सूर्यतर्फ आदित्य–एलवान
सूर्यतर्फ आदित्य–एलवान

बीबीसी : भारतले सूर्यको अनुसन्धान गर्ने पहिलो अन्तरिक्ष अभियान शनिबार सफलतापूर्वक प्रक्षेपण गरेको छ। आदित्य एलवान बोकेको रकेटलाई हेर्न दक्षिण भारतमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणस्थलमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो। चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने उक्त स्थलबाट भारतीय समयअनुसार शनिबार बिहान ११ बजेर ५० मिनेट जाँदा उक्त रकेट प्रक्षेपण गरिएको हो।

भारतीय अन्तरिक्ष निकाय इसरोले अन्तरिक्ष यान रकेटबाट छुट्टिएर आफ्नो लामो यात्रा सुरु गरिसकेको जनाएको छ। सूर्य मिसन भए तापनि यस अन्तरिक्ष यान सूर्यको नजिकै भने जाने छैन। आदित्य एलवान पुग्नुपर्ने दूरी पृथ्वीबाट १५ लाख किलोमिटर छ। जुन पृथ्वी र चन्द्रमा बीचको दूरीको चार गुणा हो। तर, त्यो सूर्य र पृथ्वी बीचको दूरीको झन्डै एक प्रतिशत मात्र हो। पृथ्वीदेखि सूर्यको दूरी भने १५ करोड १० लाख किलोमिटर छ।

मिसनको सफल प्रक्षेपणपछि वैज्ञानिकहरूलाई बधाई दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘चन्द्रयान–३ को सफलतापछि भारतको अन्तरिक्ष यात्रा जारी छ। भारतको पहिलो सूर्य मिसन आदित्य एलवानको सफल प्रक्षेपणका लागि इसरोका सबै वैज्ञानिक तथा इन्जिनियरहरूलाई बधाई।’ यस मिसनले अन्तरिक्षको मौसम केले सञ्चालन गर्छ भन्नेबारे समेत अध्ययन गर्नेछ।

सौर्य आँधीको प्रक्रियाकाबारे समेत थप धेरै बुझ्ने प्रयास गर्ने बताइएको छ। भारतीय अन्तरिक्ष निकाय इसरोले उक्त दूरी तय गर्नका लागि चार महिना लाग्ने जनाएको छ। गत साता भारत सफलतापूर्वक चन्द्रमामा अवतरण गर्ने चौथो देश बनेको थियो जहाँ यसअघि अमेरिका, रूस र चीन पुगेका छन्।
सूर्यसम्म पुग्न यसलाई कति समय लाग्छ ?

अन्तरिक्षमा पठाइएको यान खासमा हाम्रो सबैभन्दा नजिकको तारा सूर्यमा पुग्ने होइन। नासाले अन्तरिक्षमा पठाएको पार्कर नामक यान एक साताअघि मात्रै शुक्र ग्रहको नजिक भएर गएको छ र त्यो अन्ततः सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढाको बिन्दुसम्म पुग्नेछ। ‘प्रक्षेपण गरिएदेखि लाग्राञ्ज बिन्दु एलवान भनिने अन्तरिक्षको स्थानसम्म पुग्नका लागि आदित्य– एलवान लाई करिब चार महिना लाग्नेछ,’ भारतको अन्तरिक्ष अनुसन्धान अर्गनाइजेसन (इसरो) ले एक्स (पहिलेको ट्वीटर)मा लेखेको छ।

लाग्राञ्ज बिन्दु भनेको के हो ?

आदित्यको अर्थ संस्कृतमा सूर्य हो। आदित्य एलवानको नाममा उल्लेख भएको एलवानले लाग्राञ्ज पोइन्ट भनिने अन्तरिक्षको निश्चित स्थानलाई जनाउँछ जहाँ अन्तरिक्षका सूर्य र पृथ्वी जस्ता दुई विशाल खगोलीय पिण्डहरूबीचको गुरुत्वाकर्षणको शक्ति बराबर अथवा सन्तुलित अवस्थामा रहेको हुन्छ।
त्यस्तो सन्तुलित गुरुत्वाकर्ण भएको क्षेत्रलाई अन्तरिक्ष यानले इन्धन खपत घटाउनका लागि प्रयोग गर्न सक्छ। त्यस्तो क्षेत्रको नाम फ्रान्सका गणितज्ञ जोसेफ–लुई लाग्राञ्जको नामबाट राखिएको हो जसले १८औं शताब्दीमा पहिलोपटक त्यसबारे अध्ययन गरेका थिए।

सौर्य गतिविधिको अवलोकन

भारतीय अन्तरिक्ष यानले जम्मा सातवटा भारीहरू ‘पे लोड’ बोकेको छ जसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ। र, त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टरजस्ता उपकरणको प्रयोग गरिनेछ। ‘एक पटक यसको कक्षमा स्थापित भइसकेपछि यो अन्तरिक्ष ‘वेधशालाले’ सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ,’ इसरोले भनेको छ, ‘यसबाट सौर्य गतिविधिलाई अवलोकन गर्न पहिलभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभई वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने अवसर उपलब्ध गराउँछ।’

यसले वायुमण्डलबाट छानिएर आउने हुनाले पृथ्वीबाट अध्ययन गर्न नसकिने रेडिएसन अर्थात् विकिरणको अध्ययन गर्न पनि सघाउने छ। यसको विशेष अन्तरिक्ष अवस्थितिका कारण यो यानमा रहने चारवटा ‘पे लोड’ हरूले सूर्यलाई सीधा अवलोकन गर्नेछन्। बाँकी तीनवटा पेलोड्सले चाहिँ लाग्राञ्ज बिन्दु एलवानमा रहेका कणहरू र प्रभाव क्षेत्रहरूको अध्ययन यानमा नै रहेर अध्ययन गर्ने छन्। त्यसबाट विभिन्न ग्रहहरूबीचका अन्तरिक्षमा रहेका स्थानहरूमा सौर्य गतिविधिका प्रभावहरूबारे महत्वपूर्ण जानकारीहरू प्राप्त हुनेछन्। इसरोले यो मिसनले कोरोनल हिटिङ, कोरोनल मास इजेक्सन, सोलार फ्लेअर्स जस्ता सौर्य गतिविधि र तिनका गुणहरूका साथै अन्तरिक्षको मौसमका प्रक्रियाहरूबारे महत्वपूर्ण जरुरी जानकारीहरू प्रदान गर्ने आशा व्यक्त गरेको छ।

आदित्य एलवान मिसनको लागत कति ?

भारतीय सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो। यसको लागत करिब ४ करोड ६० लाख अमेरिकी डलर लागेको जनाइएको छ। भारतको अन्तरिक्ष निकायले यसका लागि वास्तविक रूपमा जम्मा कति लागत लाग्यो भन्ने यकिन विवरण सार्वजनिक गर्न बाँकी नै छ र यो अन्तरिक्ष यान पाँच वर्षभन्दा बढी समयका लागि अन्तरिक्षमा रहने गरी बनाइएको छ।

इसरोले गहिरो अन्तरिक्ष मिसनका लागि कम शक्तिशाली रकेटहरूको प्रयोग गर्छ र यानको अगाडिका थप अन्तरिक्ष यात्राका लागि गुरुत्वाकर्षण बलको प्रयोग गर्छ। यसले चन्द्रमा, मंगल ग्रहजस्ता गन्तव्यमा पुग्नका लागि आवश्यक समयलाई बढाउँछ तर यसले गह्रँुगो रकेटहरूको प्रक्षेपण लागत भने उल्लेख्य अनुपातमा घटाउँछ।

यही उपायका कारण भारतको अन्तरिक्ष निकायले हालैका समयमा तुलनात्मक रूपमा थोरै बजेटमा पनि ठूला सफलताहरू हासिल गर्न सकेको छ। मानवरहित चन्द्रयान–३ अभियान गत साता चन्द्रमाको सतहमा अवतरण गरेको छ। चन्द्रमामा सफल अवतरण गर्ने अमेरिका, रूस र चीनपछि भारत चौथो र चन्द्रमाको दक्षिणी ध्रवमा पुग्ने पहिलो राष्ट्र बनेको छ। सन् २०१४ मा मंगल ग्रहको कक्ष वरिपरि यान राख्ने भारत पहिलो एसियाली मुलुक बनेको थियो। र, भारतले अब अर्को वर्ष पृथ्वीको कक्षमा मानवसहितको तीन–दिने अन्तरिक्ष मिसन पठाउने योजना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...