: कोरोना महामारीपछि उत्तर कोरियाबाट पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ। एयर कोर्योको जेएस१५१ जहाजले साढे तीन वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उडान भरेको हो।
बीबीसीका अनुसार कोर्योको उक्त विमानबाट चीनका लागि उडान भरेका हुन्। उत्तर कोरियाको प्योङयाङबाट मंगलबार उडेको विमान बेइजिङ क्यापिटल विमानस्थलमा अवतरण गरेको थियो। जहाजमा कति यात्रु सवार थिए भन्ने कुरा खुलेको छैन। उक्त विमान २१० यात्रु क्षमताको रहेको फ्लाइट रडारले उल्लेख गरेको छ।
यात्रुको एकिन नभए पनि बेइजिङस्थित विमानस्थलमा धेरै यात्रुहरू देखिएको उल्लेख गरेको छ। विमानस्थलस्थित एयर कोर्योको काउन्टरमा उत्तर कोरियाली झण्डाको पिन लगाएका यात्रुहरू खचाखच रहेको समाचारमा उल्लेख छ। चिनियाँ विदेश मन्त्रालयले कोरोनाका कारण बन्द रहेको उत्तर कोरियाबाट हुने कोर्योको उडानहरू पुनः सुरु गर्न स्वीकृति दिएको बताएको छ।