— किशोर खेलाडी इभान फर्गुसनको ह्याट्रिकको मद्दतले ब्राइटनले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई ३–१ ले हराएको छ । आयरल्यान्डका १८ वर्षीय स्ट्राइकरले २७, ६५ र ७० औं मिनेटमा गोल गरे ।
यस जितपछि ब्राइटनको चार खेलबाट नौ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ । यसअघिका अन्य खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले फुलहमलाई ५–१ र टोटनहमले बर्नलीलाई ५–२ ले हरायो ।
सिटीका लागि इर्लिङ हालान्ड तथा टोटनहमका लागि सन ह्वेङ–मिनले ह्याट्रिक गरे । चेल्सी भने घरमा नटिङघम फरेस्टको हातबाट १–० ले पराजित भयो । सेफिल्ड र एभरटन तथा ब्रेन्टफोर्ड र बर्नमाउथले समान २–२ को बराबरी खेले ।