अब मछिन्द्रको भेट मोहन बगानसँग
अब मछिन्द्रको भेट मोहन बगानसँग

काठमाडौँ — चैतमा सम्पन्न प्रधानमन्त्री कप त्रि–देशीय फुटबलमा दीपकराज सिंह ठकुरीले अन्तिम समयमा गोल गरेपछि नेपाली राष्ट्रिय टिमले भुटानसँग १–१ को बराबरी गरेको थियो । त्यो नतिजा भुटानको लागि ऐतिहासिक उपलब्धि थियो । किनभने त्यसअघि नेपालले भुटानलाई हराइरहेको थियो ।

भुटानी फुटबलमा भइरहेको प्रगति यही दशरथ रंगशालामा मंगलबार पनि प्रस्टै देखियो । यसपालि पालो क्लब फुटबलमा रह्यो । त्यसमा भुटान प्रिमियर लिग च्याम्पियन पारो एफसीले मछिन्द्र फुटबल क्लबलाई कडा टक्कर दियो ।

एएफसी कप २०२३–०२४ छनोट प्रारम्भिक चरण १ को खेल घरेलु टिम मछिन्द्रले ३–२ ले जितेर कोलकातामा साउन ३१ गते इन्डियन सुपर लिग क्लब मोहन बगानविरुद्ध प्रतिस्पर्धा गर्ने निश्चित गर्‍यो । तर, मछिन्द्रलाई राष्ट्रिय टिमका अनुभवी १० खेलाडीलाई मैदानमा उतारेर पनि पारोको चुनौती पन्छाउन धौ–धौ नै पर्‍यो । ‘पहिलो हाफ राम्रो खेल्यो, ७० मिनेटसम्म ठीकै थियो, त्यसपछि खेल्नै सकेन,’ मछिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले भने । उनले भनेकै थिए कि पारोका चार विदेशी खेलाडी राम्रा छन्, छरिता छन्, रोक्नैपर्ने उनीहरूलाई नै हो ।

लगातार तेस्रोपल्ट महादेशीय क्लब फुटबलमा उत्रिएको पारोले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता मछिन्द्रविरुद्ध सातौं मिनेटमै अनपेक्षित अग्रता लियो । यसी दोर्जीको आकर्षक पासमा ४३ वर्षीय जापानी स्ट्राइकर कोजु होम्माले प्रहार गरेको बल डिफेन्डर सनिश श्रेष्ठले रोकेका थिए । त्यसमा मछिन्द्रका कप्तान एवं गोलकिपर विशाल श्रेष्ठले बललाई आफ्नै गोलपोस्टमा धकेल्न पुगेका थिए, जसमा पारो १–० ले अगाडि बढ्यो ।

तर, कर्नरपछि आयुष घलानले क्रस गरेको बलमा विमल घर्तीमगरले हेडर गोल गर्दै १२ औं मिनेटमै मछिन्द्रलाई १–१ को बराबरीमा उभ्याए । आयुषले १५ औं मिनेटमा बायाँ खुट्टाले आकर्षक गोल गरेपछि मछिन्द्रले २–१ को अग्रता लियो । उनलाई पेनाल्टी क्षेत्रमा बल विमलले उपलब्ध गराएका थिए । ‘ए’ डिभिजन लिगका सर्वाधिक २३ गोलकर्ता ओलावाले आफिजले ३९ औं मिनेटमा मछिन्द्रको अग्रता ३–१ बनाए । करिम ओमोलाजाले मैदानको मध्यभागबाट बल अघि बढाउँदै आयुषलाई दिएको बल फेरि लिएर क्रस गरेपछि आफिजले हेडर गोल गरेका थिए ।


पहिलो हाफको प्रदर्शन र दुई गोल अन्तरको अग्रताले मछिन्द्र सहज जिततर्फ अग्रसर थियो । तर, राष्ट्रिय टिमका खेलाडी र यहाँको लिगमा प्रभावशाली प्रदर्शन गरेका चार विदेशी समावेश मछिन्द्रले दोस्रो हाफमा लय कायम राख्न सकेन । टोलीका खेलाडी विस्तारै थकित देखिन थाले । ठीक यसैबेला पाहुना टिमले गति लियो । आक्रामण गर्न थाल्यो । मछिन्द्रलाई ७० मिनेटपछि पूर्ण रूपमै एकतर्फी दबाबमा राख्यो । डिफेन्डर छिरिङ गुरुङले शारीरिक रूपमा बलिया र अग्ला कदका विंगर इभान असान्टेलाई रोक्न सकेनन् । उनले अगाडि बढाउँदै ‘फस्ट–बार’ मा प्रहार गरेको बलले गोलकिपर विशालको टाङमुनिबाटै पोस्टमा पुगेपछि ७१ औं मिनटमा मछिन्द्रको अग्रता ३–२ मा खुम्चियो । त्यसपछि पारो अझै आक्रामक बन्यो । मछिन्द्र बल रोक्नकै व्यस्त हुन थाल्यो ।

गत सिजनको भुटानी लिगमा कीर्तिमान ३४ गोल गरेका काजुले असान्टेको क्रसमा ८९ औं मिनेटमा पेनाल्टी क्षेत्रमा नियन्त्रण गर्दै प्रहार गरेको बलमा विशालले उत्कृष्ट बचाउ गरेर मछिन्द्रको संकट टारिदिए । सहज तीन अवसरमा चुकेपछि काजुलाई विशालले असफल पारेका थिए । इन्ज्युरी समयमा डिफेन्डर करिमले पनि उत्कृष्ट बचाउ गरे । तर, खेलको निर्णायक मोड विशालकै बचाउ रह्यो । अर्कोतिर पाँच मिनेटको इन्ज्युरी समयको अन्तिम मिनेटमा विमलले दुई अवसर पाएका थिए ।

विंगर आशिष चौधरी गोलकिपर ग्याल्सेन जाङ्पोलाई पन्छाउँदै दिएको बललाई विमलले खाली पोस्टमा गोल गर्न सकेनन् । ‘बल नियन्त्रण गरेपछि प्रहार गर्न लाग्दा म चिप्लिन पुगें,’ प्लेयर अफ द म्याच चुनिएका विमलले भने । त्यसपछि गोलकिपरमात्रै अगाडि हुँदा पाएको अवसरमा उनले बल प्रहार गर्नै सकेनन् । विमल मोहन बगानका पूर्वखेलाडी पनि हुन् । उनले सन् २०१७–१८ मा आई लिग खेलेका थिए ।

पहिलो जित

‘जितियो र यसमा खुसी छौं,’ प्रशिक्षक किशोर केसीले भने, ‘दोस्रो हाफमा सोचेजस्तो खेल भएन । अलि बढी गोलको फरक इच्छा गरेको थिएँ । दुई–तीन गोलको अग्रता हुने गरी गोल हानोस् भन्ने थियो, विपक्षीको रणनीति थाह पाएर पनि त्यो गर्न सकेनौं । दोस्रो हाफमा इभान्सको गति रोक्न नसक्दा दबाब झेल्नुपर्‍यो ।’ अब मोहन बगानबारे अध्ययन गरेर तयारी गर्ने पनि उनले बताए ।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले भने, ‘नतिजाले सबै कुरा भन्छ । हामी घाँसे मैदानमा अभ्यस्त थिएनौं । भुटानमा आर्टिफिसियल टर्फमा मात्रै खेल्छौं । मछिन्द्रलाई अर्को चरणका लागि बधाई छ ।’ काजुको प्रहारमा विशालको उत्कृष्ट बचाउबारे उनले भने, ‘कहिले गोलकिपरले हुन्छ, कहिले भाग्यले हुन्छ ।’ उनले सुरुका २०–२५ मिनेट मछिन्द्रले राम्रो खेलेको पनि बताए । सन् २०२० को एएफसी कपमा प्रारम्भिक चरणको दोस्रो खेलसम्म पुगेको पारो मंगलबारको हारसँगै लगातार दोस्रोपल्ट पहिलो खेलबाटै बाहिरिएको हो ।

‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्सको मापदण्ड पूरा नगर्दा लिगको उपविजेता मछिन्द्रले एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने अवसर पाएको हो । यसअघि लगातार दुईपल्ट लिग च्याम्पियन हुँदा मछिन्द्रले पनि पहिलो उपाधि जितेको खुसी मनाइरहँदा क्लब लाइसेन्सको अभावमा एएफसी कप छनोट खेल्ने अवसर गुमाएको थियो । त्यसैले लिगको उपाधि रक्षा गरेपछि गत वर्षमात्रै उसले महादेशीय प्रतियोगितामा डेब्यु गर्न पाएको थियो । तर, टोलीलाई श्रीलंकाको ब्लु स्टारले दशरथ रंगशालामा २–१ ले स्तब्ध पारेको थियो । त्यसैले पारोविरुद्धको सफलता मछिन्द्रका लागि पहिलो जित पनि हो ।

कोलकातामा मोहन बगानलाई पराजित गर्न सके मछिन्द्रले प्लेअफमा ढाका अबहानी (बंगलादेश) वा क्लब इगल्स (माल्दिभ्स) विरुद्ध खेल्ने अवसर पाउनेछ । तर, मछिन्द्रलाई मोहन बगानकै चुनौती पन्छाउन सजिलो हुने छैन । दक्षिण एसियाली क्षेत्रबाट प्ले–अफ जित्ने एक टिमले एएफसी कप २०२३–०२४ को समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । सेप्टेम्बरदेखि डिसेम्बरसम्म हुने समूह चरणका खेलमा प्रत्येक टिमले ‘होम एन्ड अवे’ को आधारमा ६–६ खेल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...