लन्डन: इङ्लिस क्लब वुल्भ्स टिमका कप्तान रुबेन नेभेसलाई ४७ मिलियन पाउन्डमा साउदी अरबको क्लब अल हिलाललाई बेच्न तयार भएको छ।
पोर्चुगलका २६ वर्षाीय मिडफिल्डर नेभेसको वुल्भ्ससँगको सम्झौता एक वर्ष बाँकी छ। गत सिजनको अन्त्यतिर उनी बार्सिलोना जाने चर्चा पनि चुलिएको थियो।
तर, बार्सिलोनाले त्यसको प्रक्रिया अगाडि नबढाएपछि उनले साउदीको प्रस्ताव स्वीकारेका हुन्।
साउदीले पछिल्लो समय आक्रामक शैलीमा युरोपेली फुटबलमा जमेका खेलाडी अनुबन्ध गरिरहेको छ। रियाल मड्रिडबाट करिम बेन्जिमा चेल्सीका एनगोलो कान्टे यसअघि नै साउदी जाने निश्चित भइसकेको छ।
पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो गत डिसेम्बरदेखि नै साउदीको अल नसार क्लबबाट खेलिरहेका छन्।
नेभेस सन् २०१७ मा पोर्टोबाट वुल्भ्स गएका थिए। वुल्भ्सका लागि दुई सय ५३ खेलमा नेभेसले ३० गोल गरेका छन्।