— बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबाआमा गम्भीर बिरामी परेका छन् ।
मंगलबार जंगली च्याउ खाएर बिरामी परेकी बंगलाचुली गाउँपालिका–४ की ११ वर्षीया अस्मिता सुनारको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्मिताकी आमा ईश्वरी सुनार र बुबा अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।