संसद्‌मा गान्धीको प्रवेशले विपक्षीलाई बल
संसद्‌मा गान्धीको प्रवेशले विपक्षीलाई बल

— सर्वोच्च अदालतको आदेशपछि भारतमा विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता पुनर्बहाली भएको छ । ‘मोदी उपनाम’ को मामिलामा विवादास्पद अभिव्यक्ति दिएका कारण गान्धीको सांसद पद गएको थियो । तर, उनलाई गरिएको कारबाही सर्वोच्च अदालतले शुक्रबार खारेज गरेपछि लोकसभा सचिवालयले सदस्यता पुनर्बहाली गरेको हो । साढे चार महिनापछि उनले सोमबार संसद् बैठकमा भाग लिएका छन् ।


मानहानि मुद्दामा गुजरातको तल्लो अदालतले मार्च २३ मा फैसलामा गान्धीलाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो, जसका कारण उनको लोकसभा सदस्य पद खारेज भएको थियो । लोकसभा सचिवालयले अदालतले फैसला सुनाएको अर्को दिन नै गान्धीलाई सांसद नरहेको पत्र थमाएको थियो । उनी बस्दै आएको सरकारी निवास पनि खाली गर्नुपरेको थियो । गान्धीलाई दोषी ठहर गरिएको फैसलालाई माथिल्लो अदालतले रोक लगाएपछि उनी संसद् प्रवेशको बाटो खुलेको हो ।



सन् २०१९ को लोकसभाको चुनावी सभाका क्रममा कर्नाटकको कोलारमा उनले ‘सबै चोरको थर मोदी नै किन हुन्छ ?’ भन्ने भाषण दिएका थिए । उनको त्यसै अभिव्यक्तिविरुद्ध भारतीय जनता पार्टीका गुजरात प्रदेशका विधायक पूर्णेश मोदीले गान्धीविरुद्ध मोदी समुदायको मानहानि गरेको भन्दै मुद्दा दायर गरेका थिए । अदालतले गान्धीलाई २ वर्ष कैद र १५ हजारको जरिवाना सुनाएको थियो । उक्त आदेशका कारण गान्धीको सांसद पद मात्रै गएको थिएन, राजनीतिक भविष्य पनि संकटमा परेको थियो । जेल जानुपरेको भए उनले कैद भुक्तान गरेपछिको ६ वर्ष चुनावमा प्रतिस्पर्धा गर्न पाउँदैनथे । उनी सन् २०२४ र २०२९ को चुनावबाटै अलग हुनुपर्थ्यो । प्रदेश तहको उच्च अदालतले समेत तल्लो तहको फैसलालाई सदर गरेपछि गान्धी सर्वोच्च अदालत पुगेका थिए ।

कंग्रेस तथा विपक्षी दलहरूले गान्धीको संसद् प्रवेशलाई स्वागत गरेका छन् । गान्धी सोमबार संसद् प्रवेश गर्दैगर्दा सांसदहरूले उनको पक्षमा नाराबाजीसमेत गरेका थिए । यसबीचमा विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । त्यसमाथि मंगलबार छलफल हुँदै छ । गान्धीले त्यस बहसमा हिस्सा लिने भएका छन् । मणिपुरमा फैलिएको हिंसाका सम्बन्धमा संसद्लाई जवाफ दिनुपर्ने विपक्षीहरूको मागलाई सरकारले बेवास्ता गर्दै आएपछि प्रधानमन्त्री मोदीलाई सदनमा ल्याउन अविश्वासको प्रस्तावको रणनीति विपक्षी दलहरूले लिएका हुन् । यद्यपि सत्तारूढ दल भाजपासँग बहुमत रहेकाले विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव पास हुन सम्भव छैन ।

गान्धीले पछिल्लो समय भाजपा सरकार र प्रधानमन्त्री मोदीको कट्टर आलोचकको छवि बनाएका छन् । उनले देशभित्र संसद्, सडक तथा विदेशमा समेत मोदी र भाजपा सरकारको आलोचना गर्दै आएका छन् । अर्कोतिर, कन्याकुमारीेदेखि कश्मीरसम्मको ३ हजार ५ सय ७० किलोमिटर पैदल यात्रा गरेर आफ्नो राजनीतिक उचाइ बढाएका छन् । विपक्षी खेमामा प्रधानमन्त्री मोदीको नेतृत्वलाई टक्कर दिन सक्ने क्षमता उनीमा मात्रै देखिएका बेला अदालतको फैसलाले उनको राजनीतिक भविष्य नै संकटमा परेको थियो । त्यसले कंग्रेससहितको विपक्षी खेमालाई निराश बनाएको थियो । यही अवधिमा १८ जुलाईका दिन कंग्रेससहित २६ विपक्षी दलहरूले आगामी चुनावलाई लक्षित गरेर इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (इन्डिया) बनाएका छन् । उक्त गठबन्धन बनेको केही दिनभित्रै गान्धीको सांसद प्रवेशले विपक्षी मोर्चालाई बल दिएको छ ।


राजनीतिक विश्लेषक चन्द्रभूषण गान्धीमाथि लगाइएको मुद्दा र तल्लो अदालतको फैसलाको औचित्यमाथि नै प्रश्न रहेको बताउँछन् । ‘दुनियाँभरका नेताहरूले भाषणमा अनेक थरी कुरा बोल्छन् । तर, त्यसैलाई आधार बनाएर सांसद पद नै जाने, नेताको राजनीतिक करियर नै संकटमा पार्ने काम भएको देखिँदैन,’ उनले भने, ‘भारतमा पनि आम सर्वसाधारणले गान्धीलाई सुनाइएको सजायलाई सही मानेका थिएनन् । माथिल्लो अदालतले त्यसलाई उल्ट्याएको छ । त्यसले कंग्रेस र विपक्षी खेमालाई निश्चय पनि बल दिएको छ ।’ निडर युवा नेताका रूपमा राष्ट्रियस्तरमा ‘ब्रान्डिङ’ भइरहेका बेला गान्धी नै झमेलामा पर्दा कंग्रेस पार्टीलाई अप्ठ्यारो पर्न गएको स्थितिमा अदालतको पछिल्लो फैसलाले उक्त पार्टीमा उत्साह ल्याएको उनको बुझाइ छ । ‘भाजपाका अगाडि राष्ट्रिय पार्टीका रूपमा चुनौती दिन सक्ने पार्टी कंग्रेस नै हो, गान्धी त्यसको बलियो धुरी हुन्,’ उनले भने ‘गान्धीको स्विकार्यता विपक्षीहरूमाझ पनि बढेको देखिन्छ । तर, उनलाई नै नेता मानेर अगाडि बढ्न ममता बनर्जी, नितिश कुमार वा अखिलेश यादव कति तयार हुनेछन् ? त्यो भविष्यले नै देखाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...