— भारतका विराट कोहली र पाकिस्तानका बाबर आजम टेस्ट, एकदिवसीय र ट्वान्टी–२० गरी क्रिकेटका सबै संरचनाका उत्कृष्ट ब्याटर हुन् । विश्वका यिनै शीर्षस्थ खेलाडी समावेश गरेको भारत र पाकिस्तान जस्ता शक्तिशाली राष्ट्रसँग खेलेर नेपालले एसिया कप क्रिकेटमा पाइला राख्दै छ ।
कोहलीलाई गत वर्ष भारतको कप्तानीबाट हटाइएको थियो । त्यही पनि भारतको ब्याटिङमा उनी प्रमुख आधार हुन् । विशेष गरी भारतले पाकिस्तानसँग खेल्दा उनको ‘एग्रेसन’ ले ठूलो भूमिका खेलेको हुन्छ । आजम वर्तमानका उत्कृष्ट खेलाडी हुन् । उनको कप्तानीमा पाकिस्तानले पछिल्लो समय राम्रो खेल्दै आएको छ ।
भारत र पाकिस्तानसँग खेल्दा कोहली र आजम मात्र नेपालले सामना गर्नुपर्ने सुपर स्टार होइनन् । रोहित शर्मा, इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या रहेको ब्याटिङ लाइन–अपमा सुबमन गिलजस्त युवा खेलाडीले भारतीय ब्याटिङ झनै मजबुत भएको छ । फिटनेससँग जुधिरहेका केएल राहुल सम्भवतः नेपालसँग खेल्ने छैनन् । चोटपछि उनीसँगै श्रेयस ऐर एसिया कपबाट भारतीय टोलीमा फर्किएका थिए ।
आजम अहिले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा विश्व नम्बर एक ब्याटर हुन् । वरीयतामा शीर्ष पाँच ब्याटरमध्ये पाकिस्तानका तीन खेलाडी रहेका छन् । पाकिस्तानी ओपनरद्वय इमाम उलहक र फखर जमान विश्व वरीयतामा क्रमशः तेस्रो र पाँचौं स्थानमा छन् । पाकिस्तानलाई श्रीलंकामा अफगानिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा विजयी बनाउँदा इमामले ९१ र आजमले ५२ रन बनाएका थिए । उनीहरूले दोस्रो विकेटमा १ सय १८ रनको साझेदारी गरेपछि पाकिस्तानले ३ सय १ रनको लक्ष्य पार गरेको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा बाबरले १८, जमानले १० र इमामले ९ शतक बनाइसकेका छन् ।
तीव्र बलिङले भारत र पाकिस्तानलाई झन् स्थापित गरेको छ । दुई प्रमुख बलर भारतका जस्प्रित बुमराह र पाकिस्तानका साहिन अफ्रिदी हालै मात्र राष्ट्रिय टोलीमा फर्किएका छन् र अक्टोबर–नोभेम्बरमा हुने विश्वकपअघि एसिया कपमा आफूलाई अब्बल सावित गर्ने प्रयासमा छन् । ११ महिना चोटले थलिएपछि बुमराहले त
आफ्नो पुनरागमनमै आयरल्यान्डसँगको तीन ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भारतको कप्तानी गरेका थिए । इंग्ल्यान्डमा द हन्ड्रेडमा खेलेर आफ्नो फिटनेस प्रमाणित गरिसकेका अफ्रिदी अफगानिस्तानविरुद्ध श्रीलंकामा भइरहेको एकदिवसीय शृंखलामा पाकिस्तानबाट सबै ३ खेलमा २–२ विकेट लिएका थिए ।
चोटका कारण एक वर्षपछि पुनरागमन गरे पनि अफ्रिदी एकदिवसीय अन्तर्राष्ट्रिय बलिङ वरीयतामा नवौं स्थानमा छन् । उनीसँगै हरिस राउफ र नसिम शाहको तीव्र बलिङमा विपक्षी ब्याटरलाई खुलेर खेल्न हम्मे पर्छ । बुमराहको सहयोगीका रूपमा रहेका मोहम्मद सिराज एकदिवसीय अन्तर्राष्ट्रिय बलिङ वरीयतामा पाँचौं र स्पिनर कुलदीप यादव दसौं स्थानमा छन् । भारतका स्पिनरद्वय अक्षर पटेल र रवीन्द्र जडेजा, तीव्र बलर मोहम्मद सामी, सार्दूल ठाकुर पनि राम्रो लयमा छन् ।
पहिलो पटक एसिया कप खेल्न लागेको नेपाली टोली यी सबै तथ्यबाट परिचित छ । भारत र पाकिस्तान जस्ता राष्ट्र र तिनका विश्वस्तरीय खेलाडीसँग खेल्न पाउनुलाई नेपालले ठूलो अवसर र उत्सवका रूपमा लिएको छ । सबै नेपाली खेलाडी यो अवसरलाई लिएर निकै उत्साहित छन् र उत्सव मनाउन तयार छन् । सहायक प्रशिक्षक वसन्त शाही विश्व क्रिकेटको मानचित्रमा ठूलो टोलीका रूपमा रहेका भारत र पाकिस्तानसँग नेपालले खेल्ने सौभाग्य पाएको जनाउँछन् र यसले भविष्यमा नेपाली क्रिकेटमा ठूलो प्रभाव पार्ने विश्वास उनले लिएका छन् ।
‘भारत, पाकिस्तान ठूला टोली हुन् भनेर हामी अत्तालिएका छैनौं, हामीले राम्रो खेल्न कोसिस गर्ने हो । खेल्ने भनेको सबैले एउटै हिसाबमा हो । कुनै पनि देशको एउटा ठूलो खेलाडीले स्ट्रेट ड्राइभ गर्छ भने नेपाली खेलाडीले खेल्ने पनि त्यसरी नै हो । त्यही बललाई स्ट्रेट ड्राइभ नै खेल्ने हो, सर्ट बललाई पुल, हुक हान्ने नै हो, ब्याटरले गर्ने त्यही हो । हाम्रा खेलाडीले पनि हान्ने त्यही हो,’ शाहीले भने, ‘खालि अलिकति परिवर्तन भनेको म यो बल खेल्न सक्छु कि सक्दिनँ, आउट हुन्छु कि भन्ने जुन मनभित्र डर हुन्छ त्यो नेपाली टोलीमा अहिले धेरै परिवर्तन आइसकेको छ । हामी खेल्न सक्छौं, गर्न सक्छौं भन्ने आँट हाम्रा खेलाडीमा देखिन्छ ।’
नतिजा आफ्नो हातमा हुँदैन, तर नेपालको प्रयास उनीहरू विरुद्ध जसरी पनि राम्रो खेल्ने हुने शाही जनाउँछन् । प्रतिद्वन्द्वी को छ भनेर खेल्न लागियो भने
आफ्नो स्वाभाविक खेल देखाउन नसकिने उनी बताउँछन् । नेपालले गुमाउनु केही नभएकाले कुनै किसिमको दबाब नभएको उनी दाबी गर्छन् । नेपालले राम्रो गर्न सकेमा त्यो ठूलो उपलब्धि हुने निष्कर्षमा उनी छन् ।
शाही नेपालको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो पुस्ताका खेलाडी हुन् । नेपालले सन् १९९६ मा मलेसियामा एसीसी ट्रफीबाट अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा गर्दाका प्रमुख बलर हुन् उनी । ‘१९९६ मा हाम्रो पहिलो खेल बंगलादेशसँग थियो, त्यत्तिखेर पनि हाम्रो तुलनामा बंगलादेश ठूलो टोली थियो । आज बंगलादेशको क्रिकेट कहाँबाट कहाँ पुग्यो,’ शाहीले भने, ‘जुन किसिमको सपना देखेर हामीले अन्तर्राष्ट्रिय क्रिकेटको सुरुआत गरेका थियौं, आज जुन स्थितिमा पुगेको छ नेपालको क्रिकेट, त्यसले निकै खुसी दिएको छ । किनभने अब हामी भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा गर्दै छौं ।’
कप्तान रोहित पौडेल पूर्वखेलाडीहरूले छाडेको लेगेसीलाई आफू सम्मिलित नेपाली टोलीले लिएर अगाडि बढेको जनाउँछन् । उनले भने, ‘कति धेरै सिनियर खेलाडीको प्रयास छ नेपाली क्रिकेट यहाँसम्म पुग्नलाई । म पारस (खड्का) दाइ, ज्ञानु (ज्ञानेन्द्र मल्ल) दाइ, शरद (भेषावकर) दाइ, शक्ति (गौचन) दाइ, वसन्त (रेग्मी) दाइलाई हेरेर हुर्किएको थिएँ । उहाँहरूको धेरै योगदान छ नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन । उहाँहरूले रोपेका फल नै हामीले खाइरहेका छौं ।’
एसिया कप खेल्न जानुअघि प्रशिक्षक मोन्टी देशाई विश्वकप लिग–२ मा नेपालले १२ मध्येको ११ खेल जितेर ‘जादु’ गरेको स्मरण गर्दै थिए । लिग–२ बाट रेलिगेसनमा पर्ने निश्चित जस्तै रहेको अवस्थामा अन्तिम १२ मध्येको ११ खेल जितेर नेपाल विश्वकप छनोटमा पुगेको थियो । त्यसमा नेपालले वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्ड जस्ता टेस्ट राष्ट्रसँग खेल्ने मौका पाएको थियो ।
एसिया कप तथा भारत र पाकिस्तानसँगको भेट भौगोलिक हिसाबमा नेपालका लागि धेरै नजिकका हुन् । तर, हरेक पटक नेपालका लागि यो जति नजिक त्यत्ति टाढा बन्दै गयो । अप्रिलमा काठमाडौंमै भएको एसीसी प्रिमियर कप जितेपछि बल्ल नेपालले एसिया कपको ढोका खोलेकाले नजिकका छिमेकी भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा गर्दै छ । नेपालले समूह चरणमा पाएका यी दुई प्रतिद्वन्द्वीमध्ये पाकिस्तानसँग अगस्ट ३० मा मुल्तान र भारतसँग सेप्टेम्बर ४ मा श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।
भारत र पाकिस्तानसँग खेलिन्छ भनेर हिजोको दिनमा कहिल्यै नसोचिएको कप्तान रोहितले बताउँदै आएका छन् । यो अवसरलाई सम्मान दिएर खेल्ने नेपाली टोलीको योजना रहेको उनी सुनाउँछन् । बुधबार मुल्तान क्रिकेट रंगशालामा रोहित टसका लागि पाकिस्तानी समकक्षी बाबर आजमसँगै सेन्टर विकेटमा पुगेपछि नेपाली क्रिकेटले देखेको एउटा ठूला सपना पूरा हुनेछ । आजम तिनै हुन् जसलाई कोहलीले हालै ‘सम्भवतः विश्वको उत्कृष्ट ब्याटर’ भनी तारिफ गरेका थिए ।