नेभाडा : क्रिस्टियन पुलिसिचको दुई गोलप्रेरित अमेरिकाले सेमिफाइनलमा मेक्सिकोविरुद्ध ३-० को जित निकाल्दै कन्काकाफ नेसन्स लिगको फाइनल यात्रा तय गरेको छ।
नेभाडास्थित एलिजेन्ट रंगशालामा भएको खेलको ३७औं मिनेटमा पुलिसिचले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले अग्रता बनाएको अमेरिकाले दोस्रो हाफमा दुई गोल थप्यो।
दोस्रो हाफको पहिलो मिनेटमै पुलिसिचले गरेको गोलसँगै अमेरिकाले अग्रता दोब्बर पारेको थियो। रिकार्डो पेपीले ७८औं मिनेटमा गरेको गोलसँगै अमेरिकाले ३-० को अग्रता बनाएको थियो।
तनावग्रस्त बनेको खेलमा अमेरिकाका दुई तथा मेक्सिकोका दुई खेलाडीले रातो कार्ड पाएका थिए। अमेरिकाका वेस्टन म्याकेनिनीले ७१औं र सर्जिनियो डेस्टले ८५औं मिनेटका रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो।
यस्तै, मेक्सिकोका सिजर मोन्तेसले ६९औं र गरार्डो अर्टेगाले ८५औं मिनेटमा रातो कार्ड पाएका थिए।
जितसँगै फाइनलमा पुगेको अमेरिकाले जुन १९ मा हुने फाइनलमा क्यानडाको सामना गर्नेछ। क्यानडा पानामालाई २-० ले पराजित गर्दै फाइनलमा पुगेको हो।