— चन्द्रयान–३ को सफल अवतरणपछि भारतले सूर्यको अध्ययन गर्न शनिबार रकेट प्रक्षेपण गरेको छ । आदित्य एल–१ नामको रकेटलाई वैज्ञानिक उपकरणसहित सूर्यको बाहिरी सतह अध्ययन गर्न चार महिनाको यात्राका लागि पठाइएको हो ।
उक्त रकेटले सौर्य वायुहरूको अध्ययन गर्ने बताइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार सूर्यको व्यवस्थित अध्ययनका लागि रकेटले सातवटा ‘साइन्टिफिक पेलोड’हरू बोकेर त्यसतर्फ जाँदै गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आदित्य एल–१ लाई चार महिनामा १५ लाख किमि अर्थात् ९ लाख ३० हजार माइल यात्रा गर्न सक्ने गरी डिजाइन गरिएको छ । यो दूरी पृथ्वी र चन्द्रमाबीचको दूरीको चार गुणा बढी हो, जबकि सूर्य र पृथ्वीबीचको दूरीको केवल १ प्रतिशत मात्र हुन आउँछ । पृथ्वीबाट सूर्यको दूरी १५.१ करोड किमि छ ।
मिसनअन्तर्गत एल–१ नामको प्वाइन्टमा रहेर यानले अध्ययन सुरु गर्नेछ । उक्त प्वाइन्टलाई अन्तर्राष्ट्रिय रूपमा ‘ल्यागरेन्ज’ भनिन्छ । यो स्थानको नाम फ्रान्सेली गणितज्ञ लुइस ल्यागरेन्जको नाममा राखिएको हो, जसले १८ औं शताब्दीमा यो बिन्दुको खोजी गरेका थिए । यो अन्तरिक्षको एक यस्तो स्थान हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुन्छ । यो एक प्रकारको न्यूट्रल प्वाइन्ट पनि हो, जहाँ अन्तरिक यानको इन्धन सबैभन्दा कम खपत हुन्छ । भारतको यो पहिलो सूर्य मिसन हो । यसअघि नासा र युरोपेयिन स्पेन्स एजेन्सी (ईएसए) ले पनि सूर्यको अध्ययन गर्न रकेट प्रक्षेपण गरेका थिए । भारतको रकेटले अन्तरिक्षको मौसम र त्यहाँको हलचलका बारेमा पनि अध्ययन गर्नेछ । ‘यसबाट सूर्यको विकिरणको पनि अध्ययन हुनेछ, जुन पृथ्वीको आउने क्रममा यहाँको वातावरणका कारण फिल्टर हुने गरेको छ,’ इसरोले जनाएको छ ।
भारत सरकारले सन् २०१९ मा यो प्रोजेक्टका लागि अनुमति दिएको थियो, जसको लागत ४.६ करोड अमेरिकी डलर छ । यो यान ५ वर्षसम्म अन्तरिक्षमा रहने बताइएको छ । शनिबार रकेट प्रक्षेपण गरेको दृश्य इसरोले प्रत्यक्ष प्रसारण गर्दा ८ लाख ६० हजारभन्दा धेरै दर्शकले एकै पटक अवलोकन गरेका थिए । भारतको मानवरहित चन्द्रयान–३ पछिल्लो साता चन्द्रमाको सतहमा उत्रिएको थियो । यसका साथै भारत अमेरिका, रुस र चीनपछि चन्द्रमा मिसन सफलतापूर्वक सम्पन्न गर्ने चौथो देश बनेको थियो । भारतले आगामी वर्ष पृथ्वीको कक्षमा तीन दिनका लागि मानवयुक्त मिसन पठाउने तयारी गरिरहेको छ ।