मसिनो विषयमाथि रचनात्मक कथा उनेर फिल्म बनाउने निर्देशक हुन्, ग्रेटा गर्विक । उनका फिल्ममा महिला चरित्र नै प्रमुख हुन्छन् । भइपरी आउने प्रत्येक परिस्थितिसँग लड्न सक्ने विद्रोही महिला, जसलाई बचाउन कुनै हिरो टुप्लुक्क आइरहनु पर्दैन । उनका फिल्मका महिला सामाजिक संरचना र बन्धन तोडेर विद्रोह गर्छन् । महिला मुद्दालाई मिहिन ढंगबाट केलाउँदै पितृसत्तामाथि प्रश्न उठाउने फिल्म बनाएकैले हो सायद विश्वले ग्रेटालाई एक महिलावादी निर्देशकका रूपमा चिन्छ ।
‘बार्बी’ ले बक्स अफिसमा सबैभन्दा धेरै कमाउने महिला निर्देशकको रेकर्ड बनाइदिएपछि ग्रेटाको चर्चा छ, चौतर्फी । क्रिस्टोफर नोलनको बहुप्रतीक्षित फिल्म ‘ओपनहाइमर’ सँग एकै मितिमा भिडेको ‘बार्बी’ ले ‘वन्डर वुमन’ को रेकर्डलाई विस्थापित गर्यो । र, बक्स अफिस इतिहासमा नयाँ परिचय थप्यो । हुन त व्यावसायिक सफलता नै राम्रा फिल्मका मानक होइनन् । ठूला ब्यानरका ब्लकबस्टरबीच सन् २०१७ मै उनको फिल्म ‘लेडी बर्ड’ ले इन्डिपेन्डेन्ट फिल्मले पाएको हिटको स्वाद चाखिसकेको थियो । सामान्य कथामा बनेको त्यही फिल्मले ग्रेटालाई चर्चामा ल्याइदिएको हो ।
‘लेडी बर्ड’ आमा–छोरीबीचको सम्बन्धमाथिको फिल्म हो । १७ वर्षे किशोरी ‘लेडी बर्ड’ को जीवनमा आउने दुविधा, समस्या र आकांक्षाका विषय वरपर फिल्म घुम्छ । त्यस फिल्ममा महिलाकै सम्बन्धलाई महत्त्वका साथ देखाइएको छ । ‘लेडी बर्ड’, क्रिस्टिन (स्वर्सा रोनन) आफैंले आफैंलाई दिएको नाम हो । परिवारले दिएको क्रिस्टिन नामबाट उनी खुसी छैनन् । परिवारले भनेको विद्यालय उनको रोजाइ होइन, उनी न्युयोर्क जान चाहन्छिन् । अवसरहरूको खोजीमा छिन्, तर उनी बस्ने सानो सहरमा त्यो अवसर छैन । साँघुरिएको समयबीच पनि लेडी बर्डले ठूला सहरमा पढ्ने सपना देखिरहिन् । खासमा त्यो फिल्म चराझैं उड्न चाहने एक साहसी किशोरीको कथा हो । पहिचान र अस्तित्वका लागि एक किशोरीले पहिल्याउँदै जाने जीवनका फरक आयाम फिल्ममा छ । लेडी बर्डको आमासँगको सम्बन्ध, साथीसँगको सम्बन्धलाई महत्त्वपूर्ण रूपमा स्क्रिनमा देखाइएको छ ।
लेडी बर्डको भूमिकामा देखिएकी स्वर्सा रोनन ग्रेटा निर्देशित ‘लिटल वुमन’ मा चाहिँ जो मार्च चरित्रमा देखिन्छिन् । त्यो फिल्मसम्म आइपुग्दा स्वर्साले निकै सशक्त महिलामध्येको चरित्रमा अभिनय गर्ने अवसर पाएकी छन् । स्क्रिप्ट पढिसकेपछि स्वर्सा आफैंले ग्रेटासँग त्यो चरित्रमा अभिनय गर्ने चाहना व्यक्त गरेकी थिइन् । फिल्म प्रदर्शनताका ग्रेटा आफैंले भनेकी थिइन्– जो मार्चको चरित्रमा स्वर्साले इच्छा देखाएपछि त्यो उनैलाई दिइएको हो । पुरुष लेखकले प्रभुत्व जमाएको न्युयोर्क सहरमा लेख्नैका लागि संघर्ष गर्ने एक पात्र हुन्– जो । सन् २०१९ मा प्रदर्शनमा आएको त्यो फिल्मको कथा १९ शताब्दीतिरको हो, जसले चरम गरिबीबीच हुर्किरहेका चार दिदीबहिनी र उनीहरूका आमाको कथा भन्छ ।
दिदीबहिनीबीचको सम्बन्ध र आफू बाँचिरहेको जटिल संसारबिच यी पात्रहरूले लिने निर्णय नै कथाको केन्द्रमा छ । विवाह गरेर कलातिर ढल्किन्छिन्– मेग । एमी धनी आन्टीको घरमा बस्छिन् । बेथ विमार भएको खबरले यी दिदीबहिनीलाई एक गराउँछ । बिहे नै महिलाका लागि ठूलो सपना/उद्देश्य रहेको त्यस जमानामा सामाजिक संरचना भत्काउँदै स्वतन्त्रताको पक्षमा उभिन्छिन्– जो । ‘महिलामा हृदयसँगै दिमाग हुन्छ, आत्मा हुन्छ । उनीहरूसँग इच्छा हुन्छ, सौन्दर्यसँगै प्रतिभाशाली पनि हुन्छन् । प्रेमकै लागि महिलाहरू बनेका हुन् भन्ने सुन्दा–सुन्दै म बिमार भइसकें,’ विद्रोही जो ले बोल्ने यही संवादमै कथाको मूल मर्म लुकेको छ । ग्रेटाले यी सबैलाई बलियो र आफैं निर्णय लिन सक्षम महिला पात्रका रूपमा उभ्याएकी छन् ।
...
अब अहिले चर्चामा रहेको फिल्म ‘बार्बी’ मा प्रवेश गरौं । यस फिल्ममा पनि ग्रेटाले महिला मुद्दालाई नै केन्द्रमा राखेकी छन् र पितृसत्तालाई प्रश्न गरेकी छन् । फिल्मको एउटा दृश्य रोचक छ । बार्बी र उनका साथी केन मानव संसारमा आइपुगेका हुन्छन् । बार्बी आफूसँग खेल्दै आएको त्यो व्यक्तिको खोजीमा त्यहाँ आइपुगेकी हुन्छिन् । त्यही व्यक्तिको खोजमा बार्बी अलमलिँदा, केन मानव संसार घुम्न पुग्छन् । त्यहाँ केनले देख्छ, पुरुषद्वारा दबिएको मानव संसार ।
ग्रेटा गर्विकका फिल्ममा प्रमुख हुन्छन्, महिला चरित्र । उनी निर्देशित बार्बीले संसारलाई नै गुलाबी बनाइरहेको छ ।
बार्बील्यान्डलाई महिलाहरूले नै सञ्चालन गर्दै आइरहेको हुन्छन् । उच्च अदालतमा महिला, राष्ट्रपति पनि महिला । पुरुषद्वारा दबिएको संसारबाट केनले पुरुषत्व लिन्छ, अनि पितृसत्ताका पुस्तक च्यापेर बार्बील्यान्ड फर्किन्छ । मानव संसारले पितृसत्तालाई अझै कसरी पक्रेको छ ? फिल्मको एउटै दृश्यमा देखिन्छ । छेउमा उभिएको एक पुरुषलाई केन भन्छ, ’तिमीहरूले पितृसत्तालाई अलि राम्रोसँग अभ्यास गरिरहेका छैनौं ।’ त्यसपछि ती पुरुषले दिने जवाफमा भरपूर व्यंग्य छ, ‘होइन, अभ्यास त गर्छौं, तर लुकाएर ।’ पितृसत्तामाथिको यस्तो रोचक र व्यंग्यात्मक दृश्य सायद ग्रेटाका फिल्ममा मात्रै देख्न पाइन्छ ।
फिल्मको अर्को दृश्यमा कन्स्ट्रक्सन क्षेत्रमा पुरुषहरू मात्रै काम गरिरहेका हुन्छन् । बार्बी झट्ट बोल्छिन्, ’सायद यो ठाउँ महिला सशक्तीकरणका लागि उपयुक्त होला, यहाँ त पुरुष नै पुरुष मात्र देख्छु ।’ मिस युनिभर्सका प्रतिस्पर्धीहरूको तस्बिर देखाउँदै ‘उच्च अदालत’ सम्बोधन गरिएको त्यो दृश्यले पनि समाजलाई व्यंग्य गरिरहे झैं लाग्छ ।
फिल्ममा बालबालिका लक्षित डल निर्माण गर्ने कम्पनी म्याटेललाई पनि प्रश्न गरिएको छ । कम्पनी सञ्चालन मण्डलमा सबै पुरुष देखेपछि बार्बीको प्रश्न छ, ’के यो कम्पनीमा कुनै महिला सीईओ छैनन् ?’ कम्पनीको जवाफ छ, ’हाम्रो कम्पनीलाई महिलाहरूले नै स्थापना गरेका हुन् । महिला सीईओ ९० को दशकमा थिइन् । हामी महिलालाई माया गर्ने पुरुषहरू हौं ।’
सामान्य डल (पुतली/खेलौना) को संसार कल्पेर ग्रेटाले ‘बार्बी’ को कथा सारा दुनियाँलाई सुनाएकी छन् । फिल्ममा बार्बीलाई परम्परागत डलका रूपमा प्रस्तुत गरिएको छ । त्यसैले बार्बी आफूलाई चिनाउँदा भन्ने गर्छिन्, ‘म एक स्टेरियोटिपिकल बार्बी’ । बार्बी आफ्नै संसारमा रमाइरहेकी हुन्छिन् । तर, एक दिन अचानक उनको कुर्कुच्चाले जमिन भेट्छ, अनि उनमा मर्ने कल्पना आउन थाल्छ । त्यसको रहस्य थाहा पाउन बार्बीले बार्बील्यान्ड छाडी मानव संसारमा विचरण गर्नुपर्ने हुन्छ ।
मानव संसार पुगेपछि उनको जीवनमा आउने समस्या र ती समस्या समाधान गर्न बार्बीले अपनाउने उपाय नै ग्रेटा निर्देशित लाइभ–एक्सन ‘बार्बी’ को असली कथा हो । बार्बील्यान्डमा महिलाकै दबदबा हुन्छ । बार्बील्यान्डले पुरुषले दबिएको हलिउडलाई पनि प्रश्न गरिरहेझैं लाग्छ, जहाँ ग्रेटाजस्ता महिला निर्देशकको उपस्थिति पुरुषको दाँजोमा कम छ ।
वर्तमान समाजको संरचनालाई पनि फिल्मले प्रश्न गरेको छ । फिल्मले सिधै महिलावादी सिद्धान्त पढाउँदैन । तर, बार्बीको संसारमार्फत महिलाहरूको स्थान अझै कस्तो छ ? त्यो देखाइदिन्छ । बार्बीलाई पनि फिल्ममा सशक्त पात्रका रूपमा देखाइएको छ । उनी बलियो छिन्, निडर पनि । जीवनका समस्यासँग लड्ने साहस जुटाउँछिन् । धेरैले ‘बार्बी’ लाई ‘एन्टी–म्यान’ का रूपमा चर्चा गरेका छन् । तर, फिल्मभित्रकी बार्बीले नै केनलाई आफूभित्रको आफूलाई हेर्न सघाउँछिन् ।
फिल्ममा पितृसत्ता मात्रै छैन, स्त्रीद्वेषी धारणा, महिला वस्तुकरण र नारीवादका फरक पाटोलाई पनि छोइएको छ । यसरी निर्देशक ग्रेटाले बार्बीको भयानक सुन्दर कथा पस्केकी छन् । ग्रेटाको कथ्य वाचन यही कारण अरूभन्दा पूरै पृथक छ । र, यही नै ग्रेटाको परिचय बनेको छ ।
मध्यान्तरपछि लाग्छ– कथा बहकिन खोजेको छ, तर ग्रेटाले क्लाइमेक्समा सन्तुलन मिलाएकी छन् । दर्शक हँसाउँदै, बार्बी संसारमार्फत मनोरञ्जन पस्कँदै ‘बार्बी’ ले महिलालाई ‘आफू’ भएर बाँच्न प्रेरणा दिन्छ ।
संसार बार्बील्यान्डजस्तो नभए पनि फिल्मले परिस्थितिहरूसँग जुध्न सिकाउँछ । आफूभित्रको ‘आफू’ देख्न र खोज्न अह्राउँछ । बालबालिकाले आफ्नो सबैभन्दा नजिकको साथी सोच्दै, उसैसँग खेल्दै हुर्किएको एक डलमार्फत ग्रेटाले फरक–दुनियाँ निर्माण गरेकी छन्, जहाँ दर्शक मज्जैसँग हाँस्छन्, मज्जैसँग रुन्छन् ।
...
ग्रेटाको जीवनरेखा वक्र छ । ग्रेटा अरू निर्देशकभन्दा किन फरक छिन् ?
खासमा बार्बीको भूमिकामा अभिनय गरेकी मार्गट रोवीले नै ग्रेटालाई ‘बार्बी’ लेख्न अनुरोध गरेकी थिइन् । सुरुमा ग्रेटालाई त्यो अनुरोध स्विकार्न गाह्रो भयो । अन्य सुपरहिरो फिल्ममा झैं बार्बीको कुनै खास कथा थिएन । एउटा खेलौनामाथि पूरै कथा लेख्नु चुनौतीपूर्ण नै थियो । पार्टनर नोआ बाउमब्याकसँग मिलेर ग्रेटाले कथा लेखिन्, तर त्यतिबेलासम्म पनि फिल्म निर्देशन गर्न पाउँला भन्ने सोचेकी थिइनन् । ‘मलाई स्क्रिप्ट मनपर्यो । त्यसमाथि कसैले फिल्म निर्देशन गरेको हेर्न सक्दिन भन्ने थियो । अर्को त उनीहरूले मलाई निर्देशन गर्न दिँदैनन् भन्ने लागेको थियो,’ ‘गार्डियन’ मा ग्रेटाले भनेकी छन् ।
कोभिडमा ग्रेटाले बार्बीको स्क्रिप्ट लेखिन् । कथा लेख्दा म्याटल भ्रमण गरेकी थिइन् । महिलाले क्रेटिड कार्ड नपाउने जमानामा चन्द्रमा पुगेको बार्बी देख्दा उनी चकित भइन् । राष्ट्रपति चुनावमा टिकट पाएको बार्बी देखेपछि उनलाई लाग्यो, ‘ए बार्बीले टिकट पाइसकिन्, हामीले अझै पाएका छैनौं ?’
फिल्ममेकिङमा ग्रेटाले अपनाउने शैली व्यापक छ । ‘लेडी बर्ड’ मार्फत ओस्कर मनोनयनमा परेकी पाँचौं महिला निर्देशक ग्रेटा लोकतान्त्रिक सेटमा काम गर्छिन्, जहाँ सबै र सबैको कुरा सुनिन्छ । र, समानताको अभ्यास पनि गरिन्छ । निर्देशकले देखेको सपना सेटका सबैले देख्न सक्ने बनाउनुपर्ने ग्रेटाको विश्वास छ । ’निर्देशकका रूपमा तपाईं फिल्मको सपना देख्नहुन्छ । तर, त्यहाँ जोडिएका सबैलाई त्यही सपना देखाउनु पनि निर्देशकको दायित्व हो,’ उनले भनेकी छन् ।
सन् १९८३ मा क्यालिफोर्नियामा जन्मिएकी ग्रेटा पुस्तक पढ्न औधी रुचाउँथिन् । क्यालिफोर्नियाबाट न्युयोर्क सरेकी उनले २००० तिर सानो बजेटका फिल्महरूमा अभिनय गरिन् । इन्डिपेन्डेन्ट फिल्महरूबाटै मूलधारे फिल्ममा पहिचान बनाइन् । ‘ग्रिनबर्ग,’ ‘मिस्ट्रेस अमेरिका’, ‘ह्वाइट नोज’ जस्ता फिल्मपछि ग्रेटाले ‘लेडी बर्ड’ बनाइन् । उनी निर्देशित ‘लिटल वुमन’ ओस्करमा ६ विधामा मनोनयनमा पर्यो र ‘लेडी बर्ड’ पाँच विधामा । तर, ‘बार्बी’ ले त संसारलाई नै गुलाबी बनाइसकेको छ ।