— नेपाल राष्ट्र बैंकले २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आहृवान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आहृवान गरेको हो ।
जसअनुसार १० अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब रुपैयाँको ९१ दिने र ६ अर्ब रुपैयाँ बराबरको १ सय ८२ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले सोमबार (साउन २९ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।
पछिल्लो पटकको बोलकबोलमा ६.३७ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ६.६१ प्रतिशत र सबैभन्दा कम ४.८२ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।अहिले राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः विक्री गरिरहेको छ । सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः विक्री गरिएको हो ।