काठमाडौँ — गत जेठ १६ गते सिन्धुलीको दूधौली नगरपालिका-१ कुर्थौलीमा दुई जना बालकहरूको सर्पको डसाइबाट ज्यान गयो । १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको सर्पको डसाइबाट मृत्यु भएको थियो ।
सर्पले ग्रिसलाई बायाँ हातको औंलामा र ग्रिस्मको बायाँ खुट्टामा डसेको थियो । ओछ्यानमा सुतिरहेका बेला उनीहरूलाई १६ गते बिहान ३ बजे डसेको थियो । सिमेन्ट ब्लकले बनेको टाली लगाएको छानो भएको घरको पलङमा सुतेको अवस्थामा सर्पले टोकेको थियो ।
अप्रिल महिना सुरू भएसँगै नेपालका तराई तथा मध्य पहाडी क्षेत्रहरूमा सर्पदंशका घटनाहरू बढ्न थालेका छन् । काठमाडौंको शुक्रराज ट्रपिलक अस्पतालमा पनि सर्पदंशका घाइतेहरू आउने क्रम बढेको छ । अस्पतालकी निर्देशक डा. मिनषा रावलका अनुसार विगत डेढ महिनादेखि सर्पदंशका बिरामीहरू आउन थालेका हुन् । 'अहिले क्रमिक रूपमा बिरामीको संख्या बढ्दै गएको छ, ' डा. रावलले भनिन्, 'पहिले दैनिक १/२ जना बिरामीहरू थिए अहिले दैनिक ३/४ जनाको संख्या छ ।' सोमबार मात्रै अस्पतालमा सर्पदंशका ३ जना बिरामीहरूले उपचार गराइरहेका छन् । काठमाडौं आसापसका जिल्लाका बिरामीहरू अस्पताल आउने उनले जानकारी दिइन् । 'काभ्रे, भक्तपुर, नुवाकोट,धादिङ र गोरखादेखिका बिरामी हाम्रोमा आउँछन्,' उनले भनिन् ।
वैशाखदेखि असोजसम्म नेपालमा सर्पदंशका घटनाहरू धेरै नै हुने गर्छ । गर्मी बढेसँगै सर्पदंशका घटनाहरू बढ्ने विज्ञहरू बताउँछन् । सर्पका अनुसन्धानकर्ता कमल देवकोटा भन्छन्, 'जुन महिनादेखि सेप्टेम्बरसम्म सर्पदंशका घटना धेरै हुन्छन् ।' यी महिनामा सर्पदंशका घटना धेरै हुनेमा विभिन्न कारण रहेको देवकोटाले बताए । गर्मीसँगै जमिन तातिँदा बाहिर निस्कने, मनसुनमा वर्षा हुँदा दूलोभित्र पानी बस्दा बाहिर निस्कने र बगेर पनि सर्प आउने देवकोटाले बताए । अन्नबाली रोप्ने समय भएकाले पनि यी महिनामा सर्पदंशका घटनाहरू बाहिरिने विज्ञहरू बताउँछन् । वैशाख/जेठमा सर्प प्रजननका लागि पनि बाहिर निस्कन्छन् । त्यो बेला सर्पदंशका घटनाहरू बढ्ने गरेको देवकोटाले बताए ।
नेपालमा सर्पदंशका धेरै घटनाहरू तराईमा हुने गर्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर समेत रहेका प्राध्यापक डा. सञ्जिवकुमार शर्माको एक अध्ययनले तराईमा हरेक एक लाख मानिसहरूमध्ये हरेक वर्ष २६१ जना मानिसलाई सर्पले डस्ने गर्छ । तीमध्ये २२ जनाको मृत्यु हुने गर्छ । अधिकतम सर्पको डसाइ ग्रामीण क्षेत्रमा बढी छन् । तराईमा गोमन र करेत सर्पका डसाइका घटना धेरै नै हुने गर्छ ।
सर्पदशंका अधिकांश घटनामा कृषक र विपन्न वर्गहरू पर्ने गरेका छन् । घर बाहिर सुत्ने, खेतमा जाने, जंगलमा जाने क्रममा वा घरभित्रै सुतिरहेको अवस्थामा सर्पदंशका घटनाहरू बढी हुने गरेको अध्ययनहरूले देखाएका छन् ।
नेपालमा हरेक वर्ष सर्पदंशबाट ३ हजार मानिसहरूको मृत्यु हुने गरेको डा. शर्माको अध्ययनले देखाएको छ । तराईका २३ जिल्लामा वार्षिक रूपमा सर्पदंशका ३७ हजार ६६१ वटा घटना हुने गरेको निष्कर्ष निकालेको हो । ‘स्नेकबाइट इपिडिमियोलोजी इन हृयुमन एन्ड डमेस्टिक एनिमल्स एक्रस द तराई रिजन इन नेपालः अ मिल्टक्लस्टर रेन्डम सर्भे’ शिर्षकका प्रकाशित आलेखले हरेक वर्ष सर्पदंशका २६ हजार ७४९ देखि ३७ हजार ६६१ वटा घटनाहरू हुने गरेको उल्लेख गरेको हो । ती घटनाहरूमा २ हजार ३८६ देखि ३ हजार २ सय २५ जनाको मानिसहरूको मृत्यु हुने गरेको छ ।
नेपालमा यसअघि विश्व स्वास्थ्य संगठनले हरेक वर्ष सर्पदंशका घटनाहरू २० हजारवटा हुने र तीमध्ये एक हजार जनाको मृत्यु हुने गरेको उल्लेख गरेको थियो । उक्त अनुसन्धान अस्पतालमा भएका घटनाहरूमा आधारमा तयार गरिएको थियो ।
२३ जिल्लाका २४९ गाउँका १३ हजार ८७९ वटा घरहरूमा गरिएका सर्वेक्षणको आधारमा उक्त तथ्य निकालिएको थियो । सर्पदंश घटनाहरूमध्ये ४८.८ प्रतिशतलाई विषालु सर्पले डस्ने गर्छ । तीमध्ये ७ दशमलव ८ प्रतिशत मानिसहरूको मृत्यु हुने गरेको छ ।
सर्पदंशका कारण मृत्यु हुनेहरूमा अधिकांश महिला र बालबालिकाहरू छन् । मृत्यु हुनेहरूमध्ये ६४ प्रतिशत महिला छन् । यस्तै, यी घटनाहरू सबैभन्दा बढी पूर्वी नेपालमा धेरै पाइएको छ भने मध्य क्षेत्रमा मृत्युदर बढी छ ।
यसअघि सन् २००४ मा पूर्वी नेपालमा गरिएको एक अनुसन्धानले सर्पदंशका कारण ८० प्रतिशत मानिसहरू अस्पताल पुर्याउनुअघि नै ज्यान गुमाएका थिए । विश्वमा हरेक वर्ष २० लाख भन्दा बढी सर्पदंशका घटनाहरू हुने गर्छ । तीमध्ये ८१ हजारदेखि १ लाख ३८ हजार मानिसहरूले ज्यान गुमाउने गरेका छन् ।
नेपालमा हाल ८४ प्रजातिका सर्पहरू पाइन्छन् । तीमध्ये करिब २१ प्रजातिहरू विषालु छन् । विषालुमध्ये गोमन, करेत, रूसेल्स भाइपर, किङ कोब्रा र कोरल स्नेक(कर्कट नाग) सबैभन्दा धेरै विषालु हुन् ।
उक्त अनुसन्धानमा सर्पदंशले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा शारिरिक, मानसिक, सामाजिक र आर्थिक जीवनमा मर्का पार्ने र खेती किसानी गर्ने समुदायले घरमा गाई भैंसी, बाख्रा, गोरू, कुखुरा पालन गरिरहेकालाई थप पीडित बनाउने उल्लेख छ ।
भारतमा हरेक वर्ष ५८ हजार मानिसहरूलाई सर्पले टोक्ने गरेको र तीमध्ये २ हजारदेखि २०१९ जनाको मृत्यु हुने गरेको अनुसन्धानहरूले देखाएका छन् । तर नेपालमा यो सर्पको टोकाइबाट हुने मृत्युलाई कम गर्न ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्पदंश व्यवस्थापन सम्बन्धिको कार्यविधि नै निकालेको छ । उक्त कार्यविधिमा उल्लेख भए अनुसार सर्पदंशका अधिकांश घटनामा मानिसहरू आफ्नै कारणले ज्यान गुमाउने गरेका छन् । घरेलु औषधि सेवन, अत्तालिएर र झारफुक अनि समयमा नै अस्पताल नपुर्याउँदा मानिसहरूले ज्यान गुमाउने गरेका छन् ।
गोमन दिउँसो, करेत राति सक्रिय
नेपालमा ८४ प्रजातिका सर्प पाइन्छन् । तीमध्ये करिब २१ प्रजातिहरू विषालु छन् । विषालुमध्येमा पनि गोमन, करेत, रूसेल्स भाइपर, किङ कोब्रा र कोरल स्नेक (कर्कट नाग) सबैभन्दा धेरै विषालु प्रजातिभित्र पर्छ । तराई क्षेत्रमा सबैभन्दा बढी गोमन र करेतको डसाइ धेरै नै हुने गर्छ ।
सरिसृप विज्ञ प्राध्यापक करनबहादुर शाहका अनुसार करेत सर्प अध्याँरोमा बढी सक्रिय हुन्छ । यस्तै गोमन सर्प बिहान र दिउँसो उज्यालो भएको बेला बढी सक्रिय हुने गर्छ । प्रायः गोमन सर्पको डसाइ उज्यालोमा हुने र करेतको अँध्यारोमा हुने शाह बताउँछन् । कहिलेकाहीँ करेत लुकेको ठाउँमा जाँदा दिउँसै पनि डस्नसक्ने शाहले बताए । घाम चर्किएको बेला भने सर्पहरू बढी ननिस्कने उनले बताए ।
'सर्पको डसाइ नेपालको तराई क्षेत्रमै किन बढी हुन्छ ?' भन्ने प्रश्नमा प्राध्यापक शाह भन्छन्, 'नेपालमा सर्पका प्रजातिहरूको संख्या बढी तराईमा छन् । तराईमा नै घना बस्ती छ । पानी पर्दा दुलोबाहिर निस्कँदा बस्तीमा जाने गर्छन् ।' घना बस्ती हुँदा सर्पका लागि विचरण गर्ने ठाउँ थोरै हुने गर्छ । पहाडमा क्षेत्रफल पनि ठूलो हुने भएकाले सर्पका लागि विचरण गर्ने पर्याप्त ठाउँ हुने गर्छ । प्राध्यापक शाहका अनुसार सर्पहरू चिसो स्थानको तुलानामा गर्मी ठाउँमा धेरै फुल पार्ने गर्छन् । त्यसले पनि तराईमा सर्पको संख्या धेरै भएकाले घटना बढी हुने गर्छ ।
यस्तै तराई र पहाड मिलन भएको स्थानहरूमा पनि सर्पका संख्याहरू धेरै हुनसक्ने विज्ञहरू बताउँछन् । सिन्धुली जिल्लाको उदाहरण दिँदै शाहले भने,' सिन्धुली पहाड र तराईको मिलन भएको ठाउँ भएकाले सर्पहरू धेरै हुने र विचरण गर्ने ठाउँ कम हुँदा घरभित्र जान सक्छन् । '
यस्तै बीपीका प्रा. डा. शर्माका अनुसार करेतको डसाइबाट अस्पतालमा आउने बिरामीहरूलाई टोकेको थाहा नहुन सक्छ । 'करेतको टोकेको ठाउँमा सानो दाग हुन्छ । यो राति आहारा खोज्ने क्रममा मानिसलाई टोक्दा थाहा हुँदैन र बिहान मानिसको मृत्यु भइसकेको हुन्छ,' शर्माले भने । गोमन सर्पले आवाज पनि निकाल्ने र टोकेको ठाउँमा दुख्ने र घाउ पनि देखिने उनले जानकारी दिए । पहाडमा हरेउ तथा भाइपर प्रजातिका सर्पले टोकेको स्थानमा दुख्ने र सुनिने गर्छ ।
सर्पदंशको उपचार कहाँ ?
देशभर सर्पदंशका १०६ वटा उपचार केन्द्र छन् । तीमध्ये अधिकांश तराई क्षेत्रमै छन् । घटना धेरै हुने भएकाले नेपालको तराई क्षेत्रमै उपचार केन्द्र पनि तुलनात्मक रुपमा धेरै छन् । पहाडी जिल्लाहरूमा सर्पदंशका घटना कम हुने भएकाले उपचार केन्द्रहरू पनि कम छन् ।
कोशी प्रदेशको झापामा १०, मोरङमा ४, सुनसरीमा ३, उदयपुरमा ७ स्थान गरी २४ वटा सर्पदंश केन्द्र छन् । मधेस प्रदेशका सप्तरीमा २, सिराहामा ४, बारामा ३, धनुषामा ३, मोहत्तरीमा ४, सर्लाहीमा ७, रौतहटमा २, पर्सामा २ गरेर २७ स्थानमा छन् । वाग्मती प्रदेशको सिन्धुलीमा ७, ललितपुरमा १, काठमडौंमा ५ र चितवनमा १ गरी १४ स्थानमा सर्पदंशको उपचार हुन्छ ।
लुम्बिनी प्रदेशको बर्दियामा १, बाँकेमा २, दाङ देउखुरीमा ५, कपिलवस्तुमा ३, रूपन्देहीमा २, नवलपरासीको नवलपुर र परासीमा ७, र पाल्पामा एक गरेर २१ वटा उपचार केन्द्र छन् ।
सुदूरपश्चिमा कन्चनपुरमा ८, कैलालीमा ४, बजुरामा १,आछामा १, डडेल्धुरामा १ र डोटीमा २ वटा गरेर १७ वटा केन्द्र छन् । गण्डकी प्रदेशको कास्कीमा र कर्णाली प्रदेशको सुर्खेतमा २ वटा मात्रै सर्पदंश केन्द्र छन् ।
तराईमा विषालु सर्पको डसाइ बढी हुने गरेकाले एन्टिस्नेक भेनमको बढी प्रयोग हुने गर्छ । शक्रराज ट्रपिकल अस्पतालकी निर्देशक डा. मनिषा रावल भन्छिन्, ' तराईमा विषालु सर्पहरू धेरै हुन्छन् । पहाडमा हरेउ सर्पहरू हुन्छन् । रगत पातलो भएर र उच्च रक्तश्राव भएका बिरामीहरू काठमाडौं वरिपरीका जिल्लाबाट आउनु हुन्छ ।'
काठमाडौंमा तराईबाट आउने बिरामीको संख्या कम हुने गर्छ । तराईमा ठाउँ ठाउँमा सर्पदंश सेवा भएकाले उपचारहरू त्यतै हुने डा. रावलले बताइन् । 'हाम्रोमा आउने भनेको धेरैजसो गोरखा, नुवाकोट, धादिङ, काभ्रेतिरबाट हो,' उनले भनिन्,'यहाँ सपोर्टिभ ट्रिटमेन्ट हुन्छ । ' साथै धेरैजसो ठाउँमा प्यारामेडिक्सहरू नै सर्पदंशको उपचारमा संलग्न हुने उनले बताइन् ।
सर्पदंशबाट कसरी बच्ने ?
सर्पदंश विज्ञसमेत रहेका प्रा. डा. शर्माका अनुसार तराईमा धेरै घटना हुनुका साथै अधिकांश विपन्न र कृषकहरू सर्पदंशका घटनामा परेका छन् । खुला ठाउँमा विपन्न समुदायको बसोबास हुने र उनीहरूको घरमा सर्पको सहज पहुँच हुने गर्छ ।
तर यसबाट बच्न राति सुत्दा झुल टाँगेर सुत्ने र भुईंमा नसुत्न पनि उनले आग्रह गरे । घरका प्वालहरू र झाडीमा हात नहाल्न पनि डा. शर्माको आग्रह छ । गोठमा जाँदा वा घरको झ्याल खोल्दा पनि ख्याल गर्नुपर्ने उनले बताए । 'रातको समय छ भने बत्ती बाल्ने, उज्यालोमा सर्प भाग्छ,' उनले भने ।
यस्तै घरवरीपरी दाउरा नराख्न पनि उनले सुझाव दिए । दाउरा लिन जाँदा पनि ससना झाडीमा लौरोले ठाकठाकु गरेर मात्रै दाउरा झिक्न उनले सुझाव दिए ।
बालबालिकाहरूमा सर्पको विष छिट्टै लाग्ने भएकाले पनि कतिपय घटनाहरूमा स्वास रोकिएर मृत्यु भएको आफूले पाएको उनले बताए । 'बालबालिकाहरूलाई सर्पले डसेर ब्रिदिङ प्यारालाइसिस भयो भने तुरून्त मुखमा पाइप हालेर भेन्टिलेटरमा लगेर सर्पदंश केन्द्रमा लगे समयमै नै ज्यान बचाउन सकिन्छ,' उनले भने ।