मुख्य समाचार
औषधि खुवाएर गर्भपतन गराउँदा महिलाको मृत्यु, मेडिकल सञ्चालक पक्राउ
औषधि खुवाएर गर्भपतन गराउँदा महिलाको मृत्यु, मेडिकल सञ्चालक पक्राउ

विराटनगर : मोरङको उर्लाबारीमा औषधि खुवाएर अवैध तरिकाले गर्भपतन गराउँदा महिलाको मृत्यु भएको खुलेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उर्लाबारी नगरपालिका–६ स्थित आश्रय मेडिकल हल (औषधि पसल)ले उपलब्ध गराएको औषधि सेवन गर्दा झापाको दमक नगरपालिका–४ ताराबारीकी ४० वर्षीया कल्पना राईको मृत्यु भएको पत्ता लागेको हो। प्रहरीका अनुसार इच्छाविपरीत गर्भ रहेको भन्दै गर्भपतनका लागि कल्पना गत जेठ ३२ गते बिहीबार आश्रय मेडिकल हलमा पुगेको पाइएको छ।

मेडिकल हलका सञ्चालक ४० वर्षीय सन्तोष घिमिरेले अवैध हिसाबले गर्भपतन गराउन औषधि खुवाएको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार दमक–४ घर भएका घिमिरेले उर्लाबारीमा औषधि पसल सञ्चालन गर्दै आएका थिए।

घिमिरेले गर्भवतीलाई कुन औषधि सेवन गराएभन्ने खुल्न बाँकी रहेको डीएसपी दाहालको भनाइ छ।
‘औषधि सेवनपछि रक्तश्राव हुन थालेछ। रक्तश्राव नरोकिएपछि घिमिरेले नै उपचारका लागि उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पुर्‍याएको पाइयो,’ उनले भने, ‘अस्पताल पुर्‍याउँदा बिरामीको अवस्था नाजुक भइसकेको रहेछ। चिकित्सकले चेकजाँच गर्दा गर्भभित्रको शिशुको पनि मृत्यु भइसकेको पत्ता लाग्यो।’ ट्रमा सेन्टरमा कल्पनालाई भर्ना गराउँदा पति युवराज पनि सँगै थिए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहका अनुसार सुरुमा आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान भनिएको थियो।

तर, आर्थिक अवस्था कमजोर रहेको कारण देखाउँदै परिवारका सदस्यले अन्यत्र लैजान नसक्ने बताएपछि ट्रमा सेन्टरमै उपचार सुरु गरिएको उनको भनाइ छ। ‘अस्पताल भर्ना हुँदा अत्यधिक रक्तश्राव भइरहेको थियो। चेकजाँच गर्दा गर्भभित्रको शिशुको पनि मृत्यु भइसकेको पाइयो,’ डा. साहले भने, ‘रक्तश्राव रोक्न र गर्भभित्रको मृत बच्चा निकाल्न शल्यक्रिया गरियो। तर, रक्तश्राव रोकिएन।’
शरीरमा ‘हेमोग्लोबिन’को कमी देखिएर बिरामीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएपछि थप उपचारका लागि रेफर गरिएको उनी बताउँछन्।

परिवारका सदस्यले थप उपचारका लागि कल्पनालाई शनिबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए। गम्भीर अवस्थाकी उनलाई तत्काल आईसीयूमा भर्ना गरियो। उपचारकै क्रममा आइतबार बिहान ३:५० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

चिकित्सकको लापरबाहीले घटना भएको भन्दै परिवार र आफन्तले शव उर्लाबारी लगेर आइतबार दिनभर ट्रमा सेन्टरअगाडि राखेका थिए। लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग उनीहरुको थियो।

तर, प्रहरीले अवैध तरिकाले गर्भपतन गराउन मेडिकलले औषधि सेवन गराउँदा महिलाको मृत्यु भएको पत्ता लगाएको हो। त्यसलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ नेतृत्वको टोलीले मेडिकलका सञ्चालक घिमिरेलाई पक्राउ गरेको छ। मृतक कल्पनाका पति युवराजले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घिमिरेविरुद्ध ज्यान सम्बन्धि कसूरमा मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए। उनका अनुसार सोमबार नै विराटनगरको कोसी अस्पतालमा पोस्टमार्टम गरेर शव अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको छ।

ट्रमा सेन्टरका मेसु साहले मृतकको गर्भमा २२ देखि २४ हप्तासम्मको बच्चा रहेको हुनसक्ने बताए। ‘अवैध हिसाबले गर्भपतन गराउने नाममा औषधि सेवन गराउँदा घटना भएको हो,’ उनले भने, ‘गर्भभित्र मृत्यु भइसकेको बच्चा निकाल्नलाई गरिएको शल्यक्रिया सफल नहुँदा आमाको पनि ज्यान गयो।’

गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतनलाई कानुनले वैधानिक मानेको छ। आमाको ज्यान खतरामा पर्नसक्ने र मानसिक तथा शारीरिक अवस्था खराब हुनसक्ने वा बच्चा सकुशल नहुने, जबरजस्ती एवं हाडनाता करणीबाट गर्भ रहेमा, गर्भवतीलाई निको नहुने रोग लागेमा, जन्मिएर पनि बच्चा बाँच्न सक्ने अवस्था नभएमा वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था आएमा इजाजत प्राप्त चिकित्सकको रायअनुसार २८ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ। तर, त्यसमा कानुनले गर्भवती महिलाको मञ्जुरी आवश्यक ठानेको छ।

जथाभावी औषधि सेवन गराएर गर्भपतन गराउनु गैरकानुनी रहेको प्रहरीको भनाइ छ। ‘मेडिकलले त गर्भपतन गराउनै पाउँदैनन्। सरकारले वैधानिक गर्भपतनका लागि छुट्टै एवं विशेष व्यवस्था गरेको छ,’ प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन्, ‘इजाजत प्राप्त चिकित्सकको रायमा आधिकारिकता प्राप्त स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन गराउनुपर्छ। कानुनले दिएको सुविधाभन्दा बाहिर गएर त्यस्तो काम गर्न पाइँदैन।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, ...
। यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ । अस्पतालमा उपचारका सिलसिलामा चिकित्सकमाथि हुने आक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कानुन संशोधनका लागि कानुन मन्त्रालयसँग राय माग गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा ...
: वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ। मधेश प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलबारदेखि सुरु गरिएको हो। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको शुभारम्भ गरे। त्यसपछि आयोजित समारोहमा नारायणी ...
। निजी मेडिकल कलेजहरुले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) पढाउन अस्वीकार गरेका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) अन्तर्गतको एमडी, एमएस र एमडीएसका लागि सिट संख्या माग गर्न निजी मेडिकल कलेजहरुलाई शुक्रबारसम्म समय दिएको थियो । पीजीका लागि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले स्वमूल्यांकन गरी आफ्ना संस्थामा कुन विषयमा कति सिट आवश्यक छ भनेर माग दाबी गर्दै ...