मुख्य समाचार
प्रिगोजिनको 'मृत्यु'पछि वाग्नर समूहको भविष्य अनिश्चित
प्रिगोजिनको 'मृत्यु'पछि वाग्नर समूहको भविष्य अनिश्चित

— रुसी सेनाविरुद्ध गत जुनमा विद्रोहको प्रयास गरेको रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ का प्रमुख येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको आशंका गरिएको छ । मस्कोको उत्तरी क्षेत्रमा बुधबार राति भएको दुर्घटनामा विमानमा सवार सबै १० जनाको मृत्यु भएको रुसको नागरिक उड्डयन प्राधिकरणले दाबी गरेको हो ।

यद्यपि, विमान आफैं दुर्घटना भएको वा यसलाई विस्फोट गराइएको हो भन्ने स्पष्ट हुन सकेको छैन । दुर्घटनामा वाग्नर समूहका सहसंस्थापक दिमित्री अट्किनको पनि मृत्यु भएको दाबी गरिएको छ । कुनै समय रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विश्वासपात्र बन्दै प्रिगोजिनले वाग्नर समूहको नेतृत्व लिएका थिए । केही महिनाअघि रुसी नेतृत्वलाई चिढ्याएका कारण अहिले उनी निशानामा परेको विश्लेषकहरूको भनाइ छ । पश्चिमा मुलुकहरूले त उनको मृत्युमा रुसको हात भएको हुनसक्ने आशंका गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रिगोजिनको मृत्युको खबरबाट आश्चर्यमा नपरेको बताए । ‘वास्तविकता थाहा नभए पनि म आश्चर्यमा छैन,’ उनले भने, ‘तर रुसमा भएको घटनाको पछाडि पुटिन नहुने भन्ने हुँदैन ।’ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘यस घटनासँग कसको सम्बन्ध छ’ भन्ने सबैलाई थाहा भएको अभिव्यक्ति दिएका छन् ।

रुसका राष्ट्रपति पुटिनले बिहीबार विमान दुर्घटनामा मृत्यु भएकाहरूप्रति शोक व्यक्त गर्दै प्रिगोजिन ‘क्षमतावान् व्यवसायी’ भएको बताएका छन् । एक टेलिभिजन सन्देशमा पुटिनले प्रिगोजिनले गल्ती गरेको तर दुर्घटनामा मृत्यु भएकाहरूले युक्रेन युद्धमा महत्वपूर्ण योगदान दिएको टिप्पणी गरेका हुन् । उनले दुर्घटनाबारे जाँच हुने पनि बताए ।

पुटिनका पूर्व सल्लाहकार सर्गेई मार्कोभले भने प्रिगोजिनको मृत्युमा युक्रेनको हात रहेको आरोप लगाए । ‘प्रिगोजिनलाई आक्रमण गर्न रुससँग कुनै कारण थिएन । तर, उनी युक्रेनका लागि खतरा थिए,’ उनले भने । युक्रेनका रक्षामन्त्रीका सल्लाहकार युरी साकले प्रिगोजिनको मृत्युले रुसलाई अझै कमजोर र अस्थिर बनाउने बताए । यसले फेरि रुस असफल राज्य बन्ने संकेत दिएको छ,’ उनले भने ।



दुर्घटनामा परेको भनिएको एम्ब्रेयर लिगेसी–६०० विमान प्रिगोजिनको निजी थियो । सन् २००२ मा कम्पनीले यो मोडलको विमान बनाउन थालेको थियो । ब्राजिलस्थित एम्ब्रेयर कम्पनीले बनाएको यो मोडलको उत्पादन सन् २०२० देखि बन्द भएको थियो । कम्पनीबाट अमेरिका लैजाने क्रममा सन् २००६ मा एकपटक मात्र मानवीय त्रुटिका कारण यो कम्पनीको विमान दुर्घटनमा परेको रेकर्ड छ ।

वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालले उनको निजी विमानलाई रुसी वायु सुरक्षाले खसालेको दाबी गरेको छ । प्रिगोजिनले गत जुनमा रुसको सेनाविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए । बेलारुसको मध्यस्थतामा पछि उनी त्यतै गएका थिए । रुसले वाग्नर फौजलाई रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको थियो । वाग्नर समूहले सुरुमा सन् २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । त्यसपछि नै यस निजी सैन्य कम्पनीको चर्चा बढेको हो ।

सन् २०२२ मा पनि यस समूहमा ठूलो संख्यामा युवाहरू भर्ती भएका थिए । युक्रेनमाथि रुसले आक्रमण गरेयता विगत डेढ वर्षदेखि रुसी सेना र वाग्नर फौज एकाकार थिए । तर, पछिल्ला केही सातामा दुई समूहबीच अविश्वास बढेको थियो, रुसी सेनाले आफ्नो शिविरमा मिसाइल आक्रमण गरेको भन्दै उत्तेजित वाग्नर सेनाले रुसी सेनाको नेतृत्व नै अपदस्थ गर्ने गरी युद्ध घोषणा गरेको थियो ।

प्रिगोजिनले एक दशक लगाएर वाग्नर समूहलाई हालको अवस्थामा ल्याए । युक्रेनसँगको युद्धमा केन्द्रमा रहेको वाग्नर समूहले रुसी प्रभावलाई विश्वभर फैलाउन पनि मद्दत गरेको छ । राष्ट्रपति पुटिनसँगको सहकार्यमा यो समूहले अफ्रिका तथा सिरियामा भूमिका बढाइरहेको छ । तर, अब प्रिगोजिनको मृत्यु खबरपछि वाग्नर समूहको भविष्य के होला, नेतृत्व कसले लेला भन्ने प्रश्न उब्जिएको छ ।

बेलायतको रोयल युनाइटेड सर्भिसेस इस्टिच्युटका अनुसन्धानकर्ता जोआना डि डेस परेरा प्रिगोजिनको मृत्युपछि वाग्नर समूहमा केही सुधार आउने अपेक्षा गर्छिन् । तर, विश्वभर वाग्नर समूहको भूमिकामा भने खासै परिवर्तन नआउने उनले बताइन् । ‘निश्चय नै वाग्नरको नेतृत्वमा कोही आउनेछन् । तर, विगतमा यो समूहले परिवर्तनलाई आत्मसात् गरेका उदाहरण छन्,’ उनले भनिन् । वाग्नर समूहलाई व्यक्तिगत नभई संस्थागत रूपमा बुझ्नुपर्ने उनको भनाइ छ ।

एट्लान्टिक काउन्सिलका सुरक्षा विश्लेषक रुस्लान ट्राड वाग्नर समूहको नेतृत्वमा रुसले आफ्नो जासुसी संयन्त्रका कसैलाई स्थापित गर्न सक्ने बताउँछन् । तर, यो समूहलाई चलाउन कुनै लगानीकर्ता खोज्नुपर्ने बाध्यता पुटिनलाई रहेको उनको भनाइ छ, जसले पुटिनको शासन व्यवस्थालाई पनि चुनौती दिन नसकोस् । ‘त्यसकारण उनीहरू नयाँ लगानीकर्ता खोज्ने प्रयास गर्नेछन्, सायद उनीहरू पुटिनको नजिकका व्यक्तिलाई चयन गर्नेछन्,’ उनले भने ।

रुसी राष्ट्रपति पुटिनले वाग्नर समूहको नेतृत्व बदल्न दुई महिनाको समूह लिएको र अब रुसको जासुसी संस्था जीआरयूका जनरल एन्ड्री एभरिनोभ उक्त समूहको प्रमुख बन्न सक्ने केही विश्लेषकहरूको भनाइ छ । विश्लेषकहरूका अनुसार प्रिगोजिनजस्तो व्यक्ति भविष्यमा आफ्नै लागि खतरनाक हुने भएपछि क्रेमलिनले विश्वासपात्रलाई वाग्नरको प्रमुख बनाउन सक्नेछ ।

युक्रेनसँगको युद्धमा वाग्नर मुख्य र प्रभावकारी सैन्य बल बनेको थियो । यसले रक्तपातपूर्ण लडाइँपछि युक्रेनका पूर्वी सहरहरू सोलिदार र बाख्मुतमा कब्जा जमाउन सफल भएको थियो । तर, पछिल्लो समय युक्रेन युद्धमा वाग्नर समूहको निष्क्रियताका कारण प्रिगोजिनको मृत्युले युद्धमा कुनै असर नपार्ने विश्लेषकहरू बताउँछन् । विद्रोहपछि वाग्नर समूह युक्रेनसँगको युद्धबाट बाहिरिएको रोयल युनाइटेड सर्भिसेस इस्टिच्युटकी एमिली फेरिसले बताइन् ।

‘विद्रोहपछि केही सैनिक प्रिगोजिनको पछि लागेर बेलारुस पुगे, केहीलाई रुसको रक्षा मन्त्रालयले आफ्नो मातहतमा ल्यायो । त्यसैले पछिल्लो घटनाले युक्रेन युद्धमा खासै असर गर्दैन,’ उनले भनिन् । गत जुनको असफल विद्रोहपछि प्रिगोजिनसँगै ८ हजार सैनिक बेलारुसतर्फ लागेको थियो । उनको मृत्युको खबरपछि बेलारुसका मात्र नभई अन्यत्र रहेका वाग्नर समूहको सैनिकहरूको भविष्य अनिश्चित भएको छ ।

पछिल्लो समय रुसीको विदेशी नीतिलाई कार्यान्वयन एउटा मुख्य आधारस्तम्भ वाग्नर बनेको थियो । यसले सिरियामा रुस समर्थित सरकारसँग मिलेर लडाइँ गर्नुका साथै अफ्रिकी देशहरू माली, सेन्ट्रल अफ्रिका, लिबियामा खानी उत्खननको बदलामा त्यहाँका सरकारलाई समर्थन पनि गर्दै आएको थियो । हालै निजेरमा भएको ‘कु’ पछि त्यहाँ पनि वाग्नर समूह भित्रिन सक्ने पश्चिमा विश्लेषकहरूले बताएका थिए । प्रिगोजिनको मृत्युपछि पनि वाग्नर समूहको भूमिका उस्तै हुने विश्लेषकहरूको आकलन छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...
: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्। गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका ...
— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ...
— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का ...