ब्राजिलमाथि जमैकाको हैकम
ब्राजिलमाथि जमैकाको हैकम

— जमैकाले बुधबार पक्कापक्की गर्‍यो, महिला विश्वकप फुटबलबाट मार्टो मीठो बिदाइ पाउने अवस्था रहेन । किनकि मार्टाको ब्राजिललाई गोलरहित बराबरीमा रोक्दै जमैका पहिलोपल्ट महिला विश्वकपको अन्तिम १६ मा पुग्यो ।

त्यहीं ब्राजिलको यसपालिको विश्वकप चुनौती समूह चरणमै सकियो । ब्राजिलले सन् १९९५ यता पहिलोपल्ट यस्तो नियति भोग्नुपरेको हो । ब्राजिली फुटबलका लिजेन्ड ३७ वर्षीया मार्टाले यो नै उनको खेलजीवनको अन्तिम विश्वकप भनिसकेकी छन् । त्यसले उनको बिदाइ सुखद रहेन ।

खेलको अन्त्यमा उनी दुःख र पीडामा देखिइन् । तर जमैकाका लागि भने खुसी नै खुसीमात्र रह्यो । समूह चरणमा जमैकाले एकै गोल पनि खाएको छैन । यसक्रममा प्रशिक्षक लोर्ने डोनाल्डसनको टिम अपराजित पनि छ । जमैकाले सबै प्रकारको अनुमान गलत साबित गर्दै यो यात्रा तय गरेको हो । अब जमैकाले सम्भवतः अन्तिम १६ मा कोलम्बियाको सामना गर्नेछ । ‘यो दिन मेरो जीवनकै सबैभन्दा खुसीको रह्यो,’ डोनाल्डसनले भने ।

उनले थपे, ‘मेरो देश नकआउट चरण पुगेको छ, यो आफैंमा अकल्पनीय छ । हाम्रा खेलाडीले आफ्नो देशका लागि खेलिरहेका छन् । उनीहरूको प्रदर्शनमा देशलाई पनि गर्व हुनुपर्छ । हामीले लगातार संघर्ष गरिरहेका छौं । हामी एक प्रकारले युद्धमा छौं र यसका लागि तयार पनि छौं ।’

ब्राजिललाई समूह ‘एफ’ बाट अगाडि बढ्न निश्चित जित आवश्यक थियो । त्यहीं जमैकाका लागि बराबरी नै पर्याप्त थियो । खेल लगभग ब्राजिलकै पकडमा पनि थियो । ब्राजिलले जहाँ पाँच स्पष्ट आक्रमण बुनेको थियो, त्यहीं जमैकाले कुनै एक स्पष्ट आक्रमण पनि बनाउन सकेन । तर, ब्राजिल र मार्टालाई भाग्यले साथ दिएन ।


जमैकाले फ्रान्सविरुद्धको पहिलो खेलमा पनि गोलरहित बराबरी खेलेको थियो भने पानामाविरुद्ध १–० को जित निकालेको थियो । जमैकाले सन् २०१९ मा विश्वकपमा डेब्यु गरेको हो । त्यसक्रममा तीनै खेल गुमाएको थियो । प्रतियोगिताअगाडि जमैकाका खेलाडीको फुटबल संघसँग विवाद परेको थियो ।

समूहको अर्को खेलमा फ्रान्सले पानामालाई ६–३ ले हरायो । यो नतिजापछि फ्रान्सको ३ खेलबाट ७ अंक भएको छ । समूहको शीर्षस्थानमा रह्यो । जमैका ५ अंकसहित दोस्रो स्थानमा रह्यो भने ब्राजिल ४ अंकमै सीमित भयो । पानामाले लगातार तीन खेलमा पराजित रहेर कुनै अंक जोड्न सकेन । पानामालाई मात्र हराएको ब्राजिल भने फ्रान्सको हातबाट २–१ ले पराजित भएको थियो । यो हार नै ब्राजिलको यात्रामा अन्ततः महँगो साबित भयो ।

भाग्यमानी दक्षिण अफ्रिका
वेलिङ्टन– दक्षिण अफ्रिकाले बुधबार महिला विश्वकपमै पहिलो जित निकाल्यो । यो नै टोलीलाई अन्तिम १६ मा पुर्‍याउन पर्याप्त रह्यो । दक्षिण अफ्रिकाले निर्णायक साबित खेलमा इटालीलाई रोमाञ्चक ढंगले ३–२ ले हरायो । कप्तान थेम्बी केगाटलानाले ९२ औं मिनेटमा निर्णायक गोल गरिन् ।

यो हारले प्रतियोगितामा इटालीको चुनौती समाप्त भएको छ । अब दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सको सामना गर्नेछ । इटालीका लागि एरिना करुसोले दुई गोल गरेकी थिइन् । इटालीलाई अर्को चरण पुग्न बराबरी नै पर्याप्त थियो । २–२ को बराबरीको स्थितिमा इटालियन टिमले अगाडि बढ्ने छाँट देखिएको थियो । तर, खेलको अन्त्यतिर केगाटलानाले गोल गर्दै इटालीलाई स्तब्ध पारिन् । खेलपछि दक्षिण अफ्रिकी खेलाडीले खुसी मनाइरहँदा उनीहरूका समकक्षी भने आँसुमा डुबिरहेका थिए ।

जितपछि केगाटलानाले भनिन्, ‘पछिल्लो दुई सातामा मैले परिवारका तीन सदस्य गुमाएकी छु । म घर जान सक्थें, तर मैले टिममै रहने निर्णय गरें । मेरा लागि यसले धेरै अर्थ राख्छ ।’

दक्षिण अफ्रिकाले समूह ‘जी’ मा स्विडेनविरुद्धको पहिलो खेल २–१ ले गुमाएको थियो भने त्यसपछि अर्जेन्टिनासँग २–२ को बराबरी खेलेको थियो ।

प्रशिक्षक डेसिरे एलिसले भनिन्, ‘यो जित उत्कृष्ट रह्यो । हाम्रा खेलाडीको प्रदर्शन पनि सानदार थियो । स्विडेनले अर्को खेलमा अर्जेन्टिनालाई २–० ले हरायो । स्विडेनको ३ खेलबाट पूरा ९ अंक भयो भने दक्षिण अफ्रिका ४ अंकसहित दोस्रो स्थानमा रह्यो । इटाली भने ३ अंकमै सीमित रह्यो ।

मार्टाको दुःखद बिदाइ
मेलबर्न– ब्राजिली मार्टाले महिला विश्वकप फुटबलबाट बुधबार दुःखद बिदाइ लिएकी छन् । उनलाई लाग्छ, आफ्नो टिम लिग चरणबाटै बाहिरिने ‘खराब सपना’मा पनि सम्भव थिएन । विश्व महिला फुटबलमा ३७ वर्षीया मार्टालाई अहिलेसम्मकै सर्वकालीन उत्कृष्ट खेलाडी मानिन्छ ।

उनले जमैकाविरुद्ध सुरुदेखि खेल्ने अवसर पाइन्, तर ब्राजिलका लागि निर्णायक खेल प्रदर्शन गर्न सकिनन् । ‘यो समयमा बोल्न पनि गाह्रो छ । मैले यस्तो हुन्छ भनेर खराब सपनामा पनि सोच्न सक्दिनँ ।’ तर, उनले अबको ब्राजिली महिला फुटबलको सम्भावना भने राम्रो रहेको बताइन् ।

उनले भनिन्, ‘यो टिममा म मात्रै बढी उमेरको हो । अरू सबै खेलाडी युवा छन् । उनीहरू निकै प्रतिभाशाली छन् । उनीहरूको यात्रा भर्खर सुरु भएको छ, यो उनीहरूका लागि उज्ज्वल हुनेछ । मैले अब फुटबल खेल्ने छैन, तिनका लागि यो सुरुआतमात्रै हो ।’ मार्टालाई महिला फुटबलको ‘स्कर्टमा रहेकी पेले’ पनि भन्न सकिन्छ ।

तर, यिनै मार्टाले कहिल्यै पनि विश्वकप जित्न सकिनन् । उनी पुरुष होस् वा महिलाको विश्वकप सर्वाधिक १७ गोल गर्ने खेलाडी हुन् । उनी यसमा थप गोल बढाउन असफल रहिन् । उनले भनिन्, ‘मार्टाको खेलजीवन यहीं रोकिन्छ, अब अर्को विश्वकप खेलिने छैन । अहिलेसम्म जति मौका पाएँ त्यसमा खुसी छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...