आम्सटरड्याम: आइतबार राति भएको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेनले युईएफए नेसन्स लिगको उपाधि उचालेको छ।
नेदरल्यान्ड्सको डी क्विप रंगशालामा भएको फाइनलको निर्धारित ९० मिनेट गोलविहीन बराबरीमा सकिएको थियो। अतिरिक्त समयमा पनि कुने टिमले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
प्रतिस्पर्धात्मक बनेको फाइनलमा क्रोएसियाका लागि निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गरे। लोभ्रो मायेर र ब्रुनो पेट्कोभिच पेनाल्टीमा गोल गर्न चुकेका थिए।
स्पेनका लागि होसेलु, रोड्री, मिकेल मेरिनो, मार्को असेन्सियो ड्यानी कार्भाहलले गोल गर्दा आयमेरिक लापोर्टको प्रहार विफल भएको थियो।
कार्भाहलले छैटौं पेनाल्टीलाई गोलमा परिणत गरेसँगै स्पेन ५–४ ले विजयी भयो। नेसन्स लिग जित्ने स्पने तेस्रो टिम बनेको छ। यसअघि पहिलो संस्करण पोर्चुगल र दोस्रो संस्करण फ्रान्सले जितेका थिए।
आइतबार राति नै भएको तेस्रो स्थानको प्लेअफमा इटाली विजयी भएको छ। घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध २–३ को जितसँगै इटालीले तेस्रो स्थान हासिल गर्यो।