काठमाडौं : बैंक तथा वित्तीय संस्थाको कर्मचारी भन्दै अपरिचित व्यक्तिले ग्राहकको विवरण फोनबाट मागेर खाता ह्याक गरी रकम चोर्ने घटना बढ्न थालेको छ। यसर्थ विद्युतीय भुक्तानी उपकरण प्रयोगमा आम सर्वसाधारण बढी सचेत हुनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले यस्तो घटनाको गुनासो आएका र पछिल्लो समय डिजिटल बैंकिङमा यस्ता कारोबारमा ठगी गर्नेहरू देखिएको जनाएको छ।
अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ-इन्टरनेट बैंकिङ-कनेक्ट आईपिएस-वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्याई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटमा रकमान्तर गर्ने प्रवृत्ति बढेको राष्ट्र बैंकले जनाएको छ। विगत केही समयदेखि अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भन्दै सर्वसाधारणको गोप्य विवरण मागेर खाताको रकम चोर्ने काम भएकोले यसमा चनाखो हुन नेपाल राष्ट्र बैंकले अनुरोध गरेको हो। राष्ट्र बैंकसमक्ष यस्तो गुनासो आएपछि बिहीबार सूचना जारी गर्दै आफ्ना विवरण सुरक्षित राख्न सजग गरिएको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए।
ठगीमा संलग्न व्यक्तिले कर्मचारी भन्दै ग्राहक पहिचान (केवाइसी) सम्बन्धी विवरण अध्यावधिक गर्न सम्बन्धित ग्राहकबाट वन टाइम पासवर्ड (ओटिपी) अर्थात निश्चित अंकको नम्बर वा नम्बर उल्लेख भएको म्यासेज जस्ता विवरण माग्ने गरेको बुझिएकोले यसमा सजग हुनुपर्ने र कार्यकारी निर्देशक पौडेलको भनाइ छ। डिजिटल बैंकिङमा यस्ता खालका घटना हुनसक्ने उनले बताए। पौडेलकाअनुसार १–२ वटा घटना भएकाले यसलाई आधार मानेर फेरी यस्ता ठगी प्रवृत्ति बढ्न नपाओस् भनेर सर्वसाधारणलाई सचेत गर्न खोजेको हो। ‘अपरिचित व्यक्तिले सर्वसाधारणलाई बैंकको कर्मचारी भनेर परिचय दिँदै तपाईंको केवाइसी अपडेट गर्नुपर्यो जन्म मिति भन्नुस् त भनेर सोधेको। त्यसपछि तपाईको मोवाईलमा एउटा नम्बर आएको छ त्यो भन्नुस त भनेर तत्कालै ह्याक गरेर खातावालाको नामबाट अपरिचित व्यक्तिले पैसा ट्रान्सफर गरिदिएको गुनासो आयो,’ केन्द्रीय बैंकमा यस्तो गुनासो आएको बताउँदै उनले अन्नपूर्णसँग भने, ‘यसर्थ कुनै खालका संवेदनशील सूचनाहरू बैंक तथा वित्तिय संस्थाले फोनबाट माग्दैनन्। त्यसैले कसैले पनि फोनबाट जन्म मिति, केवाइसीका विवरण, ओटिपी नम्बरहरू मागे ती फ्रड हुन्। यस्ता सुचनाहरू नदिन राष्ट्र बैंकले पटक पटक सजग गराइरहेको छ।’
यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरू उपलब्ध नगर्नु-नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गरिएको हो। कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो को जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन सकिन्छ। भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरूले यस्ता अवाञ्छित गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्न समेत राष्ट्र बैंकले ध्यानाकर्षण गरेको छ।