एसिया कप क्रिकेट : एक्सपोजर होइन, प्रतिस्पर्धाको अवसर
एसिया कप क्रिकेट : एक्सपोजर होइन, प्रतिस्पर्धाको अवसर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम ३० अगष्टमा सुरु हुने एसिया कप खेल्न पाकिस्तान प्रस्थान गरेको छ ।

पाकिस्तान र श्रीलंकामा हुने एसिया कपमा नेपालले मुल्तानमा घरेलु टोली पाकिस्तानसँग र श्रीलंकामा भारतसित खेल्ने छ । काठमाडौंमा भएको एसिसी प्रिमियर कप जितेको नेपाल इतिहासमै पहिलो पल्ट एसिया कपको मैदानमा उत्रिन लागेको हो ।

विश्व क्रिकेटमा शक्ति राष्ट्र भारत र पाकिस्तानसँगको खेललाई नेपालले एक्सपोजर भन्दा पनि ठूला टिमसँग प्रतिस्पर्धा गर्ने अवसरको रुपमा लिएको छ ।

पाकिस्तान उड्नुअघि अनलाइनखबरसँगको कुराकानीमा कप्तान रोहितकुमार पौडेलले भने, ‘हामीले यसभन्दा अगाडि धेरै एक्सपोजर पाइसक्यौं । एसिया कप हाम्रो लागि एक्सपोजर भन्दा पनि प्रतिस्पर्धा हुनेछ ।’


पहिलोपल्ट भारत र पाकिस्तानको राष्ट्रिय टिमसँग खेल्न लागेको नेपाललले एक महिनाअघि मात्रै एसिसी इमर्जिङ् टिम्स एसिया कपमा भारत र पाकिस्तानकै ए टिमसँग खेलेको थियो । त्यसअघि विश्वकप क्रिकेट छनोटमा टेष्ट मान्यताप्राप्त जिम्बाब्वे र वेष्टइण्डिजसँग प्रतिस्पर्धा गरेको थियो ।

श्रीलंकामा नै भएको एसिसी इमर्जिङ टिम्स एसिया कपपछि नेपालले त्यहीका ए ग्रेडका टिमसँग पनि खेलेको थियो । जसले गर्दा श्रीलंकाको विकेट नेपालका लागि परिचित छ ।

तर पहिलो पल्ट एसिया कप खेल्न लागेको नेपाललाई पहिलो खेल हुने पाकिस्तानको मुल्तान भने नयाँ भेन्यु हो । त्यसैले नेपाली टिम त्यहाँको वातावरणसँग घुलमिल हुन प्रतियोगिता सुरु हुनुभन्दा एक हप्ता अघि नै पाकिस्तान प्रस्थान गरेको हो ।



‘हाम्रो लागि दुईवटा खेल दुईवटा फरक भेन्युमा खेल्न केही चुनौती त हुनेछ । तर त्यसकै तयारीका लागि हामी त्यहाँको विकेट र वातावरण बुझ्न एक हप्ता अघि नै पाकिस्तान जाँदैछौं । त्यहाँ तयारी र केही अभ्यास खेलहरु खेल्नेछौं’, कप्तान रोहितले भने ।

मुल्तानसँग पाकिस्तानसँग खेलेपछि नेपालले श्रीलंका गएर ४ सेप्टेम्बरमा केण्डीमा भारतसँग खेल्ने छ ।

विश्व क्रिकेटमा नेपाललाई चिनाउने प्लेटफर्म

नेपाली क्रिकेटका लागि एसिया कप विश्व क्रिकेटमा नेपाललाई चिनाउने प्लेटफर्म पनि हुन सक्छ । भारत र पाकिस्तान विश्वका दुई क्रिकेट महारथीको खेल विश्वका लगभग सबै क्रिकेट प्रेमीले हेर्नेछन् । जसबाट नेपाली क्रिकेटले विश्व जगतमा पहिचान बनाउन मद्दत पुग्ने छ ।

‘हाम्रो सोचाइ नेपाली क्रिकेटलाई विश्वसामु चिनाउने हो,’ रोहितले भने, ‘भारत र पाकिस्तानको खेल सबैले हेरिरहेका हुन्छन्, हामी यो दुई खेल उत्कृष्ट खेल्ने भन्नेमा नै छौं ।’

सन् २०१४ मा टी–२० विश्वकप खेलेको नेपालले त्योपछि खेल्न लागेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । जसमा नेपाली क्रिकेटमाथि विश्वको नजर पर्नेछ ।

‘यो हाम्रो लागि एकदमै राम्रो अवसर हो । हामी सामान्यतयः भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउँदैनौं । त्यसैले पनि मैले यसलाई अवसरको रुपमा लिएको छु । अवसरलाई सम्मान गर्दै राम्रो क्रिकेट प्रदर्शन गर्न सकौं त्यहि नै अपेक्षा छ,’ कप्तान रोहितले सुनाए ।

उनका अनुसार नेपाली क्रिकेटको परिदृष्य परिवर्तन गर्न र उचाइमा पुर्‍याउन एसिया कपले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । ‘त्यो दिनमा सबैले हाम्रो खेल हेर्नु हुनेछ । त्यो दुई खेलमा हामीले राम्रो गरेको अवस्थामा अन्य टिम पनि नेपाल आएर खेल्ने चाहना राख्न सक्छन्,’ रोहितले भने ।

सन् २०१८ मा एक दिवसीय मान्यता पाए पनि नेपालले ठूला टिमसँग खेल्न पाएको छैन । हाम्रै वरिपरका भारत र पाकिस्तानसँगै बंगलादेश, श्रीलंका, र अफगानिस्तानले नियमित रुपमा क्रिकेट खेलिरहेका छन् । कुनै समय नेपालभन्दा कमजोर रहेको अफगानिस्तानले विश्व क्रिकेटमा आफ्नो स्थान बनाइसकेको छ ।

कमजोरी सुधार्न अभ्यास र आत्म विश्वास बलियो

लगातारको झरीले नेपालले राम्ररी अभ्यास गर्न पाएको छैन । नेपाली टिम ३/४ दिनको प्रशिक्षणबाटै पाकिस्तान गएको छ ।

विश्वप छनोट र त्यसपछिको एसिसी इमर्जिङ टिम्प एसिया कपमा नेपाली ब्याटरलाई सर्ट बल खेल्न समस्या भएको थियो । त्यो समस्या सुधारका लागि नेपाली टिमले श्रीलंकामा र नेपाल फर्केर पनि इन्डोरमा सर्ट बल खेल्ने अभ्यास गरेको छ ।

कप्तान रोहितका अनुसार नेपाली टिमको बलियो आत्मविश्वास र कमजोरीहरुमाथि खेलाडीको सुधार नै नेपाली टिमको एसिया कप तयारी हो ।

‘दुवै टिम एकदमै राम्रा टिम छन् । अब हामीले गर्ने भनेको प्रोसेस हो । बल हेरेर खेल्ने हो । टेष्ट राष्ट्रसँग भनेर हामीले वेष्ट इन्डिजसँग खेलिसकेका छौं । बलमा प्रेजेन्ट भएर खेल्यौं भने हामी राम्रो गर्न सक्छौं’, बिदाइ कार्यक्रममा रोहितले भने ।

आत्मविश्वास बलियो भएको नेपाली टिमले पूर्ण सदस्यीय देशलाई पनि हराउन सक्छ भन्ने विश्वास प्रशिक्षक मोन्टी देशाईँ पनि राख्छन् ।



‘५–६ महिना हामी जित्ने मानसिकताले खेलिरहेका थियौं । म त्यो मानसिकता कहिल्यै परिवर्तन नहोस् र बारम्बार देखियोस् भन्ने चाहन्छु’, पाकिस्तान उड्नुअघिको बिदाइ कार्यक्रममा प्रशिक्षक मोन्टी देशाईँले भने ।

उनी भन्छन्, ‘हरेक खेलले कथा लेख्नेछ । हरेक खेलको नयाँ पाटो हुनेछ । हरेक कुरा दोहोर्‍याउनु पर्छ । हामीमा उत्साह छ । विश्वकप छनोटमा पनि हामीले राम्रो खेलेका हौं ।’

उनका अनुसार पूर्ण सदस्य राष्ट्रको लामो इतिहास छ । ‘तर एशोसियट राष्ट्रले पनि मेहनत उत्तिकै गरेका हुन्छन्,’ मोन्टी भन्छन्, ‘उनीहरुले पनि पूर्ण सदस्य राष्ट्रलाई हराउन सक्छन् ।’

राष्ट्रिय टोलीका भरपर्दा स्पीनर सन्दीप लामिछानेले एसिया कप खेल्ने नखेल्ने टुंगो छैन । स्वास्थ्यको कारण देखाएर उनी टोलीमा गएका छैनन् ।

नेपाल क्रिकेट संघ क्यानले उनलाई टोलीमा लैजान प्रयास गरिरहेको बताएको छ । कप्तान रोहित सन्दीप टोलीमा नभए उनको स्थान अरु खेलाडीले लिन नसक्ने बताउँछन् ।

चुनौतीसँगै आएको अवसर

नेपालका लागि भारत र पाकिस्तानसँग खेल्नु कम चुनौती होइन । कप्तान रोहितकै लागि पनि यो चुनौतीसँग आएको अवसर हो ।

एसिया कपमा देशको प्रतिनिधित्व गर्ने कान्छा कप्तानका रुपमा उनले आफूले सानैदेखि पछ्याइरहेका रोहित शर्मासँग टस गर्नेछन् । जसलाई लिएर उनी उत्साहित छन् ।

‘म निकै उत्साहित छु, आफूले सानैदेखि पछ्याइरहेको रोहित शर्मासँग सँगै खेल्ने अवसर पाएको छु । यत्ति छ, कि त्यो खेलमा आफूले वेष्ट क्रिकेट खेल्न सकूँ’, उनले भने ।

रोहितका लागि मात्रै नभई नेपाली टिमकै लागि यो निकै राम्रो अवसर हो । टेलिभिजनमा हेरिरहेको टिमसँग प्रत्यक्ष खेल्नु धेरै नेपाली खेलाडीको सपना हो ।

‘भारत र पाकिस्तानको खेल हामी टेलिभिजनमा हेरिरहेका हुन्छौ । विराट कोहली, बाबर आजम विरुद्ध कसरी खेल्ने भन्ने हामी उत्साहित छौं । तयारी पनि सोही अनुसार गरिरहेका छौं ।’ उनले सबै खेलाडी निकै उत्साहित रहेको बताए ।

नेपालका लागि अर्को चुनौती भनेको विपक्षी टिमको घरेलु मैदानमा विपक्षी समर्थकको माझमा खेल्नु हो । हालसम्म त्रिवि क्रिकेट मैदानमा हजारौं नेपाली समर्थकमाझ खेलेको नेपालले सोही मात्रा वा अझ ठूलो पाकिस्तानको समर्थक माझ खेल्नु पर्ने हुन्छ ।

तर उक्त खेल र विपक्षी समर्थकमाझ खेल्न आफूहरु तयार रहेका रोहितले बताए । ‘हामीले विपक्षीको घरेलु मैदानमा खेल्दा उनीहरुको समर्थक हामीमाथि खन्निन्छन् त्यो हामीले जिम्बावेमा जिम्बावेविरुद्ध खेलेर अनुभव गरिसकेका छौं । त्यसैले पनि त्यो प्रेसर हामीले भान्न सक्छौं भन्ने विश्वास छ । त्यसमा हामी घुलमिल भइसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...