— डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो शतप्रतिशत जितको प्रदर्शनको क्रम कायम राख्दै आइतबार सेफिल्ड युनाइटेडलाई २–१ ले हराएको छ । लगातार तेस्रो जितपछि अधिकतम नौ अंकसहित सिटी शीर्ष स्थानमा उक्लेको छ ।
पेप ग्वार्डिओलाको सिटीका लागि रोड्रीले खेल सकिन एक मिनेट अगाडि निर्णायक गोल गरे । खेल बराबरीतर्फ अग्रसर भएको स्थितिमा रोड्रीले शक्तिशाली प्रहारको मद्दतले गोल गरेका हुन् । त्यस अगाडि जेडन बोग्लले ८५ औं मिनेटमा सेफिल्डका लागि बराबरी गोल गरेका थिए । इर्लिङ हल्यान्डले ६३ औं मिनेटमा सिटीका लागि पहिलो गोल गरे । ब्रामल लेनमा भएको खेलमा हल्यान्ड ३७ औं मिनेटमा पेनाल्टीबाट गोल गर्न भने चुके ।
सेफिल्डको यो लगातार तेस्रो हार हो र टिम शून्य अंकमा रहेको छ । आइतबारकै अर्को खेलमा एस्टन भिल्लाले बर्नलीलाई ३–१ ले पराजित गर्यो । भिल्लाका लागि म्याटी क्यासले दुई गोल गरे । उनले आठौं मिनेटमा पहिलो गोल गरेपछि २० औंमा मिनेटमा दोस्रो थपेका हुन् । लेल फोस्टरले ४७ औं मिनेटमा एक गोल फर्काएयता मोसे डिआबेले ६१ औं मिनेटमा तेस्रो गोल गरे ।
भिल्लाको यो जितपछि तीन खेलबाट छ अंक भएको छ । नयाँ सिजनको पहिलो लिग खेल गुमाएको भिल्लाले त्यसयता लगातार दुई खेलमा जित निकालेको छ । त्यस अगाडि वेस्ट ह्यामले शनिबारको खेलमा ब्राइटनलाई ३–१ ले पराजित गर्दै आफ्नो स्थिति मबजुत बनाएको थियो ।
यो नतिजाले ब्राइटनको लगातार जितको सुरुआतमा पूर्णविराम लागेको छ । लिग तालिकामा वेस्ट ह्यामको तीन खेलबाट सात अंक भएको छ र दोस्रोमा रहेको छ । टोटेनहम र आर्सनल पनि समान सात अंकमा छन् । टोटेनहमले यसअघि बर्नमाउथलाई २–० ले हराएको थियो । यस्तै आर्सनलले फुलहमसँग २–२ को बराबरी खेल्यो ।
म्यानचेस्टर युनाइटेडले भने उत्कृष्ट पुनरागमन रच्दै १० खेलाडीमा सीमित नटिङघम फरेस्टलाई ३–२ ले पराजित गर्यो । त्यसमा ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट ७६ औं मिनेटमा निर्णायक गोल गरे । एभरटनले लगातार तेस्रो हार सामना गर्ने क्रममा गुडसन पार्कका भएको खेलमा उल्भ्ससँग १–० ले पछाडि पर्यो । गत सिजन रेलिगेसनबाट कठिन संघर्षपछि बचेको एभरटन बिनाकुनै अंक लिग तालिकाको अन्तिम स्थानमा छ र यसपल्ट पनि घटुवा हुनबाट जोगिन संघर्षरत रहने निश्चित देखिएको छ । यस्तै ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले १–१ को रोमाञ्चक बराबरी खेले ।
इटाली
मिलान– क्रिस्टियन पुलिसिचले आफ्नो उत्कृष्ट लय कायम राख्दै गोल गरेपछि एसी मिलानले इटालीको सिरी ए मा शनिबार टुरिनोलाई सजिलै ४–१ ले हरायो र लिग तालिकाको शीर्षस्थानमा उक्लियो । मिलानको यो लगातार दोस्रो जित हो । यो जितमा ओलिभर जिरोडले पेनाल्टीबाट दुई गोल पनि गरे भने एक अर्को गोल थिओ हर्नान्डेजको नाममा रह्यो । अर्को खेलमा भने एएस रोमा भेरोनाको हातबाट २–१ ले पराजित रह्यो ।
स्पेन
म्याड्रिड– स्पेनी ला लिगामा भएको खेलमा जिरोनालो सेभियालाई २–१ ले हरायो । यो जितसँगै जिरोना तीन खेलबाट सात अंकसहित लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । उसको अगाडि रियल म्याड्रिड नौ अंकमा रहेको छ । जिरोनाका लागि एलेक्स गार्सियाले दोस्रो हाफको ५६ औं मिनेटमा निर्णायक गोल गरे । सेभियाका लागि भने इभान र्याकिटिचले ६१ औं मिनेटमा गरेको गोललाई ‘भार’ ले मान्यता दिएन र यससँगै खेल बराबरीमा टुंग्याउन अवसर गुमेको थियो ।
फ्रान्स
पेरिस– केलियन एमबाप्पे पूर्णतः छाएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा लेन्सलाई ३–१ ले हरायो । त्यसमा एमबाप्पेले दुई गोल गरे । उनले
आफ्नो घरेलु मैदानमा भएको खेलमा सुरुदेखि पहिलोपल्ट खेले । पीएसजी यसअघि लिगका सुरुआती दुवै खेलमा बराबरीमा रोकिएको थियो । यो जितपछि पीएसजी चौथोमा उक्लेको छ र यो शीर्षस्थानमा रहेको मोनाको तथा मार्सेसँग दूरीदुई अंकको दूरीमा छ ।