वासिङ्टन — अमेरिकामा सन् २०२० मा भएको चुनावी परिणाम उल्टाउन षड्यन्त्र गरेको आरोपमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा चल्ने भएको छ । ७७ वर्षीय ट्रम्पविरुद्ध वासिङ्टन डीसीस्थित एक संघीय अदालतमा बिहीबारदेखि सुनुवाइ थालिएको हो ।
उनी आगामी वर्ष अमेरिकामा हुने राष्ट्रपतिको चुनावमा फेरि रिपब्लिकन पार्टीबाट उम्मेदवार बन्ने प्रयासमा छन् । तीन वर्षअघिको चुनावमा ट्रम्प हालका राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए । तर, उनले सन् २०२१ जनवरी २० मा राष्ट्रपति भवन छोड्नुअघिसम्म चुनावी परिणाम उल्टाउन चलखेल गरेको आरोप छ । यसअघि ट्रम्पविरुद्ध सरकारको गोप्य फाइल गलत तरिकाले राखेको र एक पोर्नस्टारलाई अवैध रूपमा पैसा भुक्तान गरेको दुईवटा मुद्दा लागेको थियो । अहिले चुनावी परिणाम उल्टाउन उनले चार अवैध काम गरेको आरोप छ । उनले अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, सरकारी कारबाहीमा रोकावट, बाधा र नागरिकको अधिकारविरुद्ध षड्यन्त्र गरेको आरोप लागेको हो ।
यी चारै आरोपित काम उनी राष्ट्रपतिमा पराजित भएर राष्ट्रपति भवन छोड्नुअघिसम्म गरिएको बताइएको छ । पहिलो आरोप मत संकलन, गणना र प्रमाणित गर्ने काममा बाधा उत्पन्न गर्ने प्रयासमा आधारित छ । दोस्रो र तेस्रो इलेक्टोरल कलेजको मत प्रमाणीकरणमा बाधा पारेको र जसका कारण अमेरिकाको संघीय संसद्मा प्रदर्शन गराउन लगाएको घटनासँग सम्बन्धित छ । चौथो आरोप नागरिकको मत दिने र गणनाको अधिकारमा हस्तक्षेप गरेकोसँग सम्बन्धित भनिएको छ । मुद्दा अभियोजकहरूले यी आरोपलाई सन् २०२१ जनवरी ६ मा ट्रम्प समर्थकले अमेरिकाको संघीय
संसद्मा गरेको कब्जालाई पनि जोडेका छन् । त्यतिबेला प्रदर्शनकारीले राष्ट्रपतिमा बाइडेनको जितलाई प्रमाणीकरण गर्न रोक्ने प्रयास गरेका थिए । ट्रम्पले त्यतिबेला आफ्ना हार स्वीकार्न अस्वीकार गरेका थिए भने चुनावमा धोखाधडी भएको आरोप लगाएका थिए ।
अमेरिकामा पूर्वराष्ट्रपतिविरुद्ध संघ र राज्यस्तरमा आपराधिक मुद्दा चलेको यो पहिलो पटक हो । विश्लेषकहरूका अनुसार हालको तेस्रो मुद्दाले भने उनलाई कानुनी र राजनीतिक रूपमा पनि हानि पुर्याउन सक्ने बताएका छन् । ट्रम्पविरुद्धको मुद्दामा सरकारबाट नियुक्त वकिल ज्याक स्मिथले यो मुद्दामा छिटो सुनुवाइको माग गरेका छन् । यदि ट्रम्प दोषी पाइएमा कडा सजाय हुने सम्भावना छ । यो मुद्दामा सुनुवाइ न्यायाधीश तान्या चुटकनको इजलासमा हुनेछ । उनले दुई वर्षअघि ६ जनवरीमा भएको प्रदर्शनका दोषीलाई पनि कडा सजाय सुनाएकी थिइन् । ट्रम्पलाई गोप्य दस्तावेज गलत तरिकाले राखेको आरोपमा २० वर्षसम्मको सजाय हुन सक्ने अर्को मुद्दा त अदालत प्रक्रियामा छँदै छ ।
यद्यपि, यी मुद्दाका कारण ट्रम्पलाई आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्न भने बाधा पार्दैन । अमेरिकाको कानुनअनुसार कुनै व्यक्तिमाथि आपराधिक आरोप लागेमा वा जेलमा नै भए पनि ऊ राष्ट्रपतिको चुनाव लड्न सक्नेछ । ट्रम्पले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । उनले यो मुद्दाको विषयमा बोल्दै आफ्नो २०२४ को चुनावी अभियानलाई रोक्न खोजिएको दाबी गरेका छन् । बाइडेन प्रशासनले आफ्नो भ्रष्टाचार, काण्ड र असफलता ढाकछोप गर्नका लागि यस्तो अभियोग आफूमाथि लगाएको उनको आरोप छ ।