— महत्त्वाकांक्षी साउदी अरेबियाले आफ्नो राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा सोमबार इटालीका रोबर्टो मानचिनीलाई नियुक्त गरेको छ । इटालीको प्रशिक्षकबाट राजीनामा दिएको दुई सातापछि उनले नयाँ जिम्मेवारी सम्हाल्न लागेका हुन् ।
उनले साउदी फुटबल संघसँग सन् २०२७ सम्मका लागि अनुबन्ध गरेका छन् र उनको प्रत्येक वर्षको पारिश्रमिक दुई करोड ७० लाख डलर रहनेछ । मानचिनीकै नेतृत्वमा इटालीले युरो २०२० को उपाधि जितेको थियो, तर त्यसयता इटाली विश्वकपमा भने छनोट हुन सकेन ।
सन् २०१२ मा म्यानचेस्टर सिटीले मानचिनीकै नेतृत्वमा पहिलो पल्ट इंग्लिस प्रिमियर लिग जितेको थियो । उनले फियोरेन्टिना, लाजियो, इन्टर मिलान, गालाटासारे र जेनिथ सेन्ट पिटर्सबर्ग पनि सम्हालेका छन् ।
साउदी अरेबियाले पछिल्लो समय आफ्ना प्रो–लिगमा पनि ठूलो आकारमा लगानी गरेको छ ।