: नवलपरासीको बर्दघाट नगरपालिका-७ स्थित नेहा अक्वा इण्डष्ट्रिजले उत्पादन गर्दै आएको ‘नेहा अक्वा’ नामक मिनरल वाटरमा कोलिफर्म भेटिएको छ।
बजारमा पठाइएको पानीमा अखाद्य वस्तु भेटिएपछि नगरपालिकाको टोलीले अनुगमन गरेर पानी परीक्षणका लागि पठाएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयमा परीक्षणका लागि पठाइएको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट आएको नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले बताए।
पानीमा कोलिफर्म भेटिएपछि उद्योगलाई ४८ घण्टाभित्र बजारमा पठाइएका सबै पानी फिर्ता ल्याउन नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको थियो।
तर, ५ दिन बितिसक्दा पनि उद्योगले पानी फिर्ता लगेको बारे जानकारी नगराएको सूचना अधिकारी काफ्लेले बताए। पानीमा ब्याक्टेरिया भेटिएपछि नगरवासीलाई उक्त पानी नपिउन नगरपालिकाले आग्रह गरेको छ।