा बाउँडिन्छ । चक्कर र बान्ता आउँछ । श्वासप्रश्वासमा समस्या हुन्छ । रक्तचाप कम हुन सक्छ । शरीरमा पानीको मात्रा कम हुन्छ । बेहोस हुने मात्र होइन, पक्षाघातसम्म हुन सक्छ । अरू रोगव्याधिको संक्रमणको जोखिम बढ्छ । विभिन्न औषधिको प्रभाव पनि घट्छ । खास गरी बिरामी, बालबालिका र दीर्घरोगीमा बढी समस्या देखिन्छ । घाममा काम गर्नुर्पर्नेहरू उत्तिकै प्रताडित हुन सक्छन् ।

गर्मीको अवस्था हेरेर पालिकाहरूले नागरिकलाई सचेत तुल्याउनुपर्छ । चर्को गर्मी होस् वा शीतलहर, दुवै बेला बढी मर्कामा पर्ने भनेका विपन्न साधारणजन हुन् । उनीहरूको गाह्रो–साह्रोप्रति सरकार, खास गरी पालिका–वडाहरूले विशेष दृष्टि दिनुपर्छ । वातानुकूलित घर–कार्यालय त परको कुरा, कति विपन्नजनको विद्युत्मा समेत पहुँच छैन । पालिकाहरूले यस्ता नागरिकका लागि गर्मी नओर्लिउन्जेलसम्म टोल–टोलमा ठूला पंखासहितका आश्रयस्थलहरूको व्यवस्था गर्न सक्छन्, गर्नु पनि पर्छ । यस्तै, पिउने पानीको यथोचित प्रबन्ध मिलाउनुपर्छ । खास गरी यो याममा पानीको माग अधिक हुन्छ । यस्तोमा गुणस्तरहीन पानी खपत हुने सम्भावना हुन्छ । त्यसैले नागरिकले पानीको गुणस्तरमा ध्यान दिनुपर्छ । सरकारले पनि बिक्री–वितरण भएको पानीको गुणस्तरबारे हेक्का राख्नुपर्छ ।




‘माइल्ड लु’ कै अवस्थामा जोकोहीले सावधानी अपनाउन थाल्नुपर्छ । ‘मोडरेट लु’ हुँदा घाममा हिँडडुल गर्नु हुँदैन, पानी धेरै पिउनुपर्छ । लु नै चल्दा चिसो ठाउँ अर्थात् सम्भव भएसम्म घरभित्रै बस्नुपर्छ । वातानुकूलित घरबाट एकैचोटि घाममा निस्कनु हुन्न । बाहिर निस्कँदा हल्का सुतीका कपडा लगाउनुपर्छ । टोपी लगाउने वा टाउको छोप्ने गर्नुपर्छ । शरीरको पूरै कपडा खोल्नु हुन्न । पानी, सर्बत लगायतका झोलिलो पदार्थ प्रशस्त पिउनुपर्छ । पानीको मात्रा बढी भएका फलफूल, सलादहरू खानुपर्छ । जीउमा चिसो पानी छर्कनुपर्छ । र, लुका लक्षण देखिएका जोकोहीलाई अस्पताल पुर्‍याउनुपर्छ । सरकारले अस्पतालहरूलाई पनि तयारी अवस्थामा राख्नुपर्छ ।

लु वर्षैपिच्छेजस्तो दोहोरिने समस्या हो । नेपालमा विभिन्न स्थानका अधिकतम तापक्रमका कीर्तिमान केही दशकअघिकै भएकाले यसको सोझो सम्बन्ध जलवायु परिवर्तनसित मात्रै छ भन्न पक्कै मिल्दैन, तर पछिल्ला वर्षहरूमा तातो हावा बहने अवधि बढेको भने सत्य हो । र, विश्वव्यापी तापक्रम वृद्धिसँगै आगामी वर्षहरूमा यस्तो जोखिम अझ बढ्ने प्रक्षेपण वैज्ञानिकहरूको छ । यसको अर्थ, नागरिकको जीवनस्तर नसुधार्ने हो भने आगामी वर्षहरूमा लुबाट प्रभावित हुनेहरू अझ बढ्नेछन् । कारण, तातो हावाले मात्रै भन्दा पनि यसबाट जोगिने उपाय अभावले नागरिकहरू प्रताडित हुने गर्छन् । त्यसैले, साधारणजनलाई गर्मीबाट कसरी बचाउने भन्नेमा सरकार केन्द्रित हुनुपर्छ । जनचेतना वृद्धि, जीवनस्तर सुधारका पक्षमा ध्यान दिनुपर्छ । साथै, विश्वव्यापी तापक्रम वृद्धिसित जुध्न घरेलु नीति–व्यवहारहरू तदनुरूप बनाउनुपर्छ, र एउटा पीडित राष्ट्रका हैसियतले विश्वमञ्चमा यसबारे आफ्नो आवाज थप बुलन्द बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले अस्पतालहरूको वर्गीकरण गर्ने प्रक्रियालाई अघि बढाएको बताएका छन्। काठेखोला गाउँपालिका-६ बिहुँको नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेलले अस्पतालको वर्गीकरण गरेर सेवा सुविधा थप गर्ने बताए। ‘अहिले अस्पतालको वर्गीकरण गर्ने प्रक्रियालाई अघि बढाएका छौं,’ मन्त्री पौडेलले भने,‘सबै अस्पतालमा एमआरआई, सिटी स्क्यान चाहिने हो की होइन ? त्यसका लागि ...
— स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल भवन मात्रै नभई सेवा प्रवाहका लागि उपकरण र जनशक्ति चाहिने बताएका छन् । हालै निर्माण गरिएको बागलुङको काठेखोला गाउँपालिका–६ स्थित पाँच श्ययाको बिहुँकोट आधारभूत अस्पतालको आज उद्घाटन कार्यक्रममा उनले देशभर हालै बनेका ४७ वटा भवनबाट सहज सेवा प्रवाहका लागि त्यहाँ जनशक्ति र उपकरण व्यवस्थापनमा सरकारको ध्यान जाने बताएका हुन् ...
। ललितपुर महानगरपालिकामा किसानले पालेका बङ्‍गुरमा ‘स्वाइन फिभर’ देखिएको छ । महानगरपालिका अन्तर्गत २२ नम्बर वडास्थित चुनिखेल, नख्खु करिडोर क्षेत्रका किसानले पालेको बङ्‍गुर/सुँगुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो । ‘२५ कात्तिकमा केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोट अनुसार सो क्षेत्रका किसानले पालेका बङ्‍गुर र सुँगुरमा स्वाइन फिभर’ पुष्टि भएको हो,’ महानगरले जारी गरेको ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्। नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा ...
। प्रहरीले नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कार्यरत एक जना चिकित्सकलाई पक्राउ गरेको छ । सहकर्मी डाक्टरले नै यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी वृत्त, बानेश्वरले जनाएको छ । कार्यस्थल एउटै हुँदा पीडितको परिचय खुल्नसक्ने भएकाले प्रहरीले पक्राउ पर्ने डाक्टरको नाम खुलाएको छैन । बानेश्वर प्रहरीका एक अधिकृतले यो घटना ...