काठमाडौं । नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी एफसी डुरान्ड कप फुटबलमा आफ्नो दोस्रो खेलमा आइएसएल क्लब चेन्नाइयीन एफसीसँग ३-० ले पराजित भएको छ ।
गुहावाटीस्थति इन्दिरा गान्धी एथ्लेटिक स्टेडियममा सोमबार भएको खेलमा चेन्नाइयीनले पहिलो हाफमा दुई र दोस्रो हाफमा १ गोल गवरेको हो ।
फारुख चौधरीले २२औं मिनेटमा गोल गर्दै चेन्नाइयीनलाई अग्रता दिलाएका थिए भने रहिम अलीले ४०औं मिनेटमापेनाल्टीमार्फत गोल गरी अग्रता दोब्बर पारे ।
८४औं मिनेटमा ब्राजिलियन खेलाडी राफेल क्रिभेलारोले चेन्नाइयीनका लागि तेस्रो गोल गरे ।
समूह ई मा आर्मीको यो पहिलो हार हो । पहिलो खेलमा आर्मीले दिल्ली एफसीसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
लगातार दोस्रो खेल जितेको चेन्नाइयीन समूहको एक खेल खेल्नुअघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुई जितबाट ६ अंक जोडेको चेन्नाइयीन समूह विजेता बन्ने पक्का छ । दुई खेलपछि दिल्लीको २ तथा आर्मी र हैदरादको समान १ अंक छ ।
अब आर्मीले समूहको अन्तिम खेल अगष्ट २२ मा हैदरवादसँग खेल्नेछ ।
प्रतियोगितामा सहभागि २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइएको छ । जहाँ हरेक समूहको विजेता ६ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट २ टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।