: जापान सरकारले नेपाल-जापान सम्बन्धमा उच्च योगदान पुर्याउने एक नेपाली महिलालाई सम्मान गरेको छ। नेपालस्थित जापानी दूतावासले बुधबार आयोजना गरेकाे एक कर्याक्रममा नेपाल एओटिएस अल्मुनाई सोसाइटीका पूर्व अध्यक्ष अमिरा दलीलाई सम्मान गरेको हो।
दूतावासले 'the Order of Rising Sun, Gold and Silver Rays'बाट दलीलाई सम्मान गरेको हो। नेपालका लागि जापानी राजदूत किकुता युताकाले दलीलाई मेडल र प्रमाणपत्र दिएका थिए।
सो समारोहमा राजदूत युताकाले प्रमाणपत्र सुनाएका थिए। दलीलाई गत अप्रिल २९ मा सम्मान गर्ने जापान सरकारले निर्णय गरेको थियो। जापानका तत्काली परराष्ट्रमन्त्री फुमियो किसिदाले सन् २०१७ मा दलीलाई सम्मान गरेका थिए। उनी प्रधानमन्त्री भएपछि दलीलाई दोस्रोपटक सम्मान गरेका हुन्।
दलीले एओटीएस अल्मुनाई सोसाइटीका अध्यक्ष हुँदा जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी साझेदारीलाई प्रवर्द्धन गर्न विशेषगरी अर्थतन्त्र र व्यापारको क्षेत्रमा योगदान पुर्याएका थिइन्।
उनीसँग नेपाल र जापानबीचको आर्थिक तथा सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ। 'the Order of Rising Sun' समाजमा विशिष्ट योगदान गर्ने व्यक्तिहरूलाई जापान सरकारले प्रदान गर्दै आएको छ।