गोरखा : चुमनुब्री गाउँपालिका- ३ जगतमा छालासम्बन्धी नचिनेको रोगका कारण स्थानीयहरू बिरामी पर्न थालेका छन्।
स्थानीय बालबालिका र ठूला व्यक्तिहरूको शरीरमा ससाना रातो खटिरा जस्तो देखिने रोगले सताएको पीडितमध्येका एक विशाल घलेले जानकारी दिए। ठूला व्यक्तिलाई भन्दा बालबालिकाहरूमा यो रोग बढी देखिएको उनले बताए।
उनका अनुसार जगतका १५/२० जनामा यो समस्या देखिएको छ। यो रोग लागेपछि शरीर चिलाउने, कमिलाले टोके जस्तो चिरचिर हुने लक्षण देखिएको छ। आफूलाई पनि यो रोगले सताएको र अहिले स्वास्थ्य चौकीबाट ल्याएर औषधि लगाइरहेको उनले बताए। औषधि प्रयोग गरेपछि केही कम भएको पनि उनले बताए।
सिर्दिबास स्वास्थ्य चौकीमा छाला सम्बन्धी समस्या लिएर दैनिक बिरामी आउने गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रेम गुरुङले बताए। स्वास्थ्य चौकीमा आउने बिरामीहरूको छाला चिलाउने र फोका उठेको भन्ने कुरा आएको जानकारी पाएको बताउँदै उनले छाला सम्बन्धी एलर्जी रोग भएको हुन सक्ने बताए।
समस्या निराकरणका लागि स्वास्थ्यकर्मीहरूसँग समन्वय भइरहेको र आतिनुपर्ने अवस्था नभएको उनले बताए। सरसफाइ कमी हुनु, गर्मी बढ्नु लगायतका कारण छालामा यो रोग देखिएको हुन सक्ने उनले बताए। हालसम्म कति जनामा यो रोग देखिएको भनेर पालिकासँग यकिन तथ्यांक नभएको स्वास्थ्य संयोजक गुरुङले जानकारी दिए।