क्रिकेटका चिल साहिन
क्रिकेटका चिल साहिन

— आज फेरि भारतविरुद्ध पाकिस्तानको खेल छ, एसिया कपमा । प्रतियोगिताको सुपर–फोरमा यी दुई छिमेकी प्रतिद्वन्द्वी भिड्न लागेका हुन् । श्रीलंकाको कोलम्बोमा खेल हुँदै छ । डर छ, कतै खेल फेरि एकपल्ट वर्षाले प्रभावित हुने त होइन ?

कोलम्बोमा यतिखेर छिनछिनमा पानी परिरहेको छ । भारत र पाकिस्तान समूह चरणमा भिड्दा पनि खेल पूरा हुन पाएको थिएन, पानीकै कारण । तर यसपल्ट थप एउटा फरक व्यवस्था छ, साँच्चै पानीले खेल विथोलियो भने भोलि ‘रिजर्भ डे’ पनि राखिएको छ ।

त्यसो भनेको आजको खेल वर्षाले जहाँ जुन स्थितिमा रोकिन्छ, त्यो फेरि भोलि त्यहींबाट सुरु हुनेछ । त्यसको अर्थ खेल पूरा हुने सम्भावना धेरै छ । विश्व क्रिकेटमा जति बेला भारत र पाकिस्तान भिड्छन्, त्यो ‘ब्लकबस्टर’ हुने गर्छ । लिग चरणको खेलमा स्पष्ट जित–हार निस्कन नसकेको स्थितिमा अबको खेलको महत्त्व अझ बेसी छ । अनि यही पृष्ठभूमिबीच सबैको नजर एक खेलाडीमा हुनेछ र तिनलाई फास्ट बलिङमा महारथ प्राप्त छ ।

उनी हुन्, पाकिस्तानका साहिन खान अफ्रिदी । ‘द इगल्स’ नामले पनि बोलाइन्छ, उनलाई । खेलकुदमा प्रत्येक खेलाडीको कुनै न कुनै यस्तै नाम हुने गर्छ, जसले उनको खेल व्यक्तित्वबारे केही न केही भनिरहेको हुन्छ । ‘द इगल्स’ ले साहिनबारे धेरैथोक भन्छ, जस्तो उनी आफ्नो सिकारका लागि चीलले जस्तै धारिलो आक्रमण गर्छन् । फेरि उर्दूमा साहिनको अर्थ पनि चील नै हुने रहेछ । यस्तोमा के नै फरक पर्छ र ‘साहिन चील हुन्’ भन्न ।

विश्व क्रिकेटमा अहिले कोही एक ओपनिङ फास्ट बलरको जगजगी छ भने ती साहिन नै हुन् । त्यसको नमुना त अहिलेसम्म एसिया कपमै देखिएको छ । पाकिस्तानले बरोबर यस्ता अब्दल दर्जाका फास्ट बलरहरू उत्पादन गर्ने गर्छन् । केही वर्ष अगाडिसम्म विश्व क्रिकेटमा वासिम अक्रम र वकार युनिसले तहल्का मच्चाएका थिए । यो भयो सन् नब्बेपछिको कुरा । त्यसपछि पालो आयो, सोएब अख्तरको । अबको समय भने साहिनको ।




एसिया कपमा पाकिस्तानको पहिलो खेल नेपालविरुद्ध थियो । त्यसमा उनले पाँच ओभरमा २७ रन मात्र खर्चे अनि लिए, ती दुई विकेट । भारतविरुद्धको अर्को खेलमा साहिन अझ बढी चम्के, उनले ३५ रनमै चार विकेट लिए । त्यो पनि कप्तान रोहित शर्मासँगै विराट कोहलीको पनि । भारतीय ब्याटरहरू उनको सामना गर्दा दोमनमा देखिन्थे, रोकौं कि छोडौं कि अथवा प्रहार गरौं भनेर । त्यस्तै उनले साहिनले बंगलादेशविरुद्ध ४२ रनमा एक विकेट हात पारे ।

उनको खेल नजिकबाट हेरिरहेका पूर्वफास्ट बलर अख्तर पनि के मान्छन् साहिन अहिले आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट लयमा छन् । उनी थप्छन्, ‘अहिले पाकिस्तानी बलिङ आक्रमण उच्च रहेको छ । साहिन त पाकिस्तानको मुख्य अस्त्र हुन् नै, उनलाई नसिम शाह र ह्यारिस रउफले पनि बलियो साथ दिइरहेका छन् । उनीहरू तीन जनाको खेल हेर्दा मलाई आफ्नै पुरानो दिनको सम्झना हुन्छ, जति बेला पाकिस्तान टिममा आक्रम, युनिस र म थियौं ।’

पाकिस्तानी कप्तान बाबर आजमको मुख्य अस्त्र पनि यिनै साहिन रहँदै आएका छन् । अझ उनी त आधुनिक नयाँ पुस्ताका फास्ट बलरमध्ये साहिनलाई नै सबैभन्दा उत्कृष्ट मान्छन् । यस्तोमा के छ त साहिनको बलिङ आक्रमणमा ? उनको बलिङको सबैभन्दा ठूलो विशेषता भन्नु नै त्यसमा तीव्र गतिले ‘पेस’ दिन सक्नु हो, अनि एकपल्ट बलले पिचलाई चुम्बन गरेपछि त्यसले लिने ‘बाउन्स’ आफैंमा गज्जब रहने गर्छ र प्रतिद्वन्द्वी ब्याटर रणभुल्लमा पर्ने गर्छन्, नतिजा पहिलो ओभरमै विकेट निस्कने गर्छ ।

भारतविरुद्ध पछिल्लो खेलमा पनि भारतीय कप्तान रोहितले साहिनको बललाई चिन्नै सकेनन् । उनलाई फास्ट बलरका रूपमा उचाइको पनि उत्तिकै फाइदा मिल्ने गर्छ । उनी ६ फिट ६ इञ्च अग्ला छन् । बायाँ हाते बलरको हैसियतमा उनलाई थप फाइदा छ । साहिन पस्तुन जातिसँग सम्बन्धित हुन् । त्यसो भनेको साहिन पक्कापक्की पठान हुन्, सेता, अग्ला र हेर्नमा खाइलाग्दा । अफगानिस्तानसँग जोडिएको खाइबर जिल्लामा उनी हुर्के बढे । सानोमा टेनिस बलबाट क्रिकेट खेल्न सिके ।

भर्खर २३ वर्षका भए, तर उनले पाकिस्तानका लागि क्रिकेट थालेको पनि सन् २०१८ देखि हो, त्यसो भनेको पनि पाँच वर्ष भइसक्यो । सबैभन्दा पहिले ट्वान्टी ट्वान्टी क्रिकेटमा पाकिस्तानका लागि खेले । त्यसपछि वान डे टिममा पनि परे । अनि त्यही वर्ष टेस्ट जितमा पनि परिहाले । अझ उनी पाकिस्तानी सुपर लिग (पीएसएल) मा लहोर कलन्डर्सका कप्तान पनि हुन् । सन् २०२२ मा साहिनको नेतृत्वमा लहोरले पहिलोपल्ट पीएसएलको उपाधि जितेको थियो ।

सन् २०२३ मा फेरि च्याम्पियन हुँदै उपाधि रक्षा गर्न सफल रह्यो । भने पनि यी साहिनमा कप्तानीको पनि भरपूर गुण रहेको छ । अझ उनी प्रतिष्ठित ग्यारी सोबर्स ट्रफी जित्ने पहिलो पाकिस्तानी क्रिकेट खेलाडी पनि हुन् । तय छ, भारतमा चाँडै वान डे क्रिकेटको विश्वकप पनि हुँदै छ र त्यसमा पनि भारत र पाकिस्तान फेरि एकपल्ट अहमदाबादमा भिड्नेछन् । त्यस वान डे विश्वकपमा पनि साहिन नै पाकिस्तानी टिमका सबैभन्दा मुख्य खेलाडीमध्ये एक रहनेछन् ।

विश्वकप भने विश्व ट्वान्टी–ट्वान्टीको कुरा हुने भयो नै । ट्वान्टी–ट्वान्टी विश्वकपको पछिल्लो संस्करण अस्ट्रेलियामा भएको थियो । त्यसमा पनि साहिनकै बलिङमा टिकेर पाकिस्तान फाइनलसम्म पुगेको थियो, तर उपाधि भने इंग्ल्यान्डको नाममा रह्यो । फाइनलमा साहिनले आफ्नो चार ओभर पनि पूरा गर्न सकेनन्, खेलकै क्रममा बोकेको चोटका कारण दुई ओभर मात्र पूरा गर्न सके । फास्ट बलर भनेपछि चोट त्यसै पनि जोडिएर आउने गर्छ ।

तर साहिनले प्रत्येकपल्ट जसरी त्यही चोटमाथि पनि जित निकालेका छन्, त्यो पनि गज्जब रहेको छ । अझ उनको एउटा अर्को फरक परिचय पनि छ र यो हो, पाकिस्तानका पूर्वखेलाडी साहिद अफ्रिदीको ज्वाइँ हुनुको । साहिनले सिनियर अफ्रिदीकी छोरी अन्सालाई विवाह गरेका हुन् । अझ रमाइलो त के भने अहिलेको एसिया कप सकेलगत्तै साहिनले अफ्रिदी परम्पराअनुसार अन्सासँगको बिहेको अझ थप भव्य कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...